आइतबार, मंसिर १३ २०८३

आइतबार, मंसिर १३ २०८३
  • १३ मंसिर २०८३ , आइतबार
  • November 29 2026

पोखराको फुटबलमा थपिँदै एनएफएल

पोखराको फुटबलमा थपिँदै एनएफएल

एनएफएल कुनै पनि हालतमा पोखरामा ल्याउने योजना छ, यसमा गण्डकीका सबै फुटबलप्रेमीले साथ दिन आवश्यक छ ।


  • विजय नेपाली
  • मंसिर १३ २०८३, आइतबार

पोखरा/नेपाली फुटबल उँधो गतिमा छ । अखिल नेपाल फुटबल संघको किचलोको प्रत्यक्ष प्रभाव खेपिरहेको फुटबल इतिहासकै कमजोर अवस्थाबाट गुज्रिइरहेको छ । फुटबलको मेरुदण्डका रुपमा मानिने राष्ट्रिय लिग होस् या फुटबललाई चलायमान बनाउने फ्रेन्चाइज लिग नै किन नहोस्; दुवै अहिले कोमामा छन् ।

यसै बेला नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) हुन नसकेपछि त्यहाँ रहेका फ्रेन्चाइज टोली लगायतले नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने तयारी गरेका छन् । एनएफएलका लागि १० टोलीको टुंगो लागिसकेको छ ।

युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल १० टिमको टुंगो लागेको र होम एन्ड अवे अवधारणबाट लिग गराउने गरी छलफल गरिरहेका बेला एनएफएलको प्राविधिक टोली पोखरा आएको छ । पोखरा थन्डर्सको होम ग्राउन्डको रुपमा पोखरा रहनेछ । थन्डर्सका होम खेल जति सबै पोखरामा गर्ने तयारी चलिरहेको छ । सोही तयारीका लागि शनिबार एनएफएलको प्राविधिक टोलीले पोखरा रंगशाला स्थित फुटबल मैदान र गोस्तेघाट स्थित मैदानको अध्ययन गरेको छ ।

टोलीले पोखराको मैदान अध्ययन गरी २ प्रतिवेदन तयार पार्ने छ । तत्काल लिग गराउनका लागि मर्मतसंभारबारे एउटा प्रतिवेदन तयार हुनेछ भने दीर्घकालीन संरचनाका लागि अर्को प्रतिवेदन तयार हुनेछ । पोखरामा एक अर्ब २८ करोड लागतमा १६ हजार पाँच सय दर्शक क्षमताको फुुटबल स्टेडियम भए पनि अहिले त्यो निकै जीर्ण अवस्थामा पुगेको छ ।

भिआइपी प्यारापिटतर्फ रुफटफबाट पानी चुहिँदा खेलाडी चेन्जिङ रुम, शौचालय, भिआइपी कक्ष लगायतका जिप्सनहरु खसेका छन् । ‘हामीले सबै निरीक्षण गरेका छौं । अब कहाँ के मर्मत गर्नुपर्ने वा थप्नुपर्ने छ, त्यो रिपोर्ट तयार पार्छौ । यसमा हामीले सर्ट टर्म र लङ टर्म गरी रिपोर्ट बनाउने छौं’, उनले भने, ‘एनएफएल सञ्चालनका लागि यो महिनाभित्र गर्नुपर्ने कामको रोडम्याप बनाउनेछौँ ।’

पोखराका मैदानमा सबै अन्तर्राष्ट्रिय स्तरका मापदण्डअनुसार संरचना रहे पनि पानीका कारण केही संरचना बनाउनुपर्ने देखिएको छ । हाल देखिएका समस्या थोरै रकममा पनि गर्न सकिने उनले सुनाए । ‘यहाँ सबै सुरक्षाको व्यवस्थासमेत रहेछ । अन्तर्राष्ट्रिय स्तरका खेलाडी आएर सुरक्षित महसुस गर्ने वातावरण पनि हामीले देख्यौ । यहाँका जुन समस्या छन्, ती त दुई महिनाभित्र समाधान गर्न सकिन्छ’, उनले भने ।

चिसो मौसम रहेकाले मैदान हरियो बनाउन भने केही समय लाग्न सक्ने छ । लिगका स्टेडियम म्यानेजर दिलीप रजकले एनएफएल ‘होम एन्ड अवे’का खेल हुने भएपछि १० टिमको होम ग्राउन्डको अध्ययनमा लागेको जनाए ।

पोखरामा खेल खेलाउने मैदान र प्रशिक्षण मैदानको अध्ययन भएको छ । प्रतिवेदन तयार भएपछि बाँकी काम अघि बढ्ने उनले सुनाए । कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तथा गण्डकी प्रदेश फुटबल संघका वरिष्ठ उपाध्यक्ष मिलन गुरुङले एनएफएल कुनै पनि हालतमा पोखरामा समेत आयोजना गराउने पक्षमा लागिपरेको बताए । उनले गण्डकी प्रदेशको फुटबलको विकासमा नयाँ आयाम थपिने भएकाले आवश्यक समन्वय र सहकार्य भइराखेको सुनाए ।

‘यो पोखराको लागि अवसर पनि हो । हामीले यति ठूलो फुटबलको संरचना बनाएपछि आजसम्म ठूला प्रतियोगिताका लागि भौँतारिनु परिरहेको छ । एनएफएल कुनै पनि हालतमा पोखरामा ल्याउने हाम्रो योजना छ, यसमा सबै गण्डकीका फुटबलप्रेमीले साथ दिन आवश्यक छ’, उनले भने ।

आगामी फागुनमा एनएफएल आयोजना हुनेछ । लिगमा सात प्रदेशका १० सहर जोडिएका छन् । एनएफएलको पहिलो सिजनमा ३ नयाँ टोली धरान, वीरगञ्ज र सुर्खेतका टोली छनोट भएका छन् । यसअघि छनोट भएका सात टोलीमा पोखरा थन्डर्स, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->