
म्याग्दी/जिल्ला आर्चरी संघ म्याग्दीको आयोजनामा बेनी नगरपालिका–८, कालीपुलमा बिहीबार राति सकिएको चौथो साधा धनुषबाण प्रतियोगिताको उपाधि धवलागिरी युथ क्लब मुदीले जितेको छ ।
प्रतियोगितामा मोहन पोखरा हाउजिङ दोस्रो र बेनी ए टिम तेस्रो भएका छन् । विजेता धवलागिरी युथ क्लबले ७५ हजार, दोस्रो भएको मोहन पोखरा हाउजिङले ५० हजार र तेस्रो भएको बेनी ए टिमले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि मालिका युथ क्लब जुग्जाका सचिव राजकुमार घर्तीले प्राप्त गरेका छन् ।
२१ डोरको खेलमा उनले ४२ वटै सर लक्ष्यमा प्रहार गरेका थिए । त्यसैगरी सात खोल प्रहार गरेका नरमान पुन बेस्ट खोलर घोषित भएका छन् । उत्कृष्ट खेलाडी र बेस्ट खोलर दुवैलाई जनही २ हजार ५ सय रुपैयाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई जिल्ला आर्चरी संघका सचिव खिम पुन, प्रतियोगिताका खेल संयोजक नारायण गर्बुजा र संघका अध्यक्ष दम पुनले पुरस्कार वितरण गरेका थिए।जिल्ला आर्चरी संघका अध्यक्ष दम पुनले जिल्लामै उत्पादन भएका खेलाडी राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा समेत सहभागी हुन थालेको बताए ।





