समाजको यथार्थ स्वरुप झल्काउने ऐना पत्रकारिता हो । जनजीविका पक्षमा कलम चलाई लोककल्याणकारी राज्य स्थापनाको अग्रदुत पत्रकारहरू हुन् । जस्तोेसुकै विषम् परिस्थितिमा पनि जनतालाई सुसूचित गराउने अभिभारा पत्रकारिताले बोकेको हुन्छ । पत्रकारहरु समाजमा सूचना तथा चेतना प्रवाह गर्न अहोरात्र फिल्डमा खटिएका हुन्छन् । तर कलमले समाज बदल्नेहरुको जीवन जोखिमयुक्त बन्दै गएको छ । विभिन्न कालखण्डमा राज्य तथा अन्य संयन्त्रबाट पत्रकारितामा अंकुश लगाउने काम भइ राखेको छ । निष्पक्ष, सत्य, तथ्य समाचार प्रकाशन तथा प्रसारण गर्न पत्रकारहरुले कहिल्यै पनि डगमगाएका छैनन् ।
प्रेस स्वतन्त्रताका सम्बन्धमा नेपालमा वैचारिक बहस हनु आवश्यक भएको छ । प्रेस स्वतन्त्रताको स्थिति सन्तोषजनक हुनुभन्दा झन् निराशाजनक हुँदै गएको छ ।प्रेस काउन्सिल नेपालको आँकडा अनुसार २०८२ साउन १ गतेदेखि २०८३ साल असार मसान्तसम्म प्रेस स्वतन्त्रतासम्बन्धी १ सय १ वटा घटना घटेका छन् । तीमध्ये धम्की घटना सबैभन्दा बढी ३६ वटा छन् । त्यस्तै, आक्रमण २७ वटा घटनाहरु घटेको पाइएको छ । गण्डकी प्रदेशमा भने कुल ८ वटा घटना घटेका छन् ।
प्रेस स्वतन्त्रताले पत्रकारिता पेशा अँगालेको व्यक्तिले समाचार संकलन, प्रकाशन र प्रसारण गर्दा कुनै शक्तिको वाधा, अवरोध तथा नियन्त्रण खेप्न नपर्ने र विना सेंसरसिप स्वतन्त्ररुपमा रिर्पोट गर्न पाउने अधिकारलाई शिरोपर गरेको हुन्छ । जसमा राज्यले नै पत्रकारिता जगत्को सुरक्षाको ग्यारेन्टी लिएको हुन्छ । तथापि पत्रकार माथि कुनै न कुनै समाचारको विषयलाई लिएर आक्रमण भने भइरहेको छ ।
कुनै पनि प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझेको वा असम्बन्धित भएको वा उक्त समाचारमाथि तथ्य नै नभएको भए सो समाचारबाट बनेको पीडित प्रेस काउन्सिलमा उजुरी गर्न नगई सिधै पत्रकार र सञ्चार माध्यममाथि आक्रमण गर्ने प्रवृत्ति नेपाली समाजमा छ ।
पछिल्लो समय वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्व कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठलाई समाचारसँग सम्बन्धित विषयलाई लिएर प्रहरीले पक्राउ ग¥यो । पक्राउ गरिसकेपछि उनको निजी निवास खानतलासी ग¥यो र जनआस्था मिडियाको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटर लगायत अन्य सामग्री जफत ग¥यो । समाचारका विषयमा चित्त नबुझेमा छानबिन गर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई छ तर क्षेत्राधिकार मिचेर सिधैं प्रहरीले अपराधिशैलीमा गिरफ्तार ग¥यो ।
यस्तो व्यवहारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, संविधान र लोकतान्त्रिक मूल्य मान्यताको धज्जी उडाएको छ । अहिले यो मुद्धा अदालतमा विचाराधीन अवस्थामा रहेको छ । एक महिना अगाडि काठमाडौंका विभिन्न सञ्चार गृहमा शंकास्पद रुपमा पार्क गरेर पत्रकारिता क्षेत्रलाई तर्साउने कार्य भयो । तर राज्य संयन्त्रबाट त्यसको छानविन प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।
२०७९ सालमा तत्कालिन उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट राजीनामा र सरकारबाट बाहिरिँदा रास्वपा सभापति रवि लामिछानेले नेपालका सञ्चार उद्यमी, पत्रकारलाई १२ भाइको उपनाम दिएर पत्रकारिताप्रति आफ्नो रिस पोखेका थिए । तत्कालीन संसदको चौथो ठूलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत बनिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर आधारहीन र पूर्वाग्राही आरोप लगाउने कार्य समग्र सञ्चार क्षेत्रमाथि नै प्रहार भएको थियो ।
आफू विपरीतको समाचार आए त्यसको निन्दा गर्ने, पूर्वाग्रह साँध्ने विकृत मानसिकता नेपाली समाजमा रहेको छ । भौतिक आक्रमणबाट कतिपय पत्रकार पीडित छन् । सञ्चारगृहमा उस्तै क्षति पुगेको छ । अपराधिक मनशाय भएका व्यक्तिको नजरमा पत्रकारहरु सधैं आँखाको तारो बनेका हुन्छन् । गलत प्रवृत्तिको पर्दाफास र राज्यलाई खबरदारी गर्दा पत्रकारिता पेशा असुरक्षा हुन्छ ।
आजभोलि नेपाली पत्रकारितामा एआईको प्रयोग हँुदै आएको छ । एआई प्रविधि पत्रकारिताका लागि सहयोगी साधनकारुपमा प्रयोग मात्र नभई समग्र समाचारका विषयवस्तुमा प्रयोग गरेको भेटिन्छ । एआईले बनाइदिएको सूचना, समाचारलाई हुबहु प्रकाशन गर्ने, विषयवस्तुको खोजी तथा अनुसन्धानकार्यमा समेत यसैमा निर्भर रहने गरेको पाइन्छ । एआईको नैतिक र विश्वसनीय प्रयोगबारे पत्रकारिता जगतमा स्थापित हुनु पर्छ नत्र भने पत्रकारिताको विश्वसनीयता, तथ्यपरकता र जवाफदेहितामा आँच आउने गर्छ । अर्कोतर्फ डिपफेक र डिसइन्फर्मेसनले नेपालको पत्रकारितालाई गाँजिरहेको छ ।
यसलाई हटाउनका लागि एआईको निश्चित मापदण्ड प्रयोग गरिनु पर्दछ भने पत्रकार स्वयम्ले संवेदनशीलता अपनाउनु पर्दछ । तथ्य समाचारभन्दा अफवाहमूलक सामग्री छिट्टै फैलिन्छ तर विश्वसनीय सूचना प्रवाह गर्न सक्ने सञ्चार माध्यमको मात्र नागरिकले भरोसा राख्छन् । अफवाह फैलाउन चाहनेले फेक न्युज तयार गर्छन् । फेक न्युजले सामाजिक, साम्प्रदायिक तथा राजनीतिक विखण्डन ल्याउछ । तर यसको पूरा दोष आम् पत्रकारिता जगतलाई थुपारिन्छ । डिजिटल प्लेटफर्मबाट सूचना समाचार प्रवाह गर्न सजिलो छ तर भ्रामक सूचना प्रवाहबाट नागरिकलाई जोगाउनु त्यति नै कठिन छ ।
प्रविधिको चरम दुरुपयोगको शिकार पत्रकारिता क्षेत्र बनेको छ । आजभोलि तटस्थ पत्रकारितालाई एल्गोरिदमले थिचिरहेको छ । सामाजिक सञ्जालमा चर्चामा रहेका, स्टन्ट क्रियाकलापभन्दा फरक विचार र तथ्य पस्कदा झोले पत्रकारको संज्ञा दिइन्छ । योजनावद्ध रुपमा घृणायुक्त शब्द उत्तेजक शैली तथा व्यवहारबाट अपमानित हुने अवस्था आउँछ । भिडबाट तिरस्कृत एवं अनफलो अभियान चलाइन्छ । यस्ता गतिविधिले गर्दा प्रत्यक्ष वा परोक्ष पत्रकारिताको मर्यादा धरापमा परेको छ ।
प्रेस स्वतन्त्रतालाई मुलुकको राजनीतिक तथा सामाजिक घटनाक्रमले प्रभाव पार्दछ । पत्रकारिताले स्वतन्त्रतालाई पर्यावाचीको रुपमा हेर्न चाहेको हुन्छ । पे्रस स्वतन्त्रताकालागि पत्रकार स्वयम् अग्रसर भई राज्यलाई विभिन्न समयमा ध्यानाकर्षण गराउने गनुपर्दछ । आफ्नो सञ्चार माध्यमले प्रकाशन तथा प्रसारण गरेको सामग्री कति सत्य, निष्पक्ष छ र उक्त समाचारले समाजमा कस्तो प्रभाव पार्दछ भन्ने कुरा प्रकाशन तथा प्रसारण गर्नु पूर्व नै मूल्यांकन गर्नुपर्दछ ।
पत्रकारले पेशागत आचरण परिपालना गर्दै दर्शक, स्रोता एवं पाठकको मन जित्न सक्नुपर्छ । जिम्मेवार सञ्चारकर्मीले समाजमा सही सन्देश प्रवाह गर्नु पर्दछ । पत्रकारिता पेशालाई विश्वसनीय, निष्पक्षता र मर्यादित बनाउन विमिन्न आचारसंहिता पालना गर्नु पर्छ । आचारसंहिताले नै प्रेस स्वतन्त्रताको संरक्षण तथा प्रवद्र्धन गर्न सहयोग पु¥याउँछ । मुलुकमा प्रेस स्वतन्त्रता कायम हुन नसक्नु भनेको दण्डहिनताले प्रश्रय पाएको अवस्था हो । यदि सरकार निरङ्कुश भयो भने प्रेस स्वतन्त्रता कायम गराउन सकिँदैन ।
तसर्थ प्रेस स्वतन्त्रता कायम गराउन सर्वप्रथम त मुलुकमा विधिको शासन स्थापित गराउनुपर्छ ।यसमा मानव अधिकार आयोग, नागरिक समाजको सकृयता सँगै उच्च राननीतिक प्रतिबद्धताको खाँचो पर्दछ । पत्रकार पनि राजनीतिक तटस्थता कायम राखी पेशाप्रति निष्ठावान् हुनु जरुरी छ ।स्वतन्त्र पत्रकारिता लोकतान्त्रिक मूल्य, मान्यताको सुचक पनि हो । नेपालको वर्तमान संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्रलाई उल्लेख गरेको छ । वाक स्वतन्त्रता अक्षुण्ण राख्न पूर्ण प्रेस स्वतन्त्रतालाई सस्थागत गर्नु आवश्यक छ ।
सञ्चार माध्यमले राजनीतिक विषयमा भन्दा उत्पीडित वर्ग केन्द्रित समाचारलाई प्राथमिकता दिन सक्नुपर्छ । सूचना तथा समाचार विभेदरहित प्रकृतिका हुनुपर्छ । प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण, सम्वद्र्धन गर्दे पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवारपूर्ण र विश्वसनीय बनाउन नेतृत्वदायी भूमिका खेल्नु जरुरी छ । जनताका पीर, मर्का राज्यसँग पु¥याउने र राज्यका गतिविधि जनता समक्ष ल्याउने सेतू नै पत्रकार हुन् । सञ्चार माध्यमविना समाज दृष्टिविहीन हुन्छ । यसको अनुपस्थितिमा राज्यमा लोकतन्त्र स्थापित गराउन सकिँदैन । तसर्थ पूर्ण पे्रस स्वतन्त्रतालाई मुलुकले राजनीतिक सफलताको अस्त्रको रुपमा लिइनुपर्दछ ।
सञ्चार जगत्मा हुने आक्रमण वा हमलाका दोषीलाई राजनीतिक आडमा उन्मूक्ति नदिई कानुन बमोजिम दण्डनीय बनाउनुपर्छ । अनलाइन न्युज पोर्टलहरुलाई राज्यले नियमन र नियन्त्रण गर्नुपर्छ । प्रेस काउन्सिल नेपालले तय गर्ने आचारसंहिता सबैले अक्षरस पालना गर्नु आवश्यक छ ।केही पत्रकारमा पत्रकारिताको सिद्धान्त, मूल्य, मान्यताप्रति पूर्ण अभ्यस्त नभएकाले नेपाल पत्रकार महासंघबाट नियमित तालिम, गोष्ठी, सम्मेलन तथा व्यवहारिक अभ्यासको कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिन्छ ।
राज्यको तर्फबाट अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको संरक्षण गर्न तथा दुस्सुचना विरुद्ध नीतिगत र कानुनी संरचना विकास गर्नु अपरिहार्यता देखिन्छ । देशभर मिडिया साक्षरता कार्यक्रमलाई प्राथमिकता दिने तथा पत्रकार र सञ्चारगृहको सुरक्षाको प्रत्याभूति दिलाउने जिम्मेवारी सरकारको हो । नागरिकलाई सुसूचित गराउन तथा राज्य संयन्त्रमा सहभागिता सुनिश्चित गराउन पत्रकारिताको अतुलनीय भूमिका रहन्छ । सुशासनको अनुभूति दिलाई भ्रष्टाचार, अनियमितता, दण्डहिनता, ढिलासुस्ती, स्वच्छाचारिता तथा विभेदको अन्त्य गर्न राज्यलाई खबरदारी गर्ने प्रमुख क्षेत्र नै पत्रकारिता हो । तसर्थ सामाजिक न्याय सुनिश्चित गरी समृद्ध राष्ट्र निर्माण गर्न पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नु राज्यको दायित्व हो ।


