मित्रराष्ट्र भारतको छोटो राजकीय भ्रमणमा निस्केका प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्केका छन् । यो भ्रमणमा प्रधानमन्त्री शाहले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसामात्र पाएनन्; उनी नेतृत्वको सरकारप्रति उत्तिकै सद्भाव पनि प्राप्त भयो । खिल बनेको सीमा समस्याउठान नभए पनि संयुक्त वक्तव्यमा सन् १९५० को सन्धीपुनरवलोकनको विषयसमेत समेटिएको छ ।
दुवै देशका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको भिजन पेपरमा नेपालका धेरैजसो चाहना समावेश छन् । नेपाली चाहनालाई सम्बोधन गर्न सक्दो प्रयत्न गरेको भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले विकसित भारत र समुन्नत नेपालको सपना साकार गर्ने ब्ल्युप्रिन्टको संज्ञा दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमणपछि जारी २४ बुँदे वक्तव्यमा १ खर्ब ८४ करोड सहुलियतपूर्ण ऋणसहित २ खर्ब ४० करोडको आर्थिक सहायता, भैरहवा–लखनउ हवाइ रुट दुईतर्फी सञ्चालनकालागि आवश्यक प्राविधिक परामर्श,पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत योजना प्रतिवेदन छिटो टुंग्याउने सहमतिलगायतका महŒवपूर्ण विषय समेटिएका छन् । भोटेकोशी बाढीपछिको पुनर्निर्माणकालागि आवश्यक पर्ने ठूलो रकम जोहो गर्न नेपालले भारतसमक्ष सहयोग र ऋण माग गरेको थियो भने हवाइ रुटको माग लामो समयदेखिकै हो । यो विषयमा सहमति जुटे पनि प्राविधिक परामर्श गर्ने विषय समेटिएकाले तत्काल हवाइ रुट खुलिहाल्ने छैन ।
नेपाललाई जनकपुर र भैरहवाको एयर रुट दिँदा भारतले दार्जिलिङको बागडोरा विमानस्थलबाट आफ्ना विमान उड्दा नेपाली आकास प्रयोग गर्न पाउनुपर्ने माग गर्दै आएको छ । नेपालले व्यावसायिक उडान अनुमति दिने तर सैन्य गतिविधि गर्न नदिने बताएपछि यो विषयसमेत समाधान गर्ने गरी प्राविधिक समिति गठन गर्ने सहमति बनेको हो । हवाइ रुटबारे सोचेजस्तो प्राप्ति नभए पनि १२ वर्षदेखिको काठमाडौं–भैरहवा लखउन रुटमा दुईतर्फी उडानको सहमति स्वागतयोग्य छ ।
पहिल्यै निर्माण भइसकेका र केही नयाँ परियोजनाशिलान्यासको सन्दर्भलाई छाड्ने हो भने व्यापार,पारवहन र लगानीको क्षेत्रमा सहकार्यको घोषणा,शिक्षा,प्रविधिको हस्तान्तरण,क्रिकेटमा पूर्वाधार विकासजस्ता विषयमा पनि नेपालको हात माथि देखिएको छ । सन् १९५० को सन्धिको पुनरवलोकन तथा पञ्चेश्वर परियोजनाको डिपिआर छिटो सक्ने विषयलाई लिन सकिन्छ । तर,२०७५ मै तयार भएको दुई देशबीच रहेका समस्या र तिनका कारण पहिल्याउन तथा समाधानका विषय सिफारिस गर्न बनेको प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी)को प्रतिवेदनबारे कुरै उठेन ।यसले सन्धि पुनरवलोकन एवं सीमा विवाद सजिलै टुंगिएला भन्नेमा पक्का हुन कठिन छ ।
केही असल परम्परा मिच्दै,औपचारिकतालाई नजरअन्दाज गर्दै अनि संशयको घेराभित्र भारत गएका प्रधानमन्त्रीले राम्रै मानमनितो पाए । नेपालका प्रधानमन्त्रीको पहिलो औपचारिक राजकीय भ्रमण दक्षिणबाटै सुरु होस् भन्ने चाहना पूरा हुँदा आफैंले निम्त्याएको पाहुनालाई खुसी पार्न भारतले कुनै कसर बाँकी राखेन । सबैभन्दा महत्वपूर्ण विषय प्रधानमन्त्रीले भ्रमणकाक्रममा नेपालको अहित हुने कुनै निर्णय गरेनन् । बन्द कोठाभित्र कुनै सम्झौता भएको छैन भने प्रधानमन्त्रीले जे मागे; त्यो पाए । नेपालको समुन्नतिका लागि भारतीय सदासयता नै यो भ्रमणको उपलब्धि रह्यो ।



