त्यो स्वच्छ, सुन्दर र आत्मीय बैदाम
आज हामी जुन ठाउँलाई पोखराको पर्यटकीय केन्द्र लेकसाइड भनेर चिन्छौँ, कुनै समय त्यसलाई बैदाम गाउँ भनिन्थ्यो । त्यो बैदाम आजको जस्तो कंक्रिटको जंगल थिएन। न ठूला भवन थिए, न अग्ला होटल, न सडकभरी सवारीसाधनको भीड, न बिजुलीका तारको जालो । चारैतिर हरियाली, खेतबारी, प्राकृतिक सौन्दर्य र गाउँले जीवनको आत्मीयता थियो ।
म त्यही पुरानो बैदाममा हुर्किएको मानिस हुँ । आज पनि ती दिन सम्झँदा मन भावुक हुन्छ। मैले फेवातालको स्वच्छ, कञ्चन पानी पिएर बाल्यकाल बिताएको हुँ । त्यो पानी यति सफा थियो कि तालको पिँधसम्म देख्न सकिन्थ्यो । फेवाताल हाम्रालागि केवल ताल थिएन; हाम्रो जीवनको अभिन्न हिस्सा थियो ।
त्यतिबेला बैदामका अधिकांश बासिन्दा कृषिमा निर्भर थिए। हरेकजसो घरमा गाईभैँसी, बाख्रा र अन्य घरपालुवा जनावर हुन्थे । घरघरमा तरकारी खेती हुन्थ्यो । खेतमा धान फल्थ्यो, बारीमा मौसमी तरकारी र फलफूल उत्पादन हुन्थ्यो । रासायनिक मल र विषादीप्रयोगबिना प्राकृतिक रूपमा उत्पादन गरिएका खाद्यवस्तु हाम्रो दैनिक जीवनका आधार थिए ।
किसानहरू एकअर्कालाई सहयोग गर्थे । रोपाइँ, कटाइ, घर निर्माण र अन्य सामुदायिक काममा गाउँले हातेमालो गर्थे । दुःखसुखमा साथ दिने, एकअर्काको सम्मान गर्ने र सहयोग गर्ने संस्कार थियो । पैसा र सम्पत्तिभन्दा मानवीय सम्बन्ध, इमानदारी र सामाजिक सद्भावको मूल्य बढी थियो ।
त्यतिबेलाको बैदाममा हरियाली थियो, शान्ति थियो, आत्मीयता थियो र सबैभन्दा ठूलो कुरा प्रकृतिसँगको गहिरो सम्बन्ध थियो ।
परम्परागत घर र योजनाबद्ध बस्ती
पुरानो बैदामका घरको आफ्नै मौलिक पहिचान थियो । रातो माटोले लिपेका भित्ताहरू, परम्परागत छाना र स्थानीय सामग्रीबाट बनाइएका घर निकै आकर्षक हुन्थे । ती घर प्राकृतिक वातावरणअनुकूल थिए। त्यहाँ जाडोमा न्यानो र गर्मीमा शीतल महसुस हुन्थ्यो ।
त्यस ताका घर निर्माणमा पनि निश्चित मापदण्ड र अनुशासन थियो । मेरो सम्झनामा भवनको उचाइ१७ फिटभन्दा बढी बनाउन नपाइने व्यवस्था थियो। यसको मुख्य उद्देश्य प्रत्येक घरबाट फेवाताल र वरिपरिका हिमाल दृश्य अवलोकन गर्न सकियोस् भन्ने थियो ।
बैदामको विकासलाई व्यवस्थित र योजनाबद्ध बनाउन पदमबहादुर क्षेत्रीको महत्वपूर्ण भूमिका थियो । उहाँले बस्तीको प्राकृतिक सौन्दर्य, खुलापन, फेवाताल तथा हिमालको दृश्यलाई संरक्षण गर्ने सोच राख्नुभएको थियो ।
त्यो केवल घर बनाउने योजना थिएन; प्रकृतिसँग मिलेर बस्ने सभ्यताको परिकल्पना थियो । प्रत्येक घरले ताल र हिमालसँग आफ्नो सम्बन्ध कायम राख्न पाउनु नै त्यस योजनाको सुन्दर पक्ष थियो ।
१९५० को दशकपछि बदलिँदो बैदाम
सन् १९५० बाट पोखरा र बैदाम क्षेत्रमा बाह्य पर्यटकको आगमन क्रमशः बढ्न थाल्यो । फेवाताल, माछापुच्छ«े हिमाल, अन्नपूर्ण हिमशृंख्ला र यहाँको प्राकृतिक सौन्दर्यले विदेशीको मन खिच्यो ।
त्यसपछि बैदामको सामाजिक, आर्थिक र सांस्कृतिक जीवनमा नयाँ परिवर्तन देखिन थाल्यो । सन् १९६० र १९७० को दशकतिर विश्वभर चर्चित हिप्पी संस्कृतिको प्रभाव पोखरामा पनि देखिन थाल्यो । लामो समय बस्ने विदेशी पर्यटक आउन थाले । उनीहरूको जीवनशैली, रहनसहन, पहिरन, सोच र संस्कृतिले स्थानीय समाजमा नयाँ प्रभाव ल्यायो ।
पर्यटनले बैदामका मानिसलाई पैसा कमाउने नयाँ अवसर देखायो । परम्परागत कृषिबाट होटल, रेस्टुरेन्ट, पसल, हस्तकला र पर्यटन व्यवसायतर्फ आकर्षण बढ्न थाल्यो । यसले आर्थिक सम्भावनाका ढोका खोल्यो । सँगसँगै, पुरानो जीवनशैली र सामाजिक संरचनामा पनि परिवर्तन आउन थाल्यो ।

लेखक
२०४६ पछि झन् बदलियो बैदाम
२०४६ सालको राजनीतिक परिवर्तनपछि देशमा बहुदलीय प्रजातन्त्रको पुनःस्थापना भयो । त्यससँगै आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा नयाँ सम्भावना खुले। स्वतन्त्रता, निजी लगानी र व्यवसाय विस्तारका अवसर बढे ।बैदाम पनि पो परिवर्तनबाट अछुतो रहन सकेन ।
पर्यटन व्यवसाय तीव्र गतिमा फैलिन थाल्यो । होटल, रेस्टुरेन्ट, बार, पसल र अन्य व्यावसायिक संरचना निर्माण हुन थाले । जमिनको मूल्य बढ्यो । खेतीयोग्य जमिन क्रमशः घडेरी र व्यावसायिक भवनमा परिणत हुन थाल्यो ।
विकाससँगै एउटा गम्भीर समस्या पनि जन्मियो—विकासलाई मार्गदर्शन गर्ने दीर्घकालीन सोच, भू–उपयोग योजना र प्रभावकारी नियमन कमजोर हुँदै गयो । पहिले घर निर्माणमा लागू हुने उचाइ र संरचनासम्बन्धी मापदण्डहरू क्रमशः उल्लंघन हुन थाले । अग्ला भवनहरू निर्माण भए ।
घरहरूबीचको दूरी घट्दै गयो । फेवाताल र हिमाल छेकिँदै गए । खुला ठाउँ, हरियाली र प्राकृतिक वातावरण नासिँदै गयो । हामीले विकास त खोज्यौँतर विकासको आधारभूत शर्त अर्थात् योजना, अनुशासन र वातावरणीय सन्तुलनलाई पर्याप्त महत्व दिन सकेनौं ।
आजको लेकसाइड
आजको लेकसाइड पोखराको प्रमुख पर्यटकीय गन्तव्य हो । हजारौं मानिसको रोजगारी र जीविकोपार्जन यसै क्षेत्रको पर्यटन व्यवसायमा निर्भर छ। होटल, रेस्टुरेन्ट र अन्य व्यवसायले स्थानीय अर्थतन्त्रमा महŒवपूर्ण योगदान पु¥याएका छन् ।
यो आर्थिक विकासलाई नकार्न मिल्दैन। पर्यटनले हाम्रो जीवनस्तर उकासेको छ। धेरै परिवार आर्थिक रूपमा सक्षम भएका छन् । तर एउटा प्रश्न गम्भीर रूपमा उठाउनुपर्ने भएको छ—के हामीले आर्थिक विकासकानाममा आफ्नो प्राकृतिक सम्पदा र मौलिक पहिचान नै गुमाउँदै त छैनौँ ?
आज फेवाताल प्रदूषणको चुनौतीसँग जुधिरहेको छ। तालको जलाधार क्षेत्र, पानीको गुणस्तर, फोहोरमैला व्यवस्थापन र अतिक्रमणका विषय गम्भीर बन्दै गएका छन् । बढ्दो जनघनत्व र अव्यवस्थित सहरीकरणले वातावरणमा थप दबाब सिर्जना गरेको छ ।
कुनै समय फेवातालको पानी पिएर हुर्किएको पुस्ताले आज त्यही तालको स्वच्छता र संरक्षणका लागि चिन्ता गर्नुपर्ने अवस्था आएको छ। यो परिवर्तन केवल वातावरणीय समस्या होइन, हाम्रो पुस्ताको एउटा ठूलो चेतावनी पनि हो ।
बिजुली, इन्टरनेट, टेलिफोन र अन्य सेवाका नाममा सडक र भवनमा झुन्डिएका तारले पनि लेकसाइडको सौन्दर्य बिगारेका छन् । अहिले ती तारलाई भूमिगत बनाउने प्रयास हुनु सकारात्मक कदम हो । तर तार भूमिगत गरेरमात्र लेकसाइड सुन्दर हुँदैन। त्यसका लागि समग्र सहरी व्यवस्थापन र वातावरणीय संरक्षण आवश्यक छ ।
विकास अग्ला भवन र धेरै होटलमात्र होइन
आज हामीले विकासलाई ठूला भवन, अग्ला होटल, फराकिला सडक र धेरै व्यापारसँग मात्र जोड्ने गरेका छौं । तर वास्तविक विकास त्यो होइन।वास्तविक विकास प्रकृतिको संरक्षण गर्दै स्थानीय जनताको जीवनस्तर उकास्नु हो । आर्थिक समृद्धि र वातावरणीय सन्तुलनलाई सँगसँगै अगाडि बढाउनु हो ।
पोखराको पहिचान यहाँका हिमाल, फेवाताल, हरियाली, संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यमा आधारित छ। यदि हामीले यी सम्पदा नै नष्ट ग¥यौँ भने पर्यटक किन पोखरा आउलान् ?पर्यटक केवल अग्ला होटल र कंक्रिटका भवन हेर्न पोखरा आएका होइनन् । उनीहरू प्रकृति, शान्ति, स्वच्छ वातावरण, हिमालको दृश्य र नेपाली समाजको मौलिकता अनुभव गर्न आएका हुन् ।
आज कतिपय स्थानमा भवनअसंगत रूपमा अग्लिएका छन् । सडक, भवन र खुला ठाउँबीच सन्तुलन देखिँदैन। योजनाबिना निर्माण गरिएका संरचनाले पोखराको प्राकृतिक स्वरूपलाई कुरूप बनाउँदै लगेका छन् । यस्तो अवस्थालाई विकासको उपलब्धि भनेरमात्र व्याख्या गर्न सकिँदैन ।

अब कस्तो लेकसाइड बनाउने ?
अब समय आएको छ—विगतका गल्तीबाट पाठ सिकेर भविष्यको लेकसाइड निर्माण गर्ने । त्यसका लागि केही महत्वपूर्ण काम तत्काल अगाडि बढाउन आवश्यक छ ।
फेवातालको स्वच्छता, प्राकृतिक स्वरूप र जलाधार क्षेत्रसंरक्षणलाई अधिकतम प्राथमिकता दिनुपर्छ ।
भवन निर्माणका मापदण्डलाई कडाइका साथ लागू गर्नुपर्छ ।
सार्वजनिक जग्गा, खुला क्षेत्र, पैदलमार्ग र हरियाली संरक्षण गर्नुपर्छ ।
फोहोरमैला व्यवस्थापन, ढल प्रशोधन र प्रदूषण नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्छ ।
विद्युत्, इन्टरनेट र टेलिफोनका तारलाई व्यवस्थित रूपमा भूमिगत गर्ने कामलाई निरन्तरता दिनुपर्छ।
स्थानीय संस्कृति, परम्परागत घर, मौलिक वास्तुकला र ऐतिहासिक पहिचान संरक्षण गर्नुपर्छ ।
पर्यटन व्यवसायी, स्थानीय बासिन्दा, नागरिक समाज र सरकारी निकायबीच सहकार्य बढाउनुपर्छ ।
आगामी पुस्ताले पनि स्वच्छ फेवाताल र सुन्दर पोखरा देख्न पाउने सुनिश्चित गर्नुपर्छ ।
भावी पुस्तालाई कस्तो पोखरा हस्तान्तरण गर्ने ?
अहिले पनि म पुरानो बैदाम सम्झन्छु । जहाँ बिहान उठ्दा चारैतिर हरियाली देखिन्थ्यो । फेवातालको स्वच्छ पानी पिउन पाइन्थ्यो। साँझपख हिमाल र तालको दृश्यले मन आनन्दित बनाउँथ्यो । मानिस एकअर्काको सुखदुःखमा सहभागी हुन्थे ।
आज त्यही बैदाम लेकसाइड बनेको छ। यसले आर्थिक रूपमा धेरै प्रगति गरेको छ। तर हामीले यो प्रगतिसँगै प्राकृतिक सौन्दर्य, सामाजिक आत्मीयता र मौलिक पहिचान जोगाउन सकेका छौं त ?
हामीले विकासको नाममा प्रकृतिलाई जित्न खोज्यौँ, तर अन्ततः प्रकृतिसँगको हाम्रो सम्बन्ध नै कमजोर बन्यो । हामीलाई विकास चाहिन्छ, पर्यटन चाहिन्छ, रोजगारी चाहिन्छ र आर्थिक समृद्धि पनि चाहिन्छ। यी सबै कुरा फेवाताल, हिमाल, हरियाली र वातावरणको विनाशको मूल्यमा प्राप्त हुनु हुँदैन ।
पुरानो बैदाम फर्काउन सम्भव नहोला, तर पुरानो बैदामको आत्मा, सौन्दर्य, स्वच्छता र मौलिकता जोगाउन अझै पनि सम्भव छ।अब हामीले सोच्नुपर्ने बेला आएको छ—हामीले भावी पुस्तालाई केवल अग्ला भवन र कंक्रिटको जंगल हस्तान्तरण गर्ने कि स्वच्छ फेवाताल, खुला आकास, हरियाली र सुन्दर पोखरा ?
पोखराको भविष्य आज हामीले गर्ने निर्णयमा निर्भर हुन्छ ।विकासको नाममा पोखराको प्राकृतिक पहिचान समाप्त नगरौं । फेवाताल बचाऔँ, लेकसाइड बचाऔँ र हाम्रो सुन्दर पोखरालाई भावी पुस्ताका लागि जीवित राखौँ ।




