नेपालका सडकमा यात्रा गर्नु जीवनमा ठूलो जोखिम मोल्नु जस्तै बनेको छ । यात्राले मानिसलाई उत्साहित बनाउनुको सट्टा चिन्ताले ग्रसित बनाएको छ । यात्राहरु असहज बन्दै गएका छन् । चाडपर्वको समय तथा मनसुन सक्रिय अवस्थामा सडक दुर्घटना बढ्दै गएका छन् । वर्षा याममा बाटोमा पहिरो खस्ने समस्या देखा पर्दा अन्य मौसममा पनि जोखिम बढ्दो छ । सञ्चार माध्यममा सडक दुर्घटनाको समाचार बारम्बार देख्न, सुन्नु पर्ने बाध्यता छ ।
सडक सुरक्षा सुधारमा राज्यले ध्यान नपु¥याउदा वर्षैपिच्छे जोखिम र दुर्घटनाले निरन्तरता पाइरहेको छ । सयौं यात्रुले ज्यान गुमाउनु परेको छ । भाइटीकाको भोलिपल्ट छठ पर्व मनाउन सर्लाहीको सुन्दरपुर हिडेको गाडी मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा सुन्दरपुर गाउँका १३ जना र सर्लाही कविलासका चालक सहित १४ जनाले ज्यान गुमाएका छन् । अहिले पूरै गाउँ शोकमग्न भएकाले छठ पर्वमा रुवाबासी चलेको छ । सर्लाही सुन्दरपुरमा परेको यो बज्रपातले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको छ ।
पीडामा गुज्रिइरहेको समाजमा राज्यको तर्फबाट सान्त्वनाको खाँचो हुन्छ । सवारी दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन सकिएको छैन । प्रारम्भिक रुपमा सवारी चालकको लापरबाहीका कारण दुर्घटना भएको हुन सक्ने बताइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मकवानपुरका सहायक जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । दसैंअघि पोखरामा कालिका बोर्डिङ स्कुलको बस दुर्घटना हुँदा ४ जना विद्याथी र १ जना स्थानीयसहित ५ जनाले ज्यान गुमाएका थिए ।
सो दुर्घटना गाडीको यान्त्रिक गडबढी र चालकको लापरबाहीले दुर्घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । दुर्घटनाका प्रतिवेदन एउटा अभिलेखमा मात्र सीमित गरिनु हुँदैन । प्रतिवेदनले दिएका सुझावलाई आत्मसात गरी सुधारात्मक काम गर्नु पर्छ । आजभोलि दैनिक रुपमा पोखरामा सवारी दुर्घटना बढ्दै गएका छन् ।
नेपालमा सवारी दुर्घटनाबाट दैनिक औषत ७ जनाले ज्यान गुमाउने गरेका छन् । आर्थिक वर्ष २०८२।८३ मा २९ हजार ९ सय ८८ वटा सवारी दुर्घटना भएका छन् । जसमा दैनिक औषत ८२ वटा सवारी दुर्घटना भएको देखिन्छ । यी दुर्घटनामा भने २ हजार ७ सय ७ जनाले ज्यान गुमाएका छन् । यो तथ्यांकलाई हेर्दा नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह देखिन्छ । सवारी दुर्घटना अब राष्ट्रिय चुनौतीको रुपमा देखा परेको छ । यस सम्बन्धमा अब राज्य संवेदनशील हुनुपर्ने देखिएको छ ।
सरकारको पक्षबाट सैद्धान्तिक छलफलमात्र होइन, भौतिक उपस्थितिमा प्राविधिक पक्षको निरीक्षण गर्नुपर्ने बेला आएको छ । नेपालमा सवारी दुर्घटनाको मुख्य दोष सवारी चालकलाई दिइन्छ । तर यथार्थ भने फरक पाइन्छ । जीर्ण साँघुरा सडक, गल्ली, अत्यधिक सवारी चाप, सडकपेटीमा यात्रुलाई फुटपाथको व्यवस्था नहुनु, अत्यधिक घुम्ती जस्ता कारणले सवारी दुर्घटना निम्त्याइ रहेको छ । यसमा सवारी चालकको अनुभव, सीप, शैली र व्यवहारहरु पनि पर्दछन् ।
बस बिसौनी तथा पार्किङस्थलका लागि निर्धारित स्थान अभाव हुँदा पनि दुर्घटना बढ्ने गर्दछ । त्यस्तै सवारी चालकमा सडक अनुसाशन उल्लंघन जस्ता व्यवहार बढी जिम्मेवारी हुन्छन् । हाम्रा अधिकांश राजमार्ग नदी, खोला खोल्सा, भीर, पहराको छेउबाट नै निर्माण भएका छन् । त्यस कारण पनि विभिन्न समयमा सडक अवरुद्ध भई यात्रुले सास्ती व्यहोरिराख्नु परेको छ । सडकमा खाल्टाखुल्टी हुँदा सवारी साधन अनियन्त्रित भई दुर्घटना हुने गरेका छन् । मुख्य सहरहरुका सडकहरुमा पानी, ढल, बिजुली तथा टेलीफोनका तार लगायतका पाइप बिच्छाउदा सडक बिग्रने र त्यसपछि मर्मतमा ध्यान नदिने प्रवृत्ति छ । सडक मर्मत तथा निर्माणमा आर्थिक अनियमितता गरी सडक मापदण्ड बमोजिम निर्माण नभएका थुप्रै घटना हामीसामु छन् ।
सवारी दुर्घटनामा मध्यस्थताका नामममा क्षतिपूर्ति मोलमोलाई गरिदिएबापत पीडित र पीडक दुवै पक्षबाट आर्थिक लाभ लिन खोज्ने दलालहरुको बिगबिगी छ । यस्ता प्रवृत्तिले गर्दा समग्र यातायात प्रणालीको विश्वसनियता कमजोर बनाएको छ । दण्ड र जरिवना विनै घटनामा मिलापत्र हुँदा कमजोरी सुधारतर्फ ध्यान कसैको पनि ध्यान गएको पाइँदैन । अत्यधिक सवारी चाप हुने स्थानमा आकाशेपुलको अभाव हुनु तथा जेब्राक्रसबाट बाटो काट्ने बानीको विकास हुन नसक्दा पनि सवारी दुर्घटना बढ्दै गएको छ ।
सवारी साधनको स्वरुप, सिट हेरफेर गरी बढी यात्रु चढाउने गरेको पनि पाइन्छ । अति दुर्घटना हुने स्थानको समयमा नै मर्मतसम्भार तथा स्तरोन्नति नहुनु जस्ता कारण पनि छन् । चालक अनुमति पत्र वितरण प्रणाली विश्वसनीय नहुँदा अयोग्य चालकको हातमा चालक अनुमति पत्र पुगेको गुनासो पनि सुनिन्छ । यात्रुले कष्ट र हैरानी व्यहोर्नु परेको अवस्था सडक अवरुद्ध हुँदा पनि हो । यसले पनि सडक सुरक्षाको वास्तविक यथार्थलाई चित्रित गर्दछ ।
सवारी आवतजावत सहज गराउन क्षतिग्रस्त पुलपुलेसा, सडकहरु यथाशीघ्र मर्मत तथा सम्भव भएसम्म निर्माण गर्नु आवश्यक छ । वैज्ञानिक अनुसन्धानमार्फत् विपद् थेग्न सक्ने सडक संरचनाहरु निर्माण गर्नु पर्छ । तत्काल अवरुद्ध सडक निर्माण गर्न नसक्ने अवस्था भएमा वैकल्पिक सडक निर्माण गरी यात्रुलाई सहज गराउनु पर्दछ । चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाउन व्रेथलाइजरको प्रयोग बढाउनु पर्छ । तीव्र गतिमा सवारी चलाउने बानीलाई निरुत्साहित गर्न राडर गनको प्रयोग पनि अपरिहार्य छ ।
आफ्नो लेन अनुसार गाडी चलाउन र यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्न ट्राफिक प्रहरीले समय समयमा सवारी चालक र सहचालकलाई तालिम प्रदान गर्नु पर्दछ । निजी सवारी साधन चलाउनु मानिसका लागि सोख र समाजको लागि प्रतिष्ठाको विषय बनेको छ । तर निजी सवारी चालकमा अनुभवको कमी देखिएको छ । देखासिकीले गर्दा चालक अनुमति पत्र प्राप्त नगरी सवारी हाँक्ने प्रवृत्ति देखिएको छ । यस्ता गतिविधिलाई राज्यले दण्डित गर्दै निरुत्साहित गर्नु पर्छ ।
राज्यका कमजोरीका कारण नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ । तसर्थ सडक सुरक्षामा राज्यले विशेष ध्यान पु¥याउनु पर्छ । जरिवानाले सडक दुर्घटनामा कमी ल्याउदैन । बाटोको वैज्ञानिक निर्माण तथा उपयोग, सवारी साधनको यान्त्रिक गुणस्तर, चालक तथा यात्रुको अनुशासनले मात्र सडक सुरक्षाको प्रत्याभूति हुन सक्छ । हालसालै लामो दुरीका रात्रीकालीन बसहरुमा दुई जना चालकको व्यवस्था अनिवार्य गर्नुपर्ने नियम ल्याइएको छ ।
चालकको थकानका कारण हुन सक्ने सम्भावित दुर्घटना न्यूनिकरणका लागि यो नियम ल्याइएको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबाट विशेष कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । कुनै सवारी चलाउन सकिने स्थितिमा छ वा छैन भन्ने कुराको जाँचबुझ गर्न सवारी साधनको यान्त्रिक परीक्षण गर्नु पर्छ । सबै सार्वजनिक सवारी साधनहरु, शैक्षिक संस्थाका सवारी साधनको प्रत्येक ६ महिनामा अनिवार्यसवारी जाँचपास गराउनुपर्ने हुन्छ । जाँचपास गरिने सवारी साधन प्रदुषण परीक्षणको व्यवस्था लागु भइसकेको क्षेत्रका हकमा प्रदुषण परीक्षण गराई हरियो स्टिकर प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरिएको छ दुर्घटना न्यूनीकरणका ल्याइएका ऐन, नियम, मार्गनिर्देशनहरुलाई अक्षरश कार्यान्वयन गर्न सके दुर्घटनामा घट्ने विश्वास गर्न सकिन्छ ।



