मंगलबार, मंसिर १ २०८३

मंगलबार, मंसिर १ २०८३
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

सुधार खोजेको बाल सुधारगृह

सुधार खोजेको बाल सुधारगृह

अपराधको प्रकृति हेरेर पनि उनीहरुलाई फरक समूहमा राख्नैपर्छ । बालबालिकालाई सुधार्न सम्भव छ तर सुधारगृह हेर्ने प्रशासन नसुध्रेसम्म त्यसको गुञ्जायस रहँदैन ।


  • Dhorpatan News
  • मंसिर १ २०८३, मंगलबार

कास्कीको सराङकोटमा रहेको बाल सुधार गृहबाट एक बन्दी फरार प्रकरणले त्यहाँको सुरक्षा कमजोरी पुनः सतहमा ल्याइदिएको छ । पाँचथर घर भएका १७ वर्षीय ती बालक सुधारगृहको पछाडिको पर्खाल नाघेर बाहिर निस्केका थिए । २ वर्ष जेल सजाय र एउटा अर्को मुद्दाको पुर्पक्षका निम्ति पठाइएका ती बालक (नेपालको कानुन अनुसार)को रेकर्डले नै उनी आपराधिक गतिविधिमा नराम्ररी डुबेको पुष्टि गर्छ । १७ वर्षे ती किशोरलाई सुधारका निम्ति बालगृह ल्याइएको थियो । बालगृहबाट भागेका उनी लेकसाइडमा चोरी गर्न तयार रहेको अवस्थामा पक्राउ पर्नुले उनी सुध्रेको देखिएन । पुनः पक्राउ पर्दाको अवस्थाले उनीभित्र आपराधिक मानसिकतामा वृद्धि भएको पुष्टि भयो । बालबिजाइँमा संलग्नलाई सुधारमार्फत् समाजमा पुनःस्थापना गर्ने उद्देश्यले बाल सुधारगृह स्थापना गरिएको हो । दण्डनीय अपराधको पुर्पक्षकै बेला र फैसलापछि बालबालिकालाई यस्तो सुधारगृह पठाइन्छ ।

वयस्कसरह कारागार राख्दा उनीहरुमा नकारात्मक प्रभाव पर्ने ठानेर नै सुधारगृहको व्यवस्था गरिएको हो । पोखराको सराङकोटसहित रुपन्देही, भक्तपुर, पर्सा, डोटी, मकवानपुर, बाँके र मोरङ गरी नेपालमा १० वटा सुधारगृह छन् । २०५७ सालयता सञ्चालनमा आएका यी सुधारगृहमा क्षमताको दोब्बरभन्दा बढी बालबालिका राखिएको छ । क्षमताभन्दा बढी बालबालिका राखिनु, पुनःस्थापनाका लागि आवश्यक पर्ने वातावरण नहुँदा ती ठाउँ नाममात्रका सुधारगृह भएका छन् । उमेर समूहको ख्याल नगर्ने र सबै खाले अपराध गर्नेलाई एउटै ठाउँमा कोचाकोच गरेर राख्दा ती गृहमा पटक–पटक झडप अनि अप्रिय घटना पनि हुँदै आएका छन् । सराङकोट घटनाले त ती ठाउँ सुधारभन्दा पनि झन आपराधिक मनोवृत्ति बढाउने केन्द्र पो बन्दैछन् कि भन्ने प्रश्न पनि खडा गरिदिएको छ ।

महान्यायाधिवक्ताको कार्यालयको एक अध्ययन प्रतिवेदनले सुधारगृहमा उपयुक्त कक्ष, शिक्षा, स्वास्थ्य एवं मनोरञ्जनसमेतका लागि आवश्यक व्यवस्थापन हुन नसकेको र क्षमताभन्दा धेरै बालबालिका राखेका कारण बाल मनोविज्ञानमा नकारात्मक असर परेको औंल्याएको थियो । आवश्यक भौतिक पूर्वाधार र मनोसामाजिक परामर्शको सट्टा उनीहरुलाई वयस्क अपराधी जस्तै थुनेर राख्नाले बालबालिकाको मनोविज्ञान उल्टो बन्ने खतरा रहन्छ । उनीहरु सुध्रनुको सट्टा अपराधमा फस्छन् । क्षमताभन्दा बढी व्यक्तिहरु कोचिएर बस्दा आपसमा झैझगडा र रिसइबी सुरु बढ्ने अनि ठूलो उमेर समूहको व्यक्तिले सानालाई होच्याउने र गुट बनाउने अवस्था पनि सुधारगृहमा सिर्जना भएकै छ । राज्यकै लापरवाहीले सुधारगृहको यो हालत भएकोमा द्विविधा छैन ।

सुधारगृहलाई साँच्चै सुधारगृहका रुपमा विकास गर्ने हो भने राज्यले त्यसको भौतिक पूर्वाधार र आवश्यक मनोविमर्शकर्तासहितको उपयुक्त वातावरण निर्माण गर्नै पर्छ । बालबालिकाको संख्याको अनुपातमा उपयुक्त कक्ष, शौचालय, पानीको प्रबन्ध, प्रकाशको व्यवस्थासहितका न्यूनतम पूर्वाधार मनोरञ्जन, शिक्षा, स्वास्थ्य, परिवारसँग भेटघाटको प्रबन्ध गर्नुपर्छ । यसको थालनी विभिन्न उमेर समूहमा रहेका बालबालिकालाई फरक ठाउँमा राखेर गर्नुपर्छ । अपराधको प्रकृति हेरेर पनि उनीहरुलाई फरक समूहमा राख्नैपर्छ । बालबालिकालाई सुधार्न सम्भव छ तर सुधारगृह हेर्ने प्रशासन नसुध्रेसम्म त्यसको गुञ्जायस रहँदैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->