पोखरा/आलु गाउँका रुपमा पहिचान बनाएको हेमजामा मंसिर पहिलो साता साहित्य महोत्सव हुँदै छ । अघिल्लो वर्ष पहिलो पटक भएको महोत्सवले यसपालि पनि निरन्तरता पाएको हो ।
हेमजा साहित्यमहोत्सव यही मंसिर ५ र ६ गतेहुँदै छ ।माछापुच्छ«े र अन्नपूर्ण हिमालको काखमा रहेको हेमजा पोखरामा गाभिएर महानगर बन्नुअघि छुट्टै गाविस थियो । यहाँ क्रियाशील हेमजा साहित्य प्रतिष्ठानले हेमजासहित पोखरा क्षेत्रका प्रतिभाको उजागर गर्दै सिर्जनात्मक सम्भावना खोज्न महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा पहिलो दिन मङ्सिर ५ गते उद्घाटन सत्रसहित पाँच कार्यक्रम तय छन् । सो दिन कवितः अनुभव र अनुभूति, काव्यनगरी हेमजाः साहित्यिक पर्यटनको सम्भावना, सारङ्गीको सुसेलीः लोक संस्कृतिको धुन र भजनमा हेमजा कार्यक्रम हुने छन् ।
महोत्सवको दोस्रो दिन मुक्तक, कविता, गजल र लघुकथा वाचन लगायतका कार्यक्रम हुने छन् । गौरीशङ्कर खेल मैदानमा हुने महोत्सवमा भाषाशास्त्री, साहित्यकार एवम् संस्कृतिविद् मुकुन्दशरण उपाध्यायको अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिँदै छ ।
आयोजक प्रतिष्ठानका अध्यक्ष सुनील गायकले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताए । उनलेयसलाई साझा उत्सवमा रुपमा आयोजना गरिएको बताए ।उनले भने,‘हेमजालाई काव्य नगरी घोषणा गर्दै यो क्षेत्रको सिर्जनात्मक सम्भावना खोज्न महोत्सव गरिएको हो ।’
सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले गन्धर्व समुदायको सारङ्गी, हिन्दुमा प्रचलित भजनदेखि हेमजका पर्यटनकीय सम्भावनाबारे महोत्सवमा विमर्श हुने जानकारी दिए । महोत्सवका परिकल्पनाकार छन्दमणि त्रिपाठीले नेपाली समाज र साहित्यभित्रका विविधता समेट्दै महोत्सव आयोजना गरिएको उल्लेख गरे ।





