मंगलबार, मंसिर १ २०८३

मंगलबार, मंसिर १ २०८३
  • १ मंसिर २०८३ , मंगलबार
  • November 17 2026

दलले प्रमुखमा महिला उठाउलान् ?

दलले प्रमुखमा महिला उठाउलान् ?

यथासक्य महिलाको निश्चित क्षेत्र तोक्न दबाब दिने, नसके महिला उम्मेदवार बढी हुने व्यवस्थापन गर्नुपर्ने मत ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८३, मंगलबार

बागलुङ/नेपालको संविधानले स्थानीय तहको निर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । तर, राजनीतिक दलले गठबन्धनको आधारमा उम्मेदवारी दिँदा दुवै पदमा पुरुषमात्रै उठाउने अवस्था बन्दै आएको छ ।

गठबन्धनकै कारण गत २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको कुनै पनि स्थानीय तहमा महिला उम्मेदवार थिएनन् । तमानखोलामा विद्रोही बनेर कांग्रेसकी हिराकुमारी छन्त्याल उपाध्यक्ष भइन् भने गठबन्धनमै अध्यक्ष पद पाएकी कांग्रेसकी गण्डकी थापाले बडिगाड गाउँपालिकाको अध्यक्ष जितिन् ।

अन्य पालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा पुरुषमात्रै छन् ।यो पद्धतिका कारण संविधान र कानुनले दिएको महिलाको अर्थपूर्ण सहभागिताको अवसर गुमेको छ । उक्त गुमेको अवसर फर्काउन आगामी स्थानीय तहको निर्वाचनमा सबै दललाई प्रमुख पदमा महिला अनिवार्य उम्मेदवार बनाउन दबाब दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

अन्तरपुस्ता महिलावादी मञ्च नेपालले सञ्चालन गरेको देशव्यापी महिलावादी ‘अनुपम’ अभियान अन्तर्गत बागलुङमा भएको कार्यक्रममा सरोकारवालाले महिलाप्रमुख पदमा अनिवार्य उम्मेदवार बन्ने अवस्था सिर्जना गर्नुपर्ने बताएका हुन् । सके त महिलाको निश्चित क्षेत्र तोक्न दबाब दिने, नसके दलहरुले महिला उम्मेदवार बढी दिने व्यवस्थापन गर्नुपर्ने उनीहरुको मत छ ।

दलहरुलाई आग्रह गर्नुअघि उनीहरुको निर्णय क्षमतामा महिलाले हस्तक्षेप गर्न सक्ने बनाउने, नेतृत्वमा पुग्दा गर्ने कामबारे जानकारी दिने र नेतृत्वमा पुग्दा पनि सफल बन्ने वातावरण सिर्जना गर्ने वातावरण चाहिएको मञ्चकी संस्थापक रिता थापाले बताइन् । उनले नीतिगत रुपमा दबाब दिने र पदमा पुग्न सक्ने महिला उत्पादन गर्ने लक्ष्यले देशव्यापी अभियान चलाएको उनले बताइन् ।

मञ्चले महिला प्रमुख पदमा उम्मेदवार भएको खण्डमा प्रचार खर्चसमेत सहयोग गर्ने नीति बनाएको छ । त्यसकालागि २ करोड रुपैयाँको कोष बनिसकेको उनले बताइन् । सामान्य खर्च भएपनि दिएर अगाडि बढ्न प्रोत्साहन गर्ने उनले बताइन् । ‘आर्थिक कारणले पाएको टिकटबाट पनि महिला पछि हट्ने अवस्था छ’, उनले भनिन्, ‘त्यो अवस्था नआओस, निर्वाचनमार्फत स्थापित हुन पनि सहज होस् भनेर यो अभियान बनाएका हौं ।’

सरकारले आगामी चैत, वैशाखमा स्थानीय तहको निर्वाचन गर्नैपर्ने अवस्था छ । कार्यक्रममा बागलुङका अभियानकर्मीले पनि यो अभियानलाई सफल बनाउने तर राजनीतिक दलबाट उमेदवार बन्ने वातावरण बनाउन पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी लक्ष्मी जिसी, मनकुमारी जिसी, टीकाकुमारी विश्वकर्मा, सीता शर्मा, लीला खड्का, कल्पना हमाल, मणिभद्र शर्मा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->