पोखरा/प्रधानमन्त्री कप गण्डकी प्रदेशस्तरी महिला टि २० प्रतियोगितामा कास्की र स्याङजाले अपराजित यात्रा कायमै राखेका छन् । सोमबार भएको खेलमा स्याङ्जाले बागलुङ र कास्कीले पर्वतलाई हराएका हुन् ।
३ खेल खेलेको कास्की लिग तालिकाको शीर्षस्थानमा उक्लिएको छ । कास्कीले ३ वटै खेलमा जित हाँसिल गर्दै ६ अंक प्राप्त गरेको छ । २ खेल खेलेको स्याङजा ४ अंकका साथ दोस्रो स्थानमा छ ।
सोमबार पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको पहिलो खेलमा सिमाना केसी र रन्जना साउन चम्कँदा स्याङ्जाले बागलुङमाथि उत्कृष्ट जित हाँसिल ग¥यो । १ सय २८ रनको विजयी लक्ष्य दिएको स्याङ्जाले ११.४ ओभरमा ३७ रनमै नवलपुरलाई अलआउट गर्दै ९० रनको जित हाँसिल गरेको हो ।
स्याङ्जाकी अलराउन्डर सिमाना केसीले २ ओभरमा २ मेडनसहित ३ विकेट लिइन् । जारी प्रतियोगितामा कुनै पनि बलरले २ मेडनसहति विकेट लिएको यो नै पहिलो हो । रञ्जनाले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् ।
खेलमा बागलुङका कुनै पनि ब्याटरले दोहोरो अंक जोड्नै सकेनन् । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्याङ्जाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २७ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले सर्वाधिक ३४ रनको योगदान दिइन् ।
दोस्रो खेलमा पर्वतको ब्याटिङ कमजोर हुँदा कास्कीसँग १२ रनको हार व्यहोर्न बाध्य बन्यो । बलिङमा उत्कृष्ट प्रदर्शनी गर्दै ६९ रनको विजयी लक्ष्य पाएको पर्वतको बलिङ जसरी ब्याटिङ चल्न नसक्दा २० ओभरमा ९ विकेट गुमाउँदै ५६ रनमात्रै बनाउन सफल रह्यो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कास्की १९.२ ओभरमा ६८ रनमै अलआउट हुन पुग्यो । कास्कीका लागि रिया तामाङ र चन्द्रमायाले बाहेक अन्य ब्याटरले गतिलो रन जोड्न सकेनन् । रियाले १४ तथा चन्द्रमायाले १२ रन बनाइन् ।
२ खेलमा १ जित १ हारसहित २ अंकका साथ नवलपुर तेस्रो स्थानमा रहँदा ३ हार व्यहोरेको पर्वत चौथो र २ हार व्यहोरेको बागलुङ पाँचौ स्थानमा छन् ।





