सोमबार, कार्तिक ३० २०८३

सोमबार, कार्तिक ३० २०८३
  • ३० कार्तिक २०८३ , सोमबार
  • November 16 2026

दशौं राष्ट्रिय खेलकुदको छनोट भद्रगोल

दशौं राष्ट्रिय खेलकुदको छनोट भद्रगोल

दशौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा निर्देशिकाविपरीत, कतिपय खेलमा सोझै खेलाडी सिफारिस भएका छन् ।


  • विजय नेपाली
  • कार्तिक ३० २०८३, सोमबार

पोखरा/दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब १७ दिनमात्र बाँकी छ । राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०८३ मा खेलाडी छनोट गर्दा पालिका तहदेखि जिल्ला हुँदै प्रदेश छनोट गर्नुपर्ने व्यवस्था छ ।

गण्डकी प्रदेशमा भने निर्देशिका मर्म विपरीत भद्रगोल तरिकाले सोझै प्रदेश छनोट चलिरहेको छ । त्यतिमात्रै होइन, कतिपय खेलमा छनोट नभई सोझै खेलाडी सिफारिस भएका पनि छन् । २०७९ सालमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेश ऐतिहासिक रुपमा प्रदेशतर्फ प्रथम स्थान हाँसिल गर्न सफल भएको थियो ।

समग्रमा चौथो स्थानमा रहे पनि गण्डकीले सात प्रदेशमध्ये उत्कृष्ट प्रदर्शन गर्दै ३२ स्वर्ण पदक जित्न सफल भएको थियो । यस पटक गण्डकी प्रदेशले निराशाजनक प्रदर्शन गर्ने आकलन गर्न थालिएको छ । प्रतियोगिताका लागि १७ दिन बाँकी रहँदा प्रदेशले १२ दिनमात्रै बन्द प्रशिक्षणमा राखी तयारी गर्ने भएपछि खेलकर्मीहरु रुष्ट भएका छन् ।

पूर्वराष्ट्रिय खेलाडी राजन पौडेल हिजो पञ्चायत कालदेखि बहुदलसम्म आउँदा जिल्ला स्तरमा छनोट हुँदै क्षेत्रीय स्तर र राष्ट्रिय स्तरमा खेल्ने प्रचलन रहे पनि अहिले त्यो नभएको टिप्पणी गर्छन् । ‘अहिले पालिका स्तरबाट जिल्ला हुँदै प्रदेशमा छनोट हुनुपर्ने हो, त्यो केही पनि नभएको हामीले देखिरहेका छौं । अहिले नाम मात्रैका छनोट प्रतियोगिता भइरहेका छन् । तयारी निकै न्यून हुँदा पदकको आशा गर्नु उचित छैन,’ उनले भने, ‘अहिले सुन्नमा आएको छ १२ दिनको क्लोज क्याम्पमा राख्ने रे । प्रदेशस्तरमा छनोट भएकालाई कुलिङ पिरियडमा राख्ने बेलामा लोड दिन खोजिरहेका छौं ।’

अहिले प्रदेश र स्थानीय सरकारले खेलाडीको पहिचान नै गुम्ने गरी छनोट गरेको उनी सुनाउँछन् । गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले क्रिकेटका लागि अझै प्रदेश छनोट अन्योलमै रहेको सुनाए ।

प्रदेश सरकारले छनोटका लागि पर्याप्त बजेटसमेत नदिदा छनोट गर्न मुस्किल भएको उनको भनाइ छ । प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको मिति सरेर चार वर्षपछि हुन लागेको छ । तर, अन्योलकाबीच प्रतियोगिता हुन लाग्दा छनोट प्रक्रियामा भने उनको पनि असन्तुष्ट छ ।

प्रदेश स्तरको छनोटको गरिमा ठूलो हुने गरे पनि त्यो नै कटौती गर्ने गरी प्रदेश सरकारले छनोट गरिरहेको उनी दाबी गर्छन् । ‘हिजो तल्लो तहदेखि नै छनोट हुन्थ्यो, त्यसले प्रतिभाको पहिचानका साथै एउटा छुट्टै गरिमा हुन्थ्यो, त्यो आज देखिँदैन’, उनले भने, ‘अलिकति समय छुट्याएर स्थानीयदेखि राष्ट्रियसम्म जान सकेको भए पदक ल्याउने सम्भावना पनि हुने थियो । हामीलाई अहिलेसम्म यो तरिकाले छनोट गर्नुस् भनेर भनेका पनि छैनन् ।’

खेलाडीकै नियमित प्रशिक्षणबाहेक प्रदेश सरकारको भूमिका देखिएको छैन । अहिलेको अवस्थामा खेलाडीमा मानसिक रुपमा असर परिरहेको देखिन्छ । नवौं राष्ट्रिय खेलकुद हुँदा खेलाडीका लागि पर्याप्त प्रशिक्षणको समय थियो । यसपालि अधिकांश खेल संघहरूले टिम छनोट गर्न सकिरहेका छैनन् ।

अहिलेको तयारी र समयले खेलाडीलाई मानसिक रुपमा असर गरिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी एवम् एथलेटिक्स प्रशिक्षक सिद्धान्त अधिकारी सुनाउँछन् । अहिलेको छनोटदेखि उनी पनि असन्तुष्ट छन् ।

नवौं मा १५ दिन स्पेसल प्रशिक्षण, १५ दिन आवाससहितको प्रशिक्षण र २ महिना ट्यालेन्ट हन्ट चलेको थियो । अहिले भने २ हप्ताभित्रै छनोटदेखि बन्द प्रशिक्षणमा बोलाउनु गलत रहेको उनी टिप्पणी गर्छन् ।

‘जुन खेलाडी पदका लागि भनेर खेलिरहेका छन् । ती खेलाडीलाई छनोट हुने हो कि होइन भन्ने नै अन्योल छ । यस्तो अवस्थामा गण्डकी सरकारले किन हेलचेक्रयाइँ गरिरहेको छ?,’ उनले भने ।

गण्डकी प्रदेशका खेल पदाधिकारीहरुले नै यसपालि पदकको आशा गरिरहेका छैनन् । गण्डकीका लागि जति पदक आउँछन्, ती खेलाडी र खेलकर्मीकै बलबुतामा मात्रै आउने देखिएको छ । नवौंमा जुन साख गण्डकीले बनाएको थियो, दशैंमा त्यो नदेखिने हो कि भन्ने टिप्पणीसमेत भइरहेको छ ।

कर्णाली प्रदेशमा यही मंसिर १६ देखि २७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिता कर्णाली प्रदेशका अधिकांश जिल्लामा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुषका विभिन्न विधासहित ३२ खेल समावेश गरिने भएका छन् ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघ (एनआरएनए) सहित ११ टोलीका खेलाडी सहभागी हुनेछन् । राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->