पोखरा/सहारा क्लब पोखराले तिहारमा आयोजना गरेको देउसीभैलोबाट साढे ११ लाख रुपैयाँ संकलन भएको छ । सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीको सञ्चालन तथा व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले क्लबले तिहार देउसीभैलो खेलेको हो ।
कात्तिक २२ देखि २६ गतेसम्म सञ्चालित कार्यक्रमबाट ११ लाख ६८ हजार ६ सय १३ रुपैयाँ संकलन भएको क्लबले जनाएको छ ।क्लबका सहकोषाध्यक्ष विष्णु गुरुङको संयोजकत्वमा देउसीभैलो कार्यक्रम भएको हो ।
क्लबले कठिन परिस्थिति तथा विपन्न वर्गका बालकहरूलाई निःशुल्क आवासीय सुविधासहित फुटबल प्रशिक्षण प्रदान गर्ने उद्देश्यले पोखरा–१७, दोबिल्लामा सहारा एकेडेमी सञ्चालन गरेको छ । एकेडेमीमा हाल विभिन्न जिल्लाका ३० जना बालक आश्रित रहेको वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।





