शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

धौलागिरीका चार जिल्ला हेर्नेगरी बेनीमा पूर्वाधार कार्यालय स्थापना

धौलागिरीका चार जिल्ला हेर्नेगरी बेनीमा पूर्वाधार कार्यालय स्थापना

म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर पन्तले क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०८३, शुक्रबार

म्याग्दी / साविक धौलागिरीका चार जिल्ला हेर्नेगरी म्याग्दीको बेनीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ । सङ्घीय सरकारको पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत रहने गरी साविक धवलागिरि क्षेत्रका चार जिल्लालाई कार्यक्षेत्र बनाएर बेनीमा शुक्रवार कार्यालय स्थापना गरिएको हो ।

म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र रहने डिभिजन कार्यालयको बेनी स्थित जिल्ला समन्वय समितिको परिसरमा कार्यालय रहने गरी उद्घाटन गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णय अनुसार पूर्वाधार विकास मन्त्रालय अन्तर्गत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णयअनुसार म्याग्दीमा पनि डिभिजन कार्यालय स्थापना गरिएको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर जनकराज पन्तले जानकारी दिए ।

नयाँ कार्यालय स्थापनासँगै चार जिल्लामा पूर्वाधार विकास सम्बन्धी योजना तथा कार्यक्रमको कार्यान्वयन र समन्वयमा सहजता हुने अपेक्षा गरिएको छ । यसअघि पोखरामा रहेको कार्यालयबाट योजनाहरु कार्यन्वयन हुने गर्दथे ।

कार्यालयको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य रेशमबहादुर जुग्जालीले कार्यालय स्थापना भएपछि सङ्घीय सरकारका योजनाहरु कार्यान्वयन गर्न सहज हुने अपेक्षा व्यक्त गरे । उनले पूर्वाधार विकासका योजना निर्माण, कार्यान्वयन, अनुगमन तथा समन्वयमा सहज हुने विश्वास व्यक्त गरे ।

पूर्वाधार विकास डिभिजन म्याग्दीका प्रमुख सिनियर डिभिजनल इन्जिनियर पन्तले क्षेत्रीय तथा प्रादेशिक सन्तुलन कायम गर्दै गुणस्तरीय, वातावरणमैत्री र विपद् प्रतिरोधी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने जानकारी दिए ।

वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय सडक, पुल र झोलुङ्गे पुल निर्माण एवं स्तरोन्नति गर्ने योजनाहरु सञ्चालन हुने बताए ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले कार्यालयबाट योजनाहरुको प्रभावकारी कार्यान्वयनको अपेक्षा व्यक्त गरे ।

चालु आर्थिक वर्ष २०८३/८४ मा डिभिजन कार्यालय मार्फत ११ वटा वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम, १५वटा स्थानीय स्तरका सडक पुल तथा सामुदायिक पहुँच सुधार, दुईवटा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम र दुईवटा स्थानीय तहको केन्द्र जोड्ने सडक विकास कार्यक्रम योजना रहेको डिभिजन कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षको प्रमुख कार्यक्रमहरु विभागबाट डिभिजन कार्यालयहरुमा योजना तथा बजेट बाँडफाँटको कार्य सम्पन्न हुने चरणमा रहेकाले अबको १५ दिन भित्र कार्यालय पूर्णरुपमा सञ्चालन गरी योजनाहरु अगाडी बढाइने डिभिजन प्रमुख पन्तले बताए । उनका अनुसार डिभिजन कार्यालयमा हाललाई सिनियर डिभिजनल इन्जिनियरको नेतृत्वमा १४ जना स्थायी प्रकृतिका प्राविधिक तथा प्रशासनीक दरबन्दी रहेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिका प्रमुख सुरत केसी, जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु,जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत अन्य सरोकारवालाहरुको सभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->