शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

एनपिएल : सुदुरपश्चिम रोयल्स अन्तिम चारमा

एनपिएल : सुदुरपश्चिम रोयल्स अन्तिम चारमा


  • ढाेरपाटन संवाददाता
  • कार्तिक २७ २०८३, शुक्रबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) का अघिल्ला दुई संस्करणमा फाइनल पुगेर पनि उपाधिबाट चुकेको सुदूरपश्चिम रोयल्सले यसपटक पनि अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

शुक्रबार काठमाडौं गोर्खाजलाई सात रनले पराजित गर्दै सुदूरपश्चिम लगातार तेस्रोपटक प्लेअफ पुग्न सफल भएको हो । योसँगै सुदूरपश्चिम तीनवटै संस्करणमा प्लेअफ पुग्ने पहिलो टोली बनेको छ । तर‚ काठमाडौंविरुद्धको यो जित सहज थिएन । आठ रनमै चार विकेट गुमाएर संकटमा परेको टोलीलाई कप्तान दीपेन्द्रसिंह ऐरीले सम्हाले । त्यसपछि बलरले पनि आफ्नो जिम्मेवारी पूरा गरे ।

सुदूरपश्चिमले दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रनमै रोकियो । सुदूरपश्चिमले सात खेलबाट पाँच जित र दुई हारसहित १० अंक जोडेको छ । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको थियो ।

खेलमा सुदूरपश्चिमको जितको आधार कप्तान दीपेन्द्रको ब्याटिङ बन्यो। टस हारेर पहिले ब्याटिङ गरेको टोलीले सुरुआती दुई ओभरमै चार विकेट गुमाएको थियो । स्कट कुगेलेइन, विनोद भण्डारी, ब्रान्डन म्याकमुलेन र ईशान पाण्डे क्रिजमा टिक्न सकेनन्। आठ रनमा चार विकेट गुमेपछि सुदूरपश्चिम ठूलो संकटमा परेको थियो ।

काठमाडौंका जाहान्दाद खानले सुरुआती चारमध्ये तीन विकेट लिँदै सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । उनले चार ओभरमा २२ रन खर्चिए । सन्तोष यादवले पनि दुई विकेट लिए । तर दीपेन्द्रको धैर्यपूर्ण इनिङ्सले काठमाडौंको बलिङको प्रभाव कम गरिदियो ।

जवाफमा काठमाडौंले पनि ब्याटिङमा निरन्तरता दिन सकेन । राशिद खानले ३१ बलमा पाँच चौकासहित अविजित ३५ रन बनाए । दुशन हेमन्थाले २१ रन जोडे। तर अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् । अन्तिम पाँच ओभरमा ३३ रन मात्रै जोड्न सकेपछि काठमाडौं जितबाट सात रन टाढा रह्यो ।

सुदूरपश्चिमका अनिल खरेलले चार ओभरमा १८ रन खर्चेर दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले एक–एक विकेट लिए । ब्याटिङमा संकटमा परेको टोलीलाई बलरले लक्ष्य जोगाएर साथ दिए ।

काठमाडौंले भने लिग चरणको अन्तिम खेलमा १५ नोभेम्बरमा पोखरा एभेन्जर्ससँग खेल्नेछ । ६ खेलबाट आठ अंक जोडेको काठमाडौंले उक्त खेल जिते १० अंक पु¥याउनेछ । त्यसैले प्लेअफको दौडमा रहेको काठमाडौंका लागि अन्तिम खेल निर्णायक हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->