पोखरा / पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा शुक्रवार दिउँसो स्कुटरमा सवार म्याग्दीका दुई युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै रघुगङ्गा गाउँपालिका–३ का २६ वर्षीय मोहन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक रामजी देवकोटाले जानकारी दिए ।
पोखरा-५ जिरो किलोमिटर नजिक दिउँसो अन्दाजी २ः५० बजेको समयमा रोकिराखेको लु ३ च ५२७४ नम्बरको बोलेरो जिपमा ग २३ प १७१६ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
उपचारका क्रममा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बोलेरो जिपका चालक पोखरा–२८ कालिका बस्ने ४८ वर्षीय अृमत बजगाईँ र दुवै सवारीसाधनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।





