बागलुङ/हिउँदे खेतीका लागि बाटो खोल्ने गरी ताराखोला गाउँपालिका वडा नं. २ को अर्गलका ‘अर्गली मगर’ले यो वर्षको छापो हालेका छन् । नयाँ खेती लगाउने मौषमको रुपमा अर्गली मगरहरुले छापो हाल्ने पर्व मनाउने गर्छन् । शुक्रबार छापो हालेर यो पर्व मनाइएको हो ।
हरेक वर्ष कात्तिकको २४ गते पितृको श्राद्द गर्ने, २५ गते भुस पोल्ने र २६ गते छाप्रो हाल्ने अर्गलीको परम्परा हो । तिहारको रौनकमा देशभर देउसी भैलोमा रमाएकै बेला अर्गलीले भुस पोल्ने र छापो हाल्ने पर्व मनाएको बताए ।
हरेक वर्षको कात्तिक २४ गते उनीहरुले ‘होलादास’ अर्थात् पितृकार्य सम्पन्न गर्दै आएका छन् । वर्षभरी मृत्यु भएका आफन्तको एकै दिन पितृकार्य गरेर काजक्रिया सक्ने उनीहरुको पुख्र्यौली चलन हो । पन्ध्रौं शताब्दीमा पाल्पाबाट बसाइ सरेर आएका उनीहरुले खोरिया फाँडेर बसोबास गरेको सम्झनामा भुस पोल्ने गरिन्छ । वर्षे बालीको रुपमा रहेको मकै लगायतको खेती थन्क्याएपछिको स्याउला पोलेर खेतको किरा मार्ने उनीहरुको चलन छ ।
भुस पोलेको भोलीपल्ट कात्तिक २६ गते ताराखोला गाउँपालिका वडा नं. २ अर्गलको सामुहिक हक रहेको ‘शंकुबारी’मा छापो हालिएको छ । हिउँदे खेतीको रुपमा जौं छरेर अविवाहित युवायुवतीले शंकुबारी खन्ने चलनलाई छापो हाल्ने भनिन्छ । यो अर्गली मगरको नियमित कार्य हो । प्रकृति पूजा गर्ने भएकोले उनीहरुले नियमित चाडपर्व भन्दा कात्तिकको भुसपोल्ने पर्वलाइ विशेष पर्वको रुपमा मान्छन् ।
यो पर्वका लागि देश विदेशमा भएपनि अविवाहित युवा युवतीहरु गाउँमा आउनै पर्ने बाध्यता पर्छ । यो पर्वमा नआएकाहरुले एक वर्ष भित्रमा विवाह गर्न नपाउने चलन छ । विवाह गर्ने उमेर पुगेकाहरु शंकुबारीमा छापो हाल्न अनिवार्य आउने गरेको स्थानीय प्रकाश घर्तीमगरले बताए । पाल्पाको अर्गलीबाट बसाइ सरेर आएकोले अर्गल, अमरभूमी र भुस्कातका मगरहरुले यो पर्व मनाउने गरेका छन् । ‘करिब ५ सय वर्ष पहिला बसाई सरेर आएको अनुमान छ’ घर्तीले भने, ‘प्रकृति पूजा गरेर हिउँदे खेती थाल्ने, बसाई आएको स्मरण गर्ने र युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने परम्परा हो ।’ तिहारको दिन परेपनि उनीहरुले भाइटिकासँगै पितृकार्य, भुस पोल्ने र छापो हाल्ने काम पनि सम्पन्न गरेको उनले बताए ।
शंखुबारी सामुहिक जमिन हो । यहाँ बुढापाकाले जौं झरेपछि युवायुवतीले सामुहिक रुपमा खन्छन् । यो पर्वकै रुपमा लिईने भएकोले सयौं मानिस छापो हालेको र बारी खनेको हेर्न आउँछन् । यो वर्ष छापो हाल्न ६० बढी अविवाहित युवायुवती आएको स्थानीय भद्रबहादुर घर्तीले बताए । यसरी छापो खन्न आएका युवायुवतीले राम्रो बरबधु पाउने विश्वास छ । बुढापाकाले छापो हाल्नका लागि बीउ छर्दा भकारीमा सहकाल आउने विश्वास गर्छन् । ‘खोरिया फाँडेर बसेको दिनको पनि यो सम्झना हो, त्यसैले खनीखोर्सी गरेर बीउ छर्दा भकारीमा सहकाल आउँछ भन्ने विश्वास छ’ स्थानीय बिर्बलाल घर्तीले भने, ‘सहकालका देवता प्रकृति पूजा गरेर हामीले खेती भित्राउने गरिएको छ ।’ हिउँदे खेतीमा यहाँ गहुँ, जौं, तोरी लगायत छरिन्छ ।
पितृकार्यका लागि पनि हरेक वर्ष कात्तिक २४ गते जुठो फुकाउने चलन यहाँ छ । कात्तिकको २२ गते मृत्यु भएका, मंसिरदेखि मृत्यु हुने सबैको एकैपटक कात्तिकको २४ गते पितृकार्य गर्ने चलनलाई होलादास भनिने भीमबहादुर घर्तीले बताए । उनले आफ्नो बाबुआमाको पितृकार्य गर्दा एक वर्ष कुरेको स्मरण गरे । भीमबहादुर जस्तै हर्कबहादुर घर्तीले पनि पितृ कार्यका लागि एक वर्षसम्म घर छाड्न पाएका थिएनन् । पितृकार्य नसकेसम्म उनीहरु मठमन्दिर जान पाउँदैनथे । उनीहरुले यो समयभरी पुलपुलेसा समेत तर्न नहुने चलन छ ।
पहिला पहिला मुखियालाई गुरुबाउ मान्ने चलन थियो । अहिले मुखिया प्रथा छैन । त्यसैले जेठोबाठो र केही बुझेकालाई गुरुबाउ मान्ने चलन छ । गुरुबाउको निर्देशनमा यो विधि गरिन्छ । पितृकार्य गर्नको लागि बिहानै उठेर नुहाई धुवाई गरेपछि घर चोख्याउनु पर्छ । गाउँलेहरु गुरुबाउकै घरमा पूजा सामाग्री लिएर आउँछन् । घरभित्र पूजा भैसकेपछि शंखुबारी गएर पूजा गरिन्छ ।
यहाँ उत्पादित अन्न अक्षेतको रुपमा समूहमै राखिन्छ । वर्षभरी मृत्यु भएका पितृको सम्झनामा पूजा गरेपछि दान दक्षिणा दिइन्छ । होलादास गर्न १८ माना चामल, सुकुटी र पशुको छाला चेलीबेटीले ल्याएपछि चढाउने र आशोच बारेका घरले चेलीबेटीलाई त्यस्तै प्रकारको दान दिने गरिएको स्थानीय बिर्बलाल घर्तीले बताए । यो कार्यपछि पितृहरु स्वर्ग तर्छन् भन्ने विश्वास समेत छ ।





