शुक्रबार, कार्तिक २७ २०८३

शुक्रबार, कार्तिक २७ २०८३
  • २७ कार्तिक २०८३ , शुक्रबार
  • November 13 2026

कुहुँमा शैक्षिक तथा धार्मिक महोत्सवसहित महायज्ञ सुरु

कुहुँमा शैक्षिक तथा धार्मिक महोत्सवसहित महायज्ञ सुरु


  • Dhorpatan News
  • कार्तिक २७ २०८३, शुक्रबार

म्याग्दी मंगला गाउँपालिका–१, कुहुँ स्थित दीपशिखा माध्यमिक विद्यालयमा विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

बिहीबारदेखि सुरु भएको …म्याग्दी मालिका टोड्के शैक्षिक एवं धार्मिक महोत्सव तथा श्रीमद्भागवत् धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ–२०८३Ú को गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री रेशमबहादुर जुग्जाली -सुविन) र प्रमुख कथावाचक पण्डित दीनबन्धु पोखरेलले संयुक्त रूपमा उद्घाटन गरे ।

प्रदेश सभा सदस्य जुग्जालीले सामुदायिक विद्यालयको विकास र सञ्चालनमा सरकारको पर्याप्त सहयोग आवश्यक भए पनि समुदाय आफैँ सक्रिय भएर शैक्षिक संस्थाको हितमा महायज्ञ आयोजना गर्नु प्रशंसनीय कार्य भएको बताए । उनले पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जाँदा विद्यालय सञ्चालन र व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गर्दै शैक्षिक गुणस्तर सुधारका लागि प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दीपशिखा माध्यमिक विद्यालयलाई विगतमा पनि प्रदेश सरकारबाट सहयोग गरिएको स्मरण गर्दै उनले आगामी दिनमा समेत सहयोग निरन्तर रहने बताउनुभयो । महायज्ञलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग गर्न आग्रह गरे ।
त्यसैगरी म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विद्यालयको शैक्षिक उन्नयन र संस्थागत विकासका लागि आयोजना गरिएको महायज्ञलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्री, प्रहरी नायव उपरीक्षक राजन कार्की, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतमलगायत जिल्लास्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, सरोकारवाला, सुरक्षा निकायका प्रमुख तथा स्थानीयवासीको उपस्थिति थियो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक डेकबहादुर घर्ती क्षत्रीको अध्यक्षतामा भएको समारोहको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक हरिकृष्ण भट्टराईले गरेका थिए । कार्यक्रममा मंगला माध्यमिक विद्यालयका प्रधानाध्यापक गमबहादुर खत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

औपचारिक कार्यक्रमअघि कुहुँदेखि पूर्णगाउँ हुँदै धार्मिक तथा पर्यटकीय क्षेत्र टोड्केसम्म नौमती बाजा, भजनकीर्तन र कलशसहितको शोभायात्रा निकालिएको थियो ।

विद्यालयलाई आवासीय सुविधासहितको शैक्षिक संस्थाका रूपमा विकास गर्ने, स्मार्ट तथा प्रविधिमैत्री व्यावसायिक शिक्षा प्रदान गर्ने, शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र खेलमैदान व्यवस्थापनका लागि जग्गा खरिद गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको विद्यालयले जनाएको छ ।

भौगोलिक रूपमा विकट क्षेत्रका, आर्थिक तथा सामाजिक रूपमा विपन्न समुदायका र विद्यालय टाढा रहेका विद्यार्थीलाई लक्षित गरी आवासीय सुविधा उपलब्ध गराउने तथा अतिरिक्त कक्षा सञ्चालनमार्फत सिकाइ उपलब्धि वृद्धि गर्ने योजना पनि विद्यालयले अघि सारेको छ ।

महायज्ञबाट सङ्कलित रकम विद्यालयमा प्रविधियुक्त शिक्षण सिकाइको व्यवस्था गर्न, सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन र विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहर जानुपर्ने बाध्यता न्यूनीकरण गर्न खर्च गरिने विद्यालयका प्रधानाध्यापक डा. नन्दबहादुर खत्रीले जानकारी दिए ।

उनका अनुसार महायज्ञबाट तीन करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य राखिएको छ । महायज्ञ सुरु हुनुअघि नै ४० लाख रुपैयाँभन्दा बढी सहयोगको प्रतिबद्धता प्राप्त भइसकेको छ । स्वदेश तथा विदेशमा रहेका विद्यालयका पूर्वविद्यार्थी र स्थानीयवासीबाट सहयोग गर्ने क्रम जारी रहेको उनले बताए ।

महायज्ञमा पण्डित दीनबन्धु पोखरेल प्रमुख कथावाचक तथा चन्द्रप्रसाद बसेल -ध्रुवशरण) सङ्कल्पकर्ताका रूपमा रहेका छन् । शुक्रबारदेखि नियमित प्रवचन, भजनकीर्तनलगायत धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । महायज्ञ अवधिभर दैनिक पाठपारायण, पूजाअर्चना, भजनकीर्तन, आरती तथा विविध धार्मिक झाँकी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

वि.सं. २०१७ सालमा स्थापना भएको दीपशिखा माध्यमिक विद्यालयमा हाल बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा अहिले १९६ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->