बागलुङ/गलकोट नगरपालिका–१० पाण्डबखानीस्थित घोप्टे खोला जलविद्युत् आयोजनाको ट्रान्सफर्मर जलेपछि दुइ सातादेखि स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत अभावमा अत्यावस्यक काम गर्न नपाएका स्थानीयले टेलिफोन चलाउन पाएका छैनन् ।
विद्युत अभावमा टावर समेत सञ्चालनमा छैन भने मोबाइल चार्ज गर्न पनि पाएका छैनन् । सञ्चार र विद्युत सेवा बिच्छेदका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ । गत कार्तिक १५ गते रातिको वर्षात् र चट्याङले २५ किलोवाट क्षमताको उक्त जलविद्युत् आयोजनाको जेनेटरमा क्षति पुगेपछि यस क्षेत्रमा पूर्ण रूपमा विद्युत् आपूर्ति बन्द भएको हो ।
पाण्डबखानी क्षेत्रका करिब ५ सय घरधुरी सञ्चार सम्पर्कबाट विच्छेद हुन पुगेको स्थानीय सुरेश छन्त्यालले बताए । जलविद्युत् आयोजनाको ट्रान्सफर्मरमा ठूलो क्षति पुगेका कारण यसको मर्मत गरी पुनः सञ्चालनमा ल्याउन कठिन भएको छ । सम्बन्धीत निकायले उक्त स्थानको विद्युत र टेलिफोन मर्मतमा ध्यान नदिएको स्थानीयको गुनासो समेत छ । पाण्डवखानीमा केन्द्रीय प्रसारण लाइनको बिद्युत पुगिसकेको भए पनि नेपाल टेलिकमको टावरमा भने अझैसम्म जोड्ने व्यवस्था गरिएको छैन ।
बितरणमा पनि अहिलेसम्म काम अगाडि बढेको छैन । स्थनीयले पटक–पटक स्थानीय सरकार र नेपाल टेलिकम कार्यालय बागलुङको ध्यानाकर्षण गराए पनि सुनुवाई नभएको स्थानीयले गुनासो गरे । अत्यावस्यक सेवाको रुपमा नलिइ स्थानीयको समस्यामा खेलवाड गरिएको छन्त्यालले बताए । सरकारले भने विद्युत् र सञ्चार सेवालाई संवेदनशिल र अत्यावस्यक सेवाको रुपमा राखेको छ ।





