सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

साझेदारी चुक्दा दबाबमा पोखरा

साझेदारी चुक्दा दबाबमा पोखरा

कुशलको ३५ रन नै पोखराको इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो। पोखराको हारमा सबैभन्दा ठूलो समस्या ब्याटिङ साझेदारीको अभाव देखियो।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १६ २०८३, सोमबार

काठमाडौं / जति नै ठूलो लक्ष्य भए पनि क्रिकेटमा साझेदारीले जित दिलाउँछ। बलिङसँगै ब्याटिङमा पनि साझेदारी बन्न सकेन भने सामान्य लक्ष्य पनि पूरा हुन कठिन हुन्छ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा पोखरा एभेन्जर्स यही चुनौतीमा लगातार चुकिरहेको छ। जसले गर्दा पोखराले पहिलो दुई खेलमा हार सामना गर्‍यो। ब्याटिङमा एकपछि अर्को विकेट गुमाउने क्रम नरोकिँदा पोखरा आइतबार पूर्वच्याम्पियन जनकपुर बोल्ट्ससँग ९ रनले पराजित हुन पुग्यो। तीन खेलबाट जनकपुरले दोस्रो जित निकाल्दा पोखरा भने लगातार दोस्रो हारपछि दबाबमा परेको छ।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले १४८ रनको मध्यम लक्ष्य नै दिएको थियो। सकिब अल हसनजस्ता उत्कृष्ट अलराउन्डरको साथमा रहेको पोखराका लागि त्यो कठिन लक्ष्य थिएन। तर, ब्याटरले जिम्मेवारी लिन नसक्दा पोखरा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३८ रनमै सीमित भयो।

कप्तान कुशल भुर्तेलबाहेक अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। कुशलको ३५ रन नै पोखराको इनिङमा सर्वाधिक व्यक्तिगत स्कोर बन्यो। पोखराको हारमा सबैभन्दा ठूलो समस्या ब्याटिङ साझेदारीको अभाव देखियो। सुरुआती पावरप्लेमा दुई विकेट गुमाए पनि टोलीले ५१ रन जोड्दै आशा जगाएको थियो। तर, सातौं ओभरमा ललित राजवंशीले कुशललाई आउट गरे। यसपछि पोखरा लयमा फर्कन सकेन।

कुशलले २४ बलमा पाँच चौका प्रहार गरे। उनको विकेटसँगै जनकपुरले खेलमा पकड बलियो बनायो। त्यसपछि पोखराका अनुभवी ब्याटर सकिब र विकेटकिपर अर्जुन घर्ती पनि लामो समय टिक्न सकेनन्। सकिब ९ र अर्जुन ७ रनमा आउट भए। दुवैले करिब ६ ओभर क्रिजमा बिताए पनि रनको गति बढाउन सकेनन्।

सैफ हसनले दुवैलाई आउट गर्दै पोखरालाई थप दबाबमा पारे। किरण ठगुन्नाले केही आक्रामक सट खेलेर आशा जगाए। तर उनी पनि पाँच बलमा दुई चौका र एक छक्कासहित १४ रन बनाएर आउट भए। त्यसपछि मोहम्मद सैफुद्दिन र चमिका करुनारत्नेसमेत सस्तैमा पभेलियन फर्किए। १६.३ ओभरमा ११० रन जोड्दा आठ विकेट गुमाएको पोखराको जितको सम्भावना लगभग समाप्त भएको थियो। अन्तिमतिर विपिन आचार्य र विपिन खत्रीले केही संघर्ष गरे। नवौं विकेटका लागि यी दुईले २२ रनको साझेदारी गरे पनि जिताउन सकेनन्। विपिन आचार्यले १९ बलमा २० र खत्रीले १४ बलमा अविजित १७ रन बनाए। जनकपुरका मोइन अलीले तीन तथा हरमित सिंह र सैफ हसनले समान दुई विकेट लिए।

पोखराका विपिन खत्रीले ब्याटिङ समस्या रहेको स्वीकार गरे। जनकपुरसँगको हारपछि पत्रकार सम्मेलनमा उनले ब्याटरहरूबीच राम्रो साझेदारी हुन नसक्नु र पावरप्लेमा विकेट गुमाउनु हारको प्रमुख कारण भएको बताए। ‘पावरप्लेमा रन राम्रो बनेको थियो। तर, अप्रत्याशित रूपमा विकेट गुम्दा समस्या भयो। ब्याटिङमा साझेदारी गर्न सकेनौं,’ विपिनले भने।

विदेशी खेलाडीबाट पनि अपेक्षाअनुसार प्रदर्शन हुन नसकेको उनको भनाइ थियो। बलिङमा भने टोलीले सन्तोषजनक प्रदर्शन गरेको उनले बताए।

सागर ढकालजस्ता खेलाडीको अभाव पनि टोलीले महसुस गरिरहेको विपिनको भनाइ थियो। पोखराको कमजोर ब्याटिङका बिच जनकपुरका युवा ओपनर तृतराज दास भने खेलका नायक बने। उनले ५५ बलमा सात चौका र दुई छक्कासहित ६१ रन बनाए।

जनकपुरले सुरुआती पावरप्लेमा विकेट नगुमाई ४५ रन जोड्यो। तृतराजले अलीसँग मिलेर टोलीलाई राम्रो सुरुआत दिलाएका थिए। मोइन २१ रनमा आउट भए। यसपछि जनकपुरको रन गति केही सुस्त बन्यो। सकिब अल हसनले सैफ हसन र कप्तान हरमित सिंहलाई पनि आउट गर्दै जनकपुरलाई दबाबमा राखे। तर, अर्को छेउमा टिकिरहेका तृतराजले धैर्यपूर्वक इनिङ अघि बढाए।

उनले अनिल साहसँग मिलेर स्कोर उकास्ने प्रयास गरे। १८औं ओभरमा मेहदी हसनको बलमा कुशल भुर्तेलले उत्कृष्ट डाइभिङ क्याच लिएपछि तृतराजको इनिङ समाप्त भयो। उनको विकेटपछि जनकपुरले अन्तिम पाँच ओभरमा ४८ रन जोड्दै सात विकेटको क्षतिमा १४७ रन बनाएको थियो। श्रीलंकन बलर चमिका करुनारत्नेले डेथ ओभरमा कसिलो बलिङ गर्दै दुई विकेट लिएर जनकपुरलाई ठूलो योगफल बनाउनबाट रोके।

पोखराका लागि सकिबले तीन तथा चमिकाले दुई विकेट लिए। मध्यम योगफल बनाए पनि जनकपुरका बलरले त्यसलाई पर्याप्त बनाए। तृतराज खेलको प्लेयर अफ दी म्याच घोषित भए। उनले मोइनजस्ता अन्तर्राष्ट्रिय खेलाडीसँगै खेल्न पाउनु आफ्ना लागि खुसीको क्षण भएको बताए।

‘मोइन अलीजस्तो खेलाडीसँग खेल्न पाउँछु भनेर कहिल्यै कल्पना गरेको थिइनँ। उहाँ साथमा हुँदा दबाब महसुस भएन,’ तृतराजले भने।

अघिल्ला दुई खेलमा राम्रो प्रदर्शन गर्न नसक्दा केही दबाबमा रहे पनि यस इनिङले आगामी खेलमा आत्मविश्वास बढाउने उनले बताए। जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो। त्यसपछि काठमान्डु गोर्खाजलाई हराएको जनकपुरले पोखराविरुद्धको जितसँगै लय समातेको छ। पहिलो सिजनको च्याम्पियन जनकपुर लयमा फर्कने संकेत गरेकोछ। पोखराले भने आफ्नो ब्याटिङ समस्याको समाधान खोज्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->