काठमाडौं / जर्मनीका ३४ सहरमा युवाहरूले विभिन्न माग राख्दै राष्ट्रव्यापी प्रदर्शन गरेका छन् । उनीहरूले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, बढ्दो महँगी नियन्त्रण, अनिवार्य सैन्य सेवाको प्रस्ताव खारेजी तथा सरकारी निगरानी विस्तारको विरोध गरेका छन् ।
जलवायु परिवर्तन र त्यसका कारण बढ्दै गएका प्राकृतिक प्रकोप नियन्त्रणका लागि पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
शनिबारको प्रदर्शन ‘जेनजी रेगेल्ट’ नामको सामाजिक सञ्जाल अभियानमार्फत आयोजना गरिएको हो, जसको अर्थ ‘जेनजीले सबै सम्हाल्नेछन्’ भन्ने हुन्छ । अभियानले बर्लिन, कोलोन, फ्रान्कफर्ट र म्युनिखमा मुख्य प्रदर्शन आयोजना गरेको थियो भने अन्य ३० सहरमा सम्बद्ध समूहहरू सडकमा उत्रिएका थिए ।
प्रदर्शनकारीहरूले आफ्ना मागको समर्थनमा शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् । फ्रान्समा भएका युवा प्रदर्शनमा हिंसा देखिएपछि जर्मनीको सत्तारूढ क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू)का नेताहरूले पनि त्यस्तै अवस्था दोहोरिन सक्ने आशंका व्यक्त गरेका छन् । यद्यपि, विपक्षी दलका सांसदहरूले प्रदर्शनलाई समर्थन गरेका छन् ।
ग्रिन पार्टीकी संसदीय दलकी नेत्री क्याथरीन द्रोएगेले समाचार एजेन्सी डीपीएलाई युवाहरूको आक्रोश जायज रहेको बताइन् । उनका अनुसार, संघीय सरकारले युवाका मागलाई गम्भीरतापूर्वक लिएको छैन ।
वामपन्थी पार्टीका नेता लुइजी पान्तिसानोले पनि प्रदर्शनको समय उपयुक्त रहेको बताए । सरकारले नर्सिङ सेवा र पेन्सन प्रणालीमा सुधारको तयारी गरिरहेका बेला युवाहरूको आवाज उठ्नु महत्त्वपूर्ण भएको उनको भनाइ थियो । उनले प्रस्तावित सुधारलाई ‘सामाजिक क्रूरता’ को संज्ञा दिए ।
यसैबीच, प्रदर्शन आयोजकहरूले सञ्चारमाध्यमले हिंसाको आशंका फैलाएर प्रदर्शनका मूल मागबाट ध्यान अन्यत्र मोडेको आरोप लगाएका छन् ।





