
नवलपुर / सरकारले भारतलगायतका छिमेकी मुलुकबाट मखमली र सयपत्री फूलको आयात र प्लास्टिकका फूल बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि स्वदेशी फूल उत्पादक किसान उत्साहित भएका छन् । यो सँगै नवलपुरमा सयपत्री फूल खेती गर्ने किसानको सङख्या पनि बढेको छ ।
तिहारमा बढी प्रयोग हुने सयपत्री फूल पछिल्लो समय विभिन्न कार्यक्रम, मेला तथा महोत्सवमा समेत प्रयोग हुन थालेपछि यसको व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएका हुन् । अघिल्लो वर्ष तिहारमा सयपत्री फूलको माग अत्यधिक बढे पनि किसानले मागअनुसार उपलब्ध गराउन सकेका थिएनन् ।
फूलको बिक्री बढेसँगै किसान पनि व्यावसायिक खेतीतर्फ आकर्षित भएका विष्णु कृषि तथा पशुपन्छी फार्म, कावासोतीका सञ्चालक बाबुराम केसीले बताए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष सयपत्री फूलको व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या तीन गुणाले बढेको छ ।
तिहार नजिकिँदै गर्दा पालिकाहरूले प्लास्टिकजन्य फूल तथा मालाको प्रयोगमा रोक लगाउन सूचना प्रकाशित गरेका छन् तर प्रभावकारी अनुगमन नहुँदा बजारमा प्लास्टिकका फूलमालाको बिक्री वितरणमा कमी आउन नसकेको किसानले बताएका छन् ।
वर्षभरि नै सयपत्री र मखमली फूल उपलब्ध गराउन सके भारतलगायतका अन्य मुलुकबाट आयात हुने प्लास्टिकका फूललाई निरुत्साहित गर्न सकिने केसीले बताए ।
जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिकामा किसानले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरिरहेका कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । तर ज्ञान केन्द्रमा फूल खेती गर्ने किसानको छुट्टै दर्ता अभिलेख भने छैन । फूल खेती गर्ने किसानको तथ्याङ्क स्थानीय तहले राख्नुपर्ने भए पनि किसान सम्पर्कमा नआउँदा पालिकाहरूले समेत यकिन विवरण उपलब्ध गराउन नसकेको ज्ञान केन्द्रका अधिकृत सञ्जय ढकालले बताउछन् ।
नवलपुरमा एक कट्ठादेखि एक बिघा (२० कट्ठा) क्षेत्रफलसम्ममा किसानले फूल खेती गर्दै आएको ज्ञान केन्द्रले जनाएको छ । कावासोती नगरपालिका–५ मा रहेको त्रिकन्या कृषि फार्मका सञ्चालक भेषबहादुर गाहाले विगत छ वर्षदेखि सयपत्री फूलको व्यावसायिक खेती गर्दै आएकाको बताए ।
गाहाका अनुसार भारतबाट फूल आयात नहुँदा नेपाली फूलले राम्रो बजार पाउने गरेको छ । तिहार लक्षित फूल थोक प्रतिकेजी ४५० र खुद्रा प्रतिकेजी पाँच सय रुपियाँसम्ममा बिक्री भइरहेको छ । उनले करिब नौ कट्ठा क्षेत्रफलमा फूल खेती गर्दै आएका छन् । आफ्नो खेतीमा कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको पनि उनले बताए ।
सात कट्ठामा सदावहार फूल खेती गर्दै आएका विष्णु फार्मका केसीले वार्षिक १० लाख फूलको कारोबार हुने र आठ लाख आम्दानी हुने गरेको जानकारी दिए। तिहार लक्षित फूलभन्दा बेमौसमी फूलले मुनाफा धेरै दिने गरेको छ ।
जिल्लामा रहेका फूल किसानलाई एकजुट गराई आवश्यक तालिम, मल, बिउमा अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउन सके जिल्लाभित्र मात्रै नभई अन्य जिल्लाको मागसमेत पूरा गर्न सकिने भुजेल कृषि फार्मका सञ्चालक सुरज भुजेलले बताए ।





