शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

सामूहिक सयपत्री खेतीले तनहुँका महिलामा बढायो विश्वास

सामूहिक सयपत्री खेतीले तनहुँका महिलामा बढायो विश्वास

स्थानीय उत्पादनको बजार विस्तार गर्न गाउँपालिकाले आफ्ना कार्यक्रम तथा चाडपर्वमा स्थानीय फूलको प्रयोग बढाउने नीति लिएको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८३, शुक्रबार
म्याग्दे गाउँपालिका-४,छिम्लीश्वाराका महिलाले गरेको सामूहिक खेतीमा सयपत्री टिप्दै महिलाहरु । तस्वीरः ढोरपाटन

दमौली / तिहार नजिकिँदै गर्दा तनहुँका व्यावसायिक फूल कृषकलाई उत्पादन बिक्री नहुने चिन्ताले पिरोलेको छ । उनीहरूमा मौसमी विपत्ले फूल बिगार्ने चिन्ता पनि थपिएको छ । चाडपर्वमा सयपत्री फूलको माग बढ्ने भए पनि किसानले उचित मूल्य पाउने निश्चित छैन ।

खेतबारीमा फूल उत्पादन गर्ने किसानले न्यून मूल्यमा बिक्री गर्नुपर्ने तर उपभोक्ताले बजारमा महँगोमा किन्नुपर्ने अवस्थाले उत्पादक र उपभोक्ताबिचको मूल्य अन्तर बढाएको छ । बजारसम्म किसानको पहुँच नहुँदा बिचका व्यापारीले बढी लाभ लिने अवस्था बनेको छ ।

तनहुँको म्याग्दे गाउँपालिका–४, छिम्लीश्वाराका महिलाले गरेको सामूहिक सयपत्री खेती यसको उदाहरण हो । चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध २३ महिलाले १६ रोपनीमा सयपत्री लगाएका छन् । किसानले प्रतिकिलो तीन सय रुपियाँमा बिक्री गर्ने फूल बजारमा आठ सयदेखि एक हजार रुपियाँसम्ममा बिक्री हुने गरेको समूहकी अध्यक्ष जितमाया रानाले बताईन् ।

रानाले भनिन्, “हामी मेहनतले फूल उत्पादन गर्छौं तर बिक्री गर्ने बेलामा उचित मूल्य पाउँदैनौँ ।” बजारमा फूलको माग बढ्ने समय भए पनि बिक्रीको सुनिश्चित नहुँदा किसानलाई लगानी नउठ्नेसमेत चिन्ता छ ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडा नं. ४, ५ र ६ का किसान तथा समूहलाई फूल खेतीका लागि सहयोग गरिएको बताए । स्थानीय उत्पादनको बजार विस्तार गर्न गाउँपालिकाले आफ्ना कार्यक्रम तथा चाडपर्वमा स्थानीय फूलको प्रयोग बढाउने नीति लिएको छ ।

गत वर्षदेखि व्यावसायिक रूपमा फूल खेती सुरु गरेका महिलाले गाउँपालिकाको अनुदान र कृषि प्राविधिकको परामर्शमा काम गर्दै आएका छन् । आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले गाउँपालिकाले स्थानीय किसानलाई व्यावसायिक फूल खेतीमा प्रोत्साहन गर्न गएको तीन वर्षदेखि ७० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बताए । पालिकाले फूल टिपेर चिस्यान केन्द्रमा राख्ने व्यवस्थासमेत गरिदिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->