शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३
  • १३ कार्तिक २०८३ , शुक्रबार
  • October 30 2026

मौसम फेरबदलको सूचनाले मुस्ताङबाट फर्किन थाले पर्यटक

मौसम फेरबदलको सूचनाले मुस्ताङबाट फर्किन थाले पर्यटक

प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले साहसिक पर्यटकीय पदमार्गमा रहेका पर्यटकलाई विभिन्न माध्यमबाट छिटो सुरक्षित स्थानमा आउन अनुरोध गरिएको बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०८३, बिहिबार

जोमसोम / चक्रवात ‘अर्णव’ को प्रभावले मुस्ताङमा वर्षा र हिमपात हुने पूर्वसूचनाका कारण मुस्ताङ प्रवेश गर्ने पर्यटक तथा तीर्थयात्रीको सङ्ख्या घट्न थालेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्णव’ को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेको सूचनासँगै सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने र पदयात्रामा रहेका पर्यटकले यात्रा छोट्याउन थालेका छन् ।

दसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको मुस्ताङमा प्रतिकूल मौसमको सूचनासँगै पोखरा–बेनी हुँदै मुस्ताङ प्रवेश गर्नेभन्दा फर्किनेको सङ्ख्या बढेको छ ।

जिल्ला प्रहरी कार्यालयको घाँसा चेकपोस्टको तथ्याङ्कअनुसार बुधबार सडक सञ्जालबाट दुई हजार ८३४ जना पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । सोही सडकमार्ग हुँदै तीन हजार ३१२ जना पर्यटक बाहिरिएका छन् ।

कुल ७७९ वटा सवारीसाधन प्रवेश गरेकोमा घाँसाबाट ७९९ वटा बाहिरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताए ।

प्रहरी निरीक्षक बस्यालले भने, “थोरङ्ला पासबाट पनि यात्रा छोट्याएर फर्किनेको सङ्ख्या बढेको छ । पदयात्रीलाई बिहीबार बेलुकीसम्म गन्तव्यमा पुगेर बस्न अनुरोध गरेका छौँ ।” घुम्न आएका पर्यटक मौसमसम्बन्धी सूचनाका कारण फर्किने क्रम बढेको हो।

पूर्वसूचनाका आधारमा गन्तव्यबाट फर्किने पर्यटकलाई बाटोमा मौसमसम्बन्धी जानकारी दिने गरिएको प्रहरी निरीक्षक बस्यालले बताए । मनाङबाट मुस्ताङ जोड्ने थोरङ्ला पास पाँच हजार ४०० मिटर उचाइमा रहेको र त्यहाँबाट ५३९ जना विदेशी पदयात्री मुस्ताङ प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी पर्शुराम पोख्रेलले साहसिक पर्यटकीय पदमार्गमा रहेका पर्यटकलाई विभिन्न माध्यमबाट छिटो सुरक्षित स्थानमा आउन अनुरोध गरिएको बताए ।

प्रजिअ पोख्रेलका अनुसार मुस्ताङ–मनाङ जोड्ने सरिबुङ पास, मोसोकुन्दो पास र मुस्ताङ–डोल्पा जोड्ने याकखर्कमा पर्यटक नभएको विवरण प्राप्त भएको छ । थोरङ्ला पास तथा म्याग्दी–मुस्ताङ जोड्ने धौलागिरि पदमार्गमा रहेका पर्यटकलाई भने पदमार्गबाट बस्तीमा आउन अनुरोध गरिएको छ ।

पछिल्लो समय मौसमी सूचनालाई पर्यटकले चासो दिन थालेपछि पदमार्गमा अलपत्र पर्ने पर्यटकको सङ्ख्या घटेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->