
काठमाडौं र प्रहरीले समाचारको स्रोत खोज्ने उद्देश्यले सञ्चार सञ्चारमाध्यमको कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको छ ।
नेपाल प्रेस डटकमका पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएर साइबर ब्युरो लगिएको छ भने नयाँ पत्रिकाको कार्यालयमा पत्रकारलाई नियन्त्रणमा लिन प्रहरी पुगेको थियो । दियोपोस्ट डटकममा पुगेको टोलीचाहिँ पत्रकारलाई फेला नपारेपछि फर्किएको छ ।
मोटिभेटन्यूज डटकमका सम्पादक शोभराज बराल पनि पक्राउ परेका छन् ।पक्राउ परेका पत्रकार सुवेदी कार्यरत् रहेको नेपाल प्रेस डटकमले ‘आईजीपी दानबहादुर कार्कीसँग सरकारले राजीनामा मागेको’ विवरणसहितको समाचार ११ कात्तिकमा प्रकाशित गरेको थियो ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले उनी माथि राजीनामाका लागि दबाब बढाएको भन्दै प्रकाशित समाचारमा उनलाई ‘राजीनामा नदिए पदबाट हटाउनुपर्ने हुनसक्छ’ भनिएको उल्लेख गरिएको थियो । सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धानको दायरामा रहेका इनम सापकोटासँग कार्कीको सम्पर्कलाई जोडेर राजीनामाको दबाब बढाइएको समाचारमा दाबी थियो ।
नयाँ पत्रिका दैनिकले चाहिँ इनम सापकोटासँग सर्वोच्च अदालतका न्यायायीश हरि फुयालको सम्पर्क रहेको ह्वाट्सएपको विवरण नै सार्वजनिक गरेको थियो । त्यस विवरणमा न्यायाधीश फुयालसँग ‘भोलि ७ बजेतिर होटल हिमालयमा भेटौं’ भन्दै सन्देश लेखेको भेटिएको थियो ।
त्यसअघि सापकोटाले ‘प्रधानमन्त्रीले गम्भीरतापूर्वक भनेको’ भन्दै एउटा निवेदन खारेज गरिदिन भनेका थिए । बैंकिङ कसुरका आरोपित रोहित गुप्ताको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइका लागि पेसी चढिसकेका बेला बिहान १०ः२३ बजे न्यायाधीश फुयाँललाई लेखेको ह्वाट्सएप सन्देशमा उनले ‘खारेज नै गरिदिनु होला है त हजुर’ भनेका थिए । पछि एकैपटक बेलुकी रिप्लाई गर्दै न्यायाधीश फुयालले भेट्ने भन्दै म्यासेज पठाएको पाइएको थियो ।
दियोपोस्ट डटकमलेचाहिँ प्रधानन्यायाधीश मनोज शर्मा र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद् विश्वराज पोखरेलको नामसमेत उल्लेखित कागज सार्वजनिक गरेको थियो । लेनदेनको विवरण दाबी गरिएको कागज सापकोटाको मोबाइल फोनबाट बरामद भएको थियो ।
कागजमा प्रहरी प्रधान कार्यालयमा भएको डिजिटल फरेन्सिक ल्याबको छापसमेत थियो । यो विवरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्मा र सांसद् पोखरेल दुवैले चाहिँ सापकोटासँग कुनै किमिसको सम्बन्ध नभएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।
मोटिभेट न्यूजले समेत आईजीपी कार्की र इनम सापकोटासँग सम्बन्धित भिडियो सामग्रीहरु प्रकाशित गरेको थियो ।





