
मनाङ / ‘अर्णव’ चक्रवातको प्रभावले मनाङको उच्च क्षेत्रमा हिमपात भएको छ । उच्च क्षेत्रमा हिमपात र तल्लो बस्तीमा वर्षा भएपछि जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
मौसम प्रतिकूल भएपछि पर्यटक र स्थानीयलाई सुरक्षित स्थानमै बस्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरिएको छ । माथिल्लो टङ्की मनाङ, खाङ्सार, तिलिचो बेस क्यापलगायतका क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् ।
शुक्रबार बिहानैदेखि तल्लो क्षेत्रमा पानी परिरहेको छ । प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले उच्च क्षेत्रमा हिउँ र तल्लो क्षेत्रमा वर्षा भएको जानकारी दिए । मौसम प्रतिकूल रहेकाले स्थानीय र पर्यटकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिएको उनले बताए ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार डाँडाकाँडासहित तिलिचो क्षेत्र र थोराङ्ला पासतर्फ गुन्साङ, याकखर्क र लेदर क्षेत्रभन्दा माथि हिमपात भएको छ ।
मौसमको अवस्था प्रतिकूल भएपछि माथिल्लो मनाङस्थित एक्याप कार्यालयले बिहीबारदेखि पर्यटकको प्रवेश रोकेको छ । बुधबार मात्रै ७० जना पर्यटकको प्रवेश दर्ता भएको थियो । पर्यटकलाई थोराङ पास हुँदै मुक्तिनाथ र मुस्ताङ जाने साथै तिलिचो तालतर्फ जाने अनुमति नदिइएको भुजेलले बताए ।
मनाङ भ्यालीमा मात्रै करिब चार सय पर्यटक रोकिएको अनुमान छ । “पर्यटक होल्ड हुँदा होटेलमा कोठा पाउन समस्या भएको छ । थप पर्यटक थपिएमा कोठा पाउन समस्या हुन्छ,” भुजेलले भने ।
प्रमुख जिल्ला अधिकारी खनालले पर्यटकलाई आफू बसेकै स्थानमा रहन आग्रह गरिएको बताए । होटेल बुकिङ वा अन्य कारणले अर्को स्थानमा जानुपर्ने अवस्था आए सम्बन्धित निकायसँग सम्पर्क गरेर मात्रै आवतजावत गर्न भनिएको छ ।
प्रशासनले मुस्ताङ प्रवेश गर्ने थोराङ्ला पास, गोरखातर्फको लार्के पास, नार्पाभूमिबाट मनाङ ङिस्याङतर्फको काङ्ला पास, तिलिचो ताल, हिमलुङ हिमाल, लमजुङ हिमालआसपासका पदयात्रा मार्ग र हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्रतिकूल मौसम र सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कात्तिक १२ देखि १५ गतेसम्म लमजुङदेखि मनाङ जाने सवारीसाधानलाई रात्रिकालीन आवतजावतमा रोक लगाएको छ ।





