शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पर्वतमा बालबालिकाबीच पञ्चेबाजा प्रतियोगिता

पर्वतमा बालबालिकाबीच पञ्चेबाजा प्रतियोगिता


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १४ २०८३, शनिबार

पर्वत/बालबालिकाहरूलाई पाठ्यपुस्तकमा मात्रै सीमित नगरेर अन्तर्निहित क्षमताको विकास गर्नका लागि पर्वतमा बालबालिकाहरूबिच पञ्चेबाजा प्रतियोगिता आयोजना हुने भएको छ ।

एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा विश्व बाल दिवसको अवसर पारेर आउँदो मङ्सिर चार गतेका दिन प्रतियोगिताको आयोजना गरिएको हो । कार्यालय प्रमुख जीवन पौडेलका अनुसार गायन तथा बाजाको संगीतमार्फत् बाल अधिकार र प्रतिभा प्रस्फुटन गर्नको लागि बालबालिका समूहको जिल्ला स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । कक्षा १ देखि १२ सम्म अध्ययनरत बालबालिकाहरू सहभागी हुन पाउने उक्त प्रतियोगितामा एक टोलीमा नृत्य बाहेक बढीमा नौ जना सहभागी हुन पाउने छन् ।

प्रतियोगितामा भाग इच्छुक बालबालिकाहरूले विद्यालय, टोल, बाल क्लब वा पालिका स्तरमा समेत समूह निर्माण गर्न सक्नेछन् । एउटा स्थानीय तहबाट बढीमा दुई वटा टोली समावेश गरेर जिल्लाका सात वटा स्थानीय तहका बढीमा १४ वटा समूहबिच प्रतियोगिता हुने कार्यालय प्रमुख पौडेलले बताए ।

पञ्चेबाजाको तालमा गाइने गीतका शब्दहरू बाल अधिकार सम्बन्धी हुनुपर्ने, बाजामा नृत्य गर्नेहरू मौलिक बाजाको परम्परा झल्किने मौलिक भेषभुषामा तथा बाजा बजाउने विद्यार्थीहरू भने विद्यालयको पोशाकमा सहभागी हुनुपर्ने छ ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थानमा आउने समूहले पुरस्कार स्वरूप क्रमशः १५ हजार, १० हजार, सात हजार र चार हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउनेछन् । यस्तै सहभागीहरूमध्येबाट दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई बजाउनेलाई उत्कृष्ट छनोट गरी पुरस्कार र प्रमाणपत्र प्रदान गरिने कार्यालय प्रमुख पौडेलले बताए ।

धेरै प्रतियोगिताहरू बजार र तथा सहज ठाउँमा केन्द्रित बन्दा दूर दराजमा रहेका बालबालिकामा रहेका कला बाहिर आउने मौका कम हुने भएकोले ग्रामीण क्षेत्रका बालबालिकाहरूको समेत उल्लेख्य सहभागिता रहने गरी प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । प्रायः प्रतियोगिताहरू पाठ्यपुस्तक केन्द्रित हुँदा अध्ययनमा अब्बल रहेका बालबालिकाहरू मात्रै सहभागी हुने तथा उनीहरूले नै जित्ने मौका पाउने गरेका छन् । तर पाठ्यपुस्तक बाहेकको प्रतिभा बाहिर ल्याउन खेलकुद सहित यस्तै खालका प्रतियोगिताहरू महत्त्वपूर्ण हुने पौडेल बताउँछन् ।

‘बालबालिकाका लागि पञ्चेबाजा प्रतियोगिताको आयोजना भएको कम नै पाइन्छ । तर उनीहरू हाम्रा कला र संस्कृतिका संरक्षक हुन् । बाल उमेरमा नै उनीहरूले कला सिक्ने र यसका बारेमा थाहा पाउन सके दीर्घकालसम्म स्मरणमा रहन्छ’, उनले भने, ‘कलाको पुस्तान्तरणको लागि यो प्रतियोगिताले केही न केही सहयोग गर्ने छ । यो प्रतियोगितामा विद्यार्थीहरूले राम्रो प्रस्तुति दिँदा उनीहरूको व्यावसायिक माग समेत बढ्न सक्छ । फुर्सदको समयमा त उनीहरू आम्दानीमा पनि जुट्न पाउने अवसर हुन्छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->