१२ वर्षअघि रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी’ प्रदर्शन हुँदा दर्शकहरूले मौलिक स्वाद पाएका थिए । बासी कथाहरूको थुप्रो मात्र बढिरहेको बेला आदिवासी सौन्दर्यचेतसहित आएको यो फिल्मले यहाँ भएका नयाँ कथालाई दर्शकले अनुमोदन गर्छन् कुरा प्रमाणित गरेको थियो ।
‘कबड्डी’ शृंखलाले बदलिँदो समयसँगै यात्रा गरिरह्यो । मुस्ताङको एउटा गाउँबाट वीरकाजीको असफल प्रेमको कथा भनिरह्यो । चार वर्षअघि ‘फाइनल म्याच’ गराएर फर्किएका निर्देशक रामबाबु फेरि मुस्ताङ फर्किएलान् भन्ने कुरा सन्देहकै विषय थियो । किनकि वीरकाजीको असफल प्रेम जीवनमा नयाँ बहार ल्याएरै फिल्मको पूर्णविराम लागेको थियो ।
यद्यपि, पूर्णविरामले कथालाई बिट मारेन ।
चार वर्षपछि पुन: ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ लिएर रामबाबुले वीरकाजीको कथालाई निरन्तरता दिए । तर कुनै समय बासी कथा र परम्परागत वाचनशैली ब्रेक गरेर अलग स्वाद भित्र्याएको ‘कबड्डी’ पाँचौं शृंखलासम्म आइपुग्दा स्वयम् भने उस्तै स्वादमा रुमलिरह्यो । रामबाबुको सिग्नेचर फिल्म मानिने ‘कबड्डी’ जतिजति तन्किँदै गयो, उतिउति कमजोर बन्दै गएको छ । हिजो ‘कबड्डी’ आउँदा जे कुरा नयाँ लाग्थे, आज पनि तिनै कुराको पुनरावृत्ति भइरहँदा ‘कबड्डी ५’ अपेक्षा गरेअनुरुपको स्वादिलो हुन सकेको छैन ।
तर पनि हलसम्म दर्शकलाई बाँधेर राख्ने सामर्थ्यचाहिँ फिल्मले गुमाएको छैन । त्यो सामर्थ्य के थियो, यहाँबाट सुरु गरौँ ।
फिल्ममा ‘कबड्डी २’पछि नदेखिएकी मैयाँ यसपटक मुस्ताङ फर्किएकी छ । वीरकाजीको बिहे हुनु र त्यही दिन मैयाँलाई देख्नु, कथा अगाडि बढ्नका लागि बलियो द्वन्द्व हो । वीरकाजी होटल व्यवसाय गर्न चाहन्छ, तर उसलाई ऋण निकाल्न जग्गाको दृष्टिबन्धक गर्नुपर्ने हुन्छ । उसको बाले विवाह नगरे दृष्टिबन्धक नगर्ने अडान राख्छ । त्यही सर्तका लागि वीकारजीले बिहे गर्नु र बिहेकै दिन मैयाँ भेटिनु ।
वीरकाजीको जीवनमा आएको यो विराधाभासले कस्तो रुप लिन्छ ? यो कौतूहल जन्माएर फिल्म अगाडि बढ्छ ।
यसपटक बदलिँदो मुस्ताङको स्वरुप पनि फिल्ममा देखिएको छ । त्यतिबेला मोटरबाटो नभएको गाउँलाई सहरको हावाले आजकल छुन थालेको छ । फिल्ममा सबैभन्दा धेरै त वीरकाजी बदलिएको छ । ऊ उमेरसँगै परिपक्व देखिन्छ । कुनै समय प्रेमलाई प्राप्तिको आँखाले हेर्ने वीरकाजीले यसपटक सम्बन्धको गहिराइ बुझेको छ । ऊ प्राप्तिको लोभबाट बाहिर निस्किएर सम्बन्ध निर्वाह गर्न बढी उद्यत देखिन्छ । भित्र प्रेम र करुणाले भरिए पनि बाहिर ऊ आफूलाई कठोरजसरी व्यक्त गर्न खोज्छ । ऊभित्रको मानिसलाई स्पर्श गर्न पाउँदा भने दर्शक भावनात्मक हुन्छन् ।







