आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अर्थमन्त्री वाग्लले भारतमा दिएको अभिव्यक्तिले नेपाली राजनीति तरंगित, आखिर के भनेका थिए ?

अर्थमन्त्री वाग्लले भारतमा दिएको अभिव्यक्तिले नेपाली राजनीति तरंगित, आखिर के भनेका थिए ?

भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको भन्ने अभिव्यक्तिले नेपालको राजनीति गर्माएको छ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ८ २०८३, आइतबार

काठमाडौं / अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको भन्दै दिल्लीमा दिएको अभिव्यक्ति विवादमा छ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापा र एमाले नेता गोकुल बाँस्कोटाले वाग्लेको अभिव्यक्तिको आलोचना गरेका छन् भने राजनीतिक विश्लेषकहरूले पनि प्रश्न उठाएका छन्। भारतसँगको सम्बन्ध सुदृढ बनाउने सरकारी नीतिको बचाउमा आएको वाग्लेको अभिव्यक्तिले राष्ट्रियता र राष्ट्रिय हितको बहस चर्काएको छ।

यही बीचमा रास्वपा सभापति रवि लामिछाने पनि व्यक्तिगत धार्मिक भ्रमणका लागि भारत पुगेपछि उनको भ्रमणलाई लिएर समेत राजनीतिक वृत्तमा चासो बढेको छ। अर्थमन्त्री वाग्लेले भारतको एक कार्यक्रममा नेपालमा भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएका थिए।

तीनदिने दिल्ली भ्रमणमा गएका अर्थमन्त्री एनडीटीभी वल्र्ड समिट २०२६ मा बोल्दै नेपाल र भारतबीचको सम्बन्ध निकै गहिरो रहेको बताएका थिए। उनले नयाँ सरकारले भारतसँगको सम्बन्धलाई थप सुदृढ र नयाँ उचाइमा पु¥याउन चाहेको बताएका थिए।

उनले भनेका थिए– ‘भारत र नेपालबीचको सम्बन्ध निकै गहिरो छ। कहिलेकाहीँ समस्या आउँछन्, तर हामी एकअर्कासँग दृढ रूपमा जोडिएका छौं। नेपाल र भारतबीचको जस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशसँग नेपालको छैन, कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो। तर, त्यो युग अब सकिएको छ।’

अर्थमन्त्री वाग्लेले नेपाल र भारतबिच भौगोलिक निकटता मात्रै नभई गहिरो सांस्कृतिक सम्बन्धसमेत रहेको बताएका थिए। नेपालको नयाँ नेतृत्व भारतसँगको सम्बन्ध थप बलियो बनाउन चाहेको उनले बताएका थिए। तर उनको भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग समाप्त भएको भन्ने अभिव्यक्तिले नेपालको राजनीति गर्माएको छ।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियताको अवमूल्यन भएको टिप्पणी गर्दै सरकारको आधिकारिक धारणा माग गरेका छन्।

उनले भनेका छन्, ‘के सरकारको धारणा यही हो ?’ राप्रपा नेतासमेत रहेका थापाले वाग्लेको अभिव्यक्तिलाई ‘आपत्तिजनक’ र ‘नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन’ को संज्ञा दिए। नेपालले भारतसँग समानता र सम्मानमा आधारित सम्बन्ध चाहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितका मुद्दामा आवाज उठाउनुलाई भारतविरोधी राष्ट्रवादका रूपमा व्याख्या गर्न नहुने बताए।

‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुक विशेषको विरोधमा टिकेको छैन,’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विदेशी मञ्चमा पुगेर भारतविरोधी राष्ट्रवादको युग सकियो भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।’

उनले सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिङ्गो मुलुकको राष्ट्रिय भावनालाई संकुुचित रूपमा बुझ्नु पूर्वाग्रह भएको टिप्पणी गरे। नेपालको राष्ट्रियता सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनको तर्क छ। थापाले भनेका छन्, ‘हामी भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहन्छौं, तर सीमा मिचिनु, डुबान हुनु वा नाकाबन्दीजस्ता ज्यादतीविरुद्ध बोल्नु भारतविरोध होइन, राष्ट्रप्रतिको अविभाज्य निष्ठा हो।’

थापाले राष्ट्रिय हितका पक्षमा उठ्ने आवाज असान्दर्भिक भइसकेका हुन् कि होइनन् भन्दै वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। उनले वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग पनि उक्त अभिव्यक्तिलाई जोडेर प्रश्न गरेका छन्।

‘वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’कै उपज त होइन ? ’ थापाले प्रश्न गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका विषयमा स्पष्ट धारणा राख्नुपर्ने उनले बताए।

एमाले नेता गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि कडा प्रहार गर्दै भारत भ्रमणका क्रममा डा. वाग्लेले नेपाली राष्ट्रवाद र नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।

एमाले नेता बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै वाग्लेको अभिव्यक्तिलाई ‘बौद्धिक ज्ञानको टाट पल्टाई’ को संज्ञा दिएका छन्। उनले स्टाटसमा लेखेका छन्, ‘अर्थमन्त्री वाग्ले जब भारत पुग्छन् तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्। नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो– त्यो अब रहेन भन्ने भाष्य नै राष्ट्रवाद र राष्ट्रिय हितसम्बन्धी राजनीतिक, कूटनीतिक, ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाट पल्टाइ हो।’

अर्कोतिर अर्थमन्त्रीले भारतमा सीमा विवादको विषय नउठाएको भन्दै आलोचना पनि भइरहेको छ। ‘भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भनेर कसले भनेको छ ?’ सीमा अभियान्ता रतन भण्डारीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको पक्षमा उठ्ने आवाजलाई अवमूल्यन नगर्न आग्रह गरेका छन्।

अर्थमन्त्री वाग्लेले भारतविरोधी भावनासँग जोडिएको राष्ट्रवादको युग सकिएको बताएपछि भण्डारीले त्यसको प्रतिवाद गरेका छन्। उनले राष्ट्रवादलाई भारतविरोधी भावनाका रूपमा व्याख्या गर्नु गलत भएको टिप्पणी गर्दै नेपालमाथि हुने अन्याय, सीमा अतिक्रमण र हस्तक्षेपविरुद्धको आवाजलाई राष्ट्रवादको संकीर्ण परिभाषाका रूपमा लिन नहुने बताए। ‘मनरो डक्ट्रिनवादी अर्थमन्त्री वाग्लेजी फेरि दिल्ली पुगेर भारतको विरोधलाई राष्ट्रवाद मान्ने समय सकियो भन्नुभएछ। वाग्लेजी, एउटा गम्भीर प्रश्न छ, भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भनेर कसले भनेको छ ?’ भण्डारीले प्रश्न गरेका छन्।

उनले राष्ट्रवादको गलत व्याख्या गरेर नेपालको राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको पक्षमा उठ्ने आवाजलाई अवमूल्यन नगर्न वाग्लेलाई आग्रह गरेका छन्। नेपालको अहितमा कुनै पनि मुलुकबाट हुने थिचोमिचो, बलमिच्याइँ, हैकम, दादागिरी, हस्तक्षेप, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाको विरोध गर्नु राष्ट्रवादको संकीर्ण परिभाषा नभई राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारको रक्षा भएको उनको भनाइ छ।

‘यो कुनै देशप्रतिको शत्रुता होइन, अन्यायपूर्ण व्यवहार र प्रभुत्ववादी प्रवृत्तिविरुद्धको आवाज हो। देशको विरोध र देशका शासकहरूको गलत नीतिको विरोधबीचको भिन्नता बुझ्नु आवश्यक छ,’ भण्डारीले भनेका छन्। उनले आफ्नो टिप्पणी भारत वा भारतीय जनताविरुद्ध लक्षित नभएको पनि स्पष्ट पारेका छन्।

नेपालमाथि भारतीय शासकहरूले अवलम्बन गर्ने अन्यायपूर्ण नीति, हैकमवादी रवैया, बलमिच्याइँ, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाविरुद्ध आफूले आवाज उठाएको उनको तर्क छ। ‘फेरि स्पष्ट पारौं, यो भारत देशको विरोध होइन।

भारतीय जनताको विरोध पनि होइन। यो नेपालमाथि भारतीय शासकहरूले अवलम्बन गर्ने अन्यायपूर्ण नीति, हैकमवादी रवैया, बलमिच्याइँ, सीमा अतिक्रमण र नदीनालामाथिको कब्जाविरुद्धको आवाज हो,’ उनले भनेका छन्। भण्डारीले मित्रता र कूटनीतिक सम्बन्धको नाममा राष्ट्रिय हितमा सम्झौता गर्न नहुनेमा जोड दिएका छन्। ‘मित्रता भनेको अन्याय सहनु होइन, र कूटनीति भनेको राष्ट्रिय हितमा सम्झौता गर्नु होइन,’ उनले भनेका छन्।

नेपालले सीमा अतिक्रमण, अनुचित हस्तक्षेप र प्रभुत्ववादी व्यवहारबाट उन्मुक्ति नपाएसम्म राष्ट्रिय स्वाभिमान र सार्वभौम अधिकारका पक्षमा आवाज उठिरहने भण्डारीको भनाइ छ। ‘व्यक्ति र पद परिवर्तन हुन सक्छन्, सरकारहरू आउन र जान सक्छन्, तर नेपालको सार्वभौम अधिकार र राष्ट्रिय स्वाभिमानको पक्षमा उठ्ने आवाज निरन्तर उठिरहनेछ,’ उनले भनेका छन्।

राजनीतिक विश्लेषक डम्बर खतिवडाले पनि व्यंग्यात्मक रूपमा आलोचना गरेका छन्। उनले भनेका छन्, ‘स्वर्णिमजीले ठीकै भन्नुभएको हो, भारतविरोधी राष्ट्रवादको युग समाप्त भयो। तर, प्रधानमन्त्री बालेन शाहका चुनावअघिका ‘फक यु’वाला स्टाटस, ग्रेटर नेपालको नक्सा, चुच्चे नक्साको जमिन फिर्ता गर्ने वाचा के हुन्छ ? कि ती सबै चुनाव जित्ने हत्कण्डा मात्रै थिए ? यसको उत्तरबिनाको सस्तो चाकरी कसले पत्याउला वाग्लेजी ?’

सरकारले वाग्लेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन तर रास्वपाले भने यो भ्रमण उपलब्धिपूर्ण रहेको बताएको छ। गत बिहीबार भारत गएका अर्थमन्त्री वाग्ले तीन दिने भ्रमण सकेर फर्किसकेका छन्। अर्थमन्त्रीको यो भ्रमणलाई प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारीका रूपमा पनि हेरिएको छ। प्रधानमन्त्री बालेनको मंसिरको दोस्रो साता भारत भ्रमण हुने सम्भावना छ।

रवि पनि भारतमै

रास्वपा सभापति रवि लामिछाने पनि भारतमै छन्। उनले आफ्नो भारत भ्रमण व्यक्तिगत भएको बताएका छन्। लामिछाने शुक्रबार भारत प्रस्थान गरेका हुन्। उनले यो भ्रमणलाई राजनीतिसँग नजोड्न आग्रह गरेका छन्। तर, अर्थमन्त्री भारतमै रहेको बेला रवि पनि भारत पुगेको विषय चर्चामा आएको छ।

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैंचीधाम जाने भाकल गरेकाले सोही पूरा गर्न जान लागेको उनको तर्क छ। ‘व्यक्तिगत भ्रमणमा छु। पहिलेदेखि जाने भाकल पनि थियो। धार्मिक आस्था–विश्वास, मेरो परिवार पनि आध्यात्मिक भएकाले पहिलेदेखि जाउँला भन्ने थियो। म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौं भन्ने हो,’ उनले भनेका छन्, ‘राजनीतिक भेटघाट केही छैन।’

एमालेका नेता सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणका विषयमा कटाक्ष गरेका छन्। उनले भनेका छन्, ‘आराध्यदेव पशुपतिनाथसहित ३३ कोटि देवीदेवताको पूजाआराधनाले नपुगेपछि भाकल चढाउन कैंचीधाम तीर्थाटन-आशीर्वाद लिई डिप्रेसनबाट मुक्त हुन नयाँ जुक्ति खोजेको हो ?’

उनी पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पत्नी निकिता पौडेलसहित भारत निस्किएका छन्। भारतको उत्तराखण्ड, नैनीतालस्थित कैंचीधाम र असमको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->