बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

प्रदेश अस्पताल पर्वतलाई जलजलाले उपलब्ध गरायो एम्बुलेन्स

प्रदेश अस्पताल पर्वतलाई जलजलाले उपलब्ध गरायो एम्बुलेन्स


  • ढाेरपाटन संवाददाता
  • कार्तिक ११ २०८३, बुधबार

पर्वत/प्रदेश अस्पताल पर्वतमा स्वास्थ्य सेवा प्रवाहलाई सहज बनाउन जलजला गाउँपालिकाले अस्थायी रूपमा एम्बुलेन्स उपलब्ध गराएको छ ।

अस्पतालको आफ्नै एम्बुलेन्स जीर्ण अवस्थामा रहेपछि सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको र बिरामीको चाप बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले केही समयका लागि एम्बुलेन्स उपलब्ध गराएको हो । जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले अस्पताल सञ्चालक समितिका अध्यक्ष याम परियार (शिव) र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय प्रदेश अस्पताल पर्वतमा दैनिक पाँच सयभन्दा बढी बिरामीले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिने गरेका छन् । केही वर्षअघि दैनिक ९० देखि एक सय जनासम्म बिरामी आउने गरेको अस्पतालमा अहिले सेवाग्राहीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । बिरामीको चाप बढेसँगै अस्पतालमा आवश्यक स्रोतसाधन र उपकरणको माग पनि बढ्दै गएको छ ।

विशेष गरी पर्वत जिल्लामा हुने साना–ठुला सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक घटनामा परेका बिरामीलाई प्रारम्भिक उपचारका लागि प्रदेश अस्पतालमा ल्याउने गरिन्छ । यस्तो अवस्थामा एम्बुलेन्सजस्तो अत्यावश्यक साधनको अभावले स्वास्थ्य सेवा प्रवाहमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको हो ।

एम्बुलेन्स हस्तान्तरण गर्दै जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले प्रदेश अस्पताल जिल्लाकै महत्त्वपूर्ण स्वास्थ्य संस्था भएकाले यसको सेवा प्रवाहलाई सहज बनाउन स्थानीय तहले सहयोग गर्नुपर्ने बताए । ‘पर्वतमा हुने साना–ठुला दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक अवस्थामा बिरामीलाई सुरुमा नै प्रदेश अस्पतालमा ल्याउने गरिएको छ’ उनले भने, ‘अस्पतालको एम्बुलेन्स जीर्ण अवस्थामा रहेका कारण सेवा प्रवाहमा कठिनाइ नहोस् र बिरामीले समयमै उपचार पाउन सकुन् भन्ने उद्देश्यले हामीले केही समयका लागि एम्बुलेन्स उपलब्ध गराएका हौँ ।’

उनले अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै गएको अवस्थामा आवश्यक स्रोतसाधनको व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै गाउँपालिकाको सहयोगले अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र व्यवस्थित बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे ।

जलजला गाउँपालिकाले उपलब्ध गराएको एम्बुलेन्सबाट अस्पतालमा आउने आकस्मिक अवस्थाका बिरामीको उपचार व्यवस्थापनमा सहयोग पुग्ने छ । जिल्लाको स्वास्थ्य सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य संस्थाबिचको सहकार्य महत्त्वपूर्ण हुने अस्पतालका अध्यक्ष परियारले बताए । स्थानीय तहहरूबाट सहयोग हुने ओ भने अस्पतालको सेवा र सुविधा अझै प्रभावकारी बनाउन सकिने उनको भनाइ छ । जसमा जलजला गाउँपालिकाले गरेको सहयोग महत्त्वपूर्ण रहेको परियार बताउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->