दसैंलाई बिदा गरे पनि चाडबाड अझै बाँकी छन् । चाडबाडसँगै बिदा पनि बाँकी हुने नै भए । बिदा भनेको परिवारसँग समय बिताउने,लेखपढ गर्ने,नयाँ ठाउँ घुम्ने अवसर हो । यो अवसरसदुपयोग गर्ने मामिलामा नेपालीहरू कम्ता छैनन् । नेपालीको आनीबानी र खानपान बदलिएको छ । सूचना प्रविधिले ल्याएको परिवर्तनसँगै सँगै नेपालीले नयाँ गन्तव्य एवं घुमफिरप्रति चासो देखाउन थालेका छन् । बिदाको समयलाई मनोरञ्जनमा मात्रै सीमित नराखेर घुमघामलाई पनि उत्तिकै प्राथमिकता दिइरहेका छन् । यो वर्षको दसैंकोको छेकोमा पोखरासहित देशका प्रमुख पर्यटकीय गन्तव्य तथा धार्मिक केन्द्रमा देखिएको भीडले पनि त्यसको पुष्टि गर्छ । अन्नपूर्ण चक्रीय पदयात्रा मार्गमा पनि यो वर्ष उत्तिकै नेपालीले फेरो मारे । विभिन्न देशका ५ हजार ३८४ जना पर्यटकले यो पदयात्रा मार्गको फेरो लगाउँदा नेपालीको संख्या पनि कम देखिएन ।
हातेफोनमा देखिने सुन्दर दृष्यले लोभ्याएर आन्तरिक तीर्थाटनमा निस्कने नेपालीको संख्या बढ्दो छ । सरकारले कर्मचारीलाई भ्रमणका निम्ति प्रोत्साहित गर्दा पनि घुम्ने संस्कृतिको बढावा भएको छ । यातायातको सहज पहुँच भएकापोखरा,चितवन,मुस्ताङ,रारा,लुम्बिनीजस्ता गन्तव्य खचाखच हुँदा पर्यटन व्यवसायीले प्रत्यक्ष लाभ पाए भने देशको अर्थतन्त्र चलायमान बन्यो । धार्मिक पर्यटनबाट पनि उत्तिकै लाभ प्राप्त भयो । नेपालीमा विकास भएको घुम्ने संस्कृति र उनीहरुले गर्ने खर्चका कारण अहिले पर्यटक भनेका विदेशीमात्रै हुन् भन्ने मान्यता विस्थापित भएको छ । नेपालीले पनि यहाँको पर्यटन उद्योगमा योगदान गर्न सक्छन् र आन्तरिक पर्यटन प्रवद्र्धन जरुरी छ भन्नेकुरा सरकार र सरोकारवाला निकायहरुले महसुस गरेका छन् । विश्वकै सबैभन्दा ठूलो उद्योगका रुपमा स्थापित भएको पर्यटनबाट नेपाल जस्तो प्राकृतिक सौन्दर्य, विविधतापूर्ण र भूपरिवेष्ठित देशले लाभ लिनै पर्छ । कृषि र ठूला उद्योगको तत्काल सम्भावना कम देखिएका बेला पर्यटन र यससँग सम्बन्धित गतिविधिबाट नेपालको अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।
तर,आन्तरिक पर्यटकको संख्या बढिरहँदा उनीहरुको आनीबानीप्रति टीकाटिप्पणी पनि भइरहेको छ । होहल्ला गर्ने,पदयात्रा मार्गमा जथाभावी फोहर फाल्ने,मदिरा सेवन गरी अरु पर्यटकको निदहराम गरिदिने,आस्थाका केन्द्रहरुमा पुगेर अवाञ्छित गतिविधि गर्ने काममा बढोत्तरी भएको गुनासा पनि उत्तिकै आइरहेका छन् । सामाजिक सञ्जालमा देखिने फोटो र भिडियोहरुले पनि आस्थाका केन्द्र तथा पर्यटकी गन्तव्यमा अवाञ्छित गतिविधि हुने गरेको पुष्टि गरेको छ । आन्तरिक पर्यटन फस्टाउँदै गर्दा यी गतिविधिमाथि नियन्त्रण जरुरी देखिएको छ । भ्रमण भनेको मनोरञ्जनको निम्तिमात्र नभएर नयाँ कुरा सिक्ने र अनुभूति लिने उद्देश्यका निम्ति हुनुपर्छ/गरिनुपर्छ । आफूले मनोरञ्जन लिइरहँदा अर्कालाई असर नपरोस्,प्राकृतिक संरचना एवं आस्थाका धरोहरहरुमा हानी नपुगोस् भन्नेमा पनि उत्तिकै ध्यान दिनुपर्छ । भ्रमण भनेको घुम्ने, सामाजिक सञ्जालमा राख्नका निम्ति फोटो र भिडियो बनाउनका निम्तिमात्र होइन, नयाँ कुरा सिक्नका निम्ति हो भन्ने महसुस गर्नुपर्छ ।





