महाभारतको युद्धभूमि कुरुक्षेत्रमा कौरव र पाण्डवका सेना आमनेसामने उभिएका थिए । युद्ध सुरु हुनै लाग्दा अर्जुनले विपक्षी सेनामा आफ्नै गुरु, आफन्त र बन्धुबान्धवलाई देखे । आफ्नै मानिसविरुद्ध हतियार उठाउनुपर्ने भएपछि उनको मन विचलित भयो । हातमा रहेको गाण्डीव धनुष खस्यो । युद्ध गरेर प्राप्त हुने राज्यको के अर्थ, यदि त्यसका लागि आफ्नै प्रियजनको रगत बगाउनुपर्छ भने ? कर्तव्य र करुणाबीचको द्वन्द्वले अर्जुनलाई अन्योलमा पा¥यो ?
त्यही बेला भगवान् श्रीकृष्णले उनलाई जीवन, कर्म, कर्तव्य र धर्मको महत्व बुझाए । श्रीमद्भगवद्गीताको सन्देश केवल अर्जुनलाई युद्धका लागि तयार पार्ने शिक्षा थिएन । त्यो कठिन परिस्थितिमा मोह र आवेगभन्दा माथि उठेर विवेकपूर्ण निर्णय कसरी लिने भन्ने जीवनदर्शन पनि थियो ।
रामायणमा रामको वनवास, भरतको त्याग र रावणको पतनले पनि नेतृत्वका फरक रूप देखाउँछन् । रामले व्यक्तिगत सुखभन्दा कर्तव्य र मर्यादालाई महत्व दिए । भरतले सजिलै प्राप्त हुन सक्ने राजसिंहासनलाई आफ्नो अधिकार ठानेनन् । रावण भने ज्ञान, शक्ति र वैभव हुँदाहुँदै पनि अहङ्कार र अनियन्त्रित इच्छाका कारण विनाशको बाटोमा पुग्यो ।
यी प्रसङ्ग प्राचीन ग्रन्थमा सीमित कथा मात्र होइनन् । आजको राजनीति, समाज र राष्ट्र सञ्चालनका लागि पनि यिनले महत्वपूर्ण शिक्षा दिन्छन् । हाम्रो देशले कस्तो नेतृत्व खोजिरहेको छ ? नेतृत्वमा पुग्ने व्यक्तिमा कस्ता गुण हुनुपर्छ ? सत्ता प्राप्त गरेपछि उसले जनताप्रतिको जिम्मेवारी कसरी पूरा गर्नुपर्छ । यी प्रश्न आज झन् सान्दर्भिक बनेका छन् ।
विकासको अर्थ भवन र सडक मात्र होइन
समाज विकासको चर्चा गर्दा हामी प्रायः सडक, पुल, विमानस्थल, भवन र ठूला आयोजनाको कुरा गर्छौं । भौतिक पूर्वाधार विकासका आवश्यक आधार हुन्, तर यिनले मात्र समुन्नत समाजको निर्माण गर्दैनन् । सडक बने पनि नागरिकले रोजगारी पाएनन्, अस्पताल बने पनि उपचार गर्न सकेनन्, विद्यालय खुले पनि गुणस्तरीय शिक्षा प्राप्त भएन भने विकासको उद्देश्य अधुरै रहन्छ ।
वास्तविक विकास भनेको नागरिकको जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउनु हो । गरिब परिवारका छोराछोरीले पनि गुणस्तरीय शिक्षा पाउन सकून्, बिरामीले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस्, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाओस् र युवाले स्वदेशमै आफ्नो भविष्य बनाउन सकून् । जात, भाषा, धर्म, लिङ्ग वा भूगोलका आधारमा कसैले अपमान र विभेद सहनु नपरोस् ।
न्याय, समान अवसर, स्वच्छ वातावरण, नागरिक स्वतन्त्रता र सार्वजनिक संस्थाप्रतिको विश्वास पनि विकासका महत्वपूर्ण आधार हुन् । राष्ट्रको सफलता सरकारले कति योजना घोषणा ग¥यो भन्नेबाट मात्र होइन, ती योजनाले जनताको जीवनमा कति सकारात्मक परिवर्तन ल्याए भन्नेबाट मापन गरिनुपर्छ ।
यस्तो विकासका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । तर सक्षम हुनु भनेको बोल्न जान्नु, भीड जम्मा गर्नु वा चुनाव जित्नु मात्र होइन । नेतृत्वमा इमानदारी, दूरदृष्टि, निर्णय क्षमता, मानवीय संवेदना र जनताप्रतिको उत्तरदायित्व पनि हुनुपर्छ ।
गीताले सिकाएको नेतृत्वको बाटो
श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्मको महत्व बुझाउँदै भनेका छन्, “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।” यसको सामान्य आशय मानिसले आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नुपर्छ र फलप्रतिको अनावश्यक मोहमा बाँधिनु हुँदैन भन्ने हो ।
नेतृत्वको सन्दर्भमा यो शिक्षा निकै महत्वपूर्ण छ । सार्वजनिक पदमा पुगेको व्यक्तिले आफ्नो व्यक्तिगत लाभ, पदको निरन्तरता र राजनीतिक लोकप्रियताभन्दा जनताको हितलाई प्राथमिकता दिनुपर्छ । उसले तत्कालीन प्रशंसाका लागि होइन, देशको दीर्घकालीन हितका लागि निर्णय गर्न सक्नुपर्छ ।
यसको अर्थ परिणामप्रति बेवास्ता गर्नु होइन । बरु सही उद्देश्यका साथ काम गर्नु, कामको नतिजा हेर्नु र असफल भएमा जिम्मेवारी लिनु हो । जनतालाई आश्वासन दिएर मात्र पुग्दैन; ती आश्वासन पूरा गर्न योजना, साधन, समयसीमा र कार्यान्वयनको क्षमता पनि चाहिन्छ ।
गीतामा श्रेष्ठ व्यक्तिको आचरण अरूका लागि उदाहरण बन्ने विचार पनि प्रस्तुत गरिएको छ । नेतृत्वमा यसको महत्व झन् बढी हुन्छ । नेता इमानदार छ भने इमानदारीको संस्कार बलियो बन्न सक्छ । उसले कानुनको सम्मान गर्छ भने सार्वजनिक जीवनमा नियमप्रतिको विश्वास बढ्छ । तर नेता नै झूट, अहङ्कार र स्वार्थमा रमाउन थाल्यो भने त्यसको असर समाजमा पनि पर्न सक्छ ।
त्यसैले नेतृत्व भनेको अरूलाई उपदेश दिनु मात्र होइन, आफूले पनि त्यसलाई व्यवहारमा उतार्नु हो । जनतालाई मितव्ययिता सिकाउने नेताको जीवनशैली सादगीपूर्ण हुनुपर्छ । भ्रष्टाचारविरुद्ध बोल्ने व्यक्तिको व्यवहार पारदर्शी हुनुपर्छ । जनताको सेवा गर्ने वाचा गर्ने व्यक्ति जनताकै दुःखबाट टाढा हुनु हुँदैन ।
नेपालको समस्या र नेतृत्वको जिम्मेवारी
नेपाल प्राकृतिक, सांस्कृतिक र मानवीय सम्भावनाले सम्पन्न देश हो । हिमाल, पहाड र तराईको विविधता, जलस्रोत, वनजङ्गल, कृषि, पर्यटन, जडीबुटी, सांस्कृतिक सम्पदा र मेहनती जनशक्ति हाम्रो शक्ति हुन् । विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभव पनि राष्ट्र निर्माणका महत्वपूर्ण आधार बन्न सक्छन् ।
यति धेरै सम्भावना हुँदाहुँदै पनि देशले अपेक्षित गति लिन नसक्नु चिन्ताको विषय हो । बेरोजगारीका कारण युवा विदेशिन बाध्य छन् । किसानले उत्पादनको उचित मूल्य पाउन कठिनाइ भोगिरहेका छन् । सर्वसाधारणले सरकारी सेवा लिन झन्झट बेहोर्नुपर्छ । भ्रष्टाचार, ढिलासुस्ती, नीतिगत अस्थिरता र राजनीतिक स्वार्थले नागरिकको विश्वास कमजोर बनाएका छन् ।
यी सबै समस्याको दोष एउटै व्यक्ति वा दललाई दिएर मात्र समाधान खोज्न सकिँदैन । हाम्रो राजनीतिक अभ्यास, प्रशासनिक संरचना, आर्थिक नीति र सामाजिक सोचमा रहेका कमजोरीलाई पनि हेर्नुपर्छ । तर यसको अर्थ नेतृत्वलाई जिम्मेवारीबाट मुक्त गर्नु होइन । राज्यको नीति बनाउने, स्रोत परिचालन गर्ने र संस्थालाई सही दिशामा अघि बढाउने मुख्य जिम्मेवारी नेतृत्वकै हुन्छ ।
सरकार परिवर्तनसँगै योजना परिवर्तन हुने, सुरु भएका आयोजना अलपत्र पर्ने र दीर्घकालीन राष्ट्रिय प्राथमिकतामा सहमति नबन्ने अवस्थाले विकासलाई कमजोर बनाउँछ । सार्वजनिक पदलाई सेवाको अवसरभन्दा व्यक्तिगत लाभको माध्यम बनाउने प्रवृत्तिले सुशासनमाथि प्रश्न उठाउँछ । नियुक्ति र अवसरमा योग्यता तथा निष्पक्षताभन्दा नातागोता र राजनीतिक निकटतालाई महत्व दिइयो भने योग्य नागरिक निरुत्साहित हुन्छन् ।
त्यसैले देशलाई केवल नयाँ अनुहार होइन, नयाँ सोच र जिम्मेवार कार्यशैली भएको नेतृत्व चाहिएको छ । विगतका गल्तीबाट सिक्ने, राम्रो कामलाई निरन्तरता दिने र कमजोरी सुधार्ने क्षमता भएको नेतृत्व आवश्यक छ ।
हामीले खोजेको नेतृत्वको चरित्र
सबैभन्दा पहिले नेतृत्वमा स्वच्छ छवि र नैतिक विश्वसनीयता हुनुपर्छ । जनताले विश्वास गर्न सक्ने व्यक्ति नेतृत्वमा पुग्नु आवश्यक छ । स्वच्छ छवि भनेको आरोप नलागेको व्यक्ति मात्र हुनु होइन; सार्वजनिक जीवनमा पारदर्शिता अपनाउनु, आफ्नो निर्णयको कारण स्पष्ट पार्नु र गल्ती भएमा त्यसलाई स्वीकार गर्ने साहस राख्नु पनि हो । आरोप र दोष प्रमाणित हुनु फरक कुरा हुन् । त्यसैले नेतृत्वको मूल्याङ्कन हल्लाका आधारमा होइन, तथ्य, व्यवहार र कार्यसम्पादनका आधारमा गरिनुपर्छ ।
नेतृत्वमा उदार हृदय र धीर–उदात्त गुण पनि आवश्यक छन् । उदारता भनेको आफ्नो विचारसँग सहमत हुनेलाई मात्र अवसर दिनु होइन । फरक मत राख्ने व्यक्तिलाई सुन्नु, विरोधीको उचित सुझाव स्वीकार गर्नु र व्यक्तिगत रिसइबीभन्दा माथि उठ्नु वास्तविक उदारता हो । धीर–उदात्त नेतृत्व कठिन परिस्थितिमा पनि धैर्य राख्छ, आवेगमा निर्णय गर्दैन र आफ्नो पदको मर्यादा कायम राख्छ ।
नेतामा निर्णय क्षमता हुनुपर्छ । हरेक विषयमा सबैलाई खुसी पार्न खोज्दा निर्णय गर्न नसक्ने अवस्था आउन सक्छ । कहिलेकाहीँ राष्ट्र र जनताको हितका लागि कठिन निर्णय लिनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा तथ्य, विज्ञको सुझाव, कानुनी व्यवस्था र दीर्घकालीन परिणामलाई ध्यानमा राखेर निर्णय गर्न सक्ने व्यक्ति नै योग्य नेता हो । निर्णयमा दृढ हुनु र जिद्दी हुनु फरक कुरा हुन् । असल नेता आवश्यक पर्दा आफ्नो निर्णय सच्याउन पनि तयार हुन्छ ।
नेतृत्वमा दम्भ र अभिमान हुनु हुँदैन । पदमा पुगेपछि आफूलाई सर्वज्ञानी, सर्वशक्तिमान् वा अरूभन्दा माथि ठान्ने प्रवृत्ति घातक हुन्छ । जनताको मतबाट प्राप्त पद जनताको सेवाका लागि हो, व्यक्तिगत प्रतिष्ठा बढाउनका लागि होइन । पद र शक्तिले मानिसको वास्तविक चरित्र देखाउँछन् । त्यसैले नेतृत्व जति माथि पुग्छ, उसमा विनम्रता र आत्मसंयम त्यति नै आवश्यक हुन्छ ।
सादगी जीवनशैली पनि असल नेतृत्वको महत्वपूर्ण विशेषता हो । सादगीको अर्थ आवश्यक सुविधा त्याग्नु वा गरिबीको प्रदर्शन गर्नु होइन । सार्वजनिक पदमा रहेको व्यक्तिले आफ्नो जीवनशैलीमा मर्यादा, मितव्ययिता र पारदर्शिता कायम गर्नु हो । जनताले आर्थिक कठिनाइ भोगिरहेका बेला राज्यको स्रोत व्यक्तिगत सुखसुविधामा अनावश्यक रूपमा खर्च गर्नु उचित हुँदैन ।
नेता जनताबाट टाढिँदै गयो भने उसले जनताको वास्तविक समस्या बुझ्न सक्दैन । राजधानीको बैठक, प्रतिवेदन र औपचारिक कार्यक्रममा मात्र सीमित नेतृत्वले गाउँको किसान, दुर्गम बस्तीको बिरामी, बेरोजगार युवा र दैनिक ज्यालादारीमा निर्भर परिवारको कठिनाइ पूर्ण रूपमा अनुभूत गर्न सक्दैन ।
त्यसैले नेतृत्व जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन रुचाउने हुनुपर्छ । चुनावका बेला मात्र गाउँ पुग्ने, समस्या सुन्ने आश्वासन दिने र पदमा पुगेपछि सम्पर्कविहीन हुने प्रवृत्तिले जनताको विश्वास टुटाउँछ । जनतासँग नियमित भेटघाट गर्ने, गुनासा सुन्ने, सार्वजनिक सुनुवाइमा सहभागी हुने र समाधानको प्रगति जानकारी गराउने संस्कार बसाल्नुपर्छ ।
नेतृत्वले नेपाली भूगोल र संस्कृतिको वास्तविकता पनि बुझ्नुपर्छ । हिमाली क्षेत्रको आवश्यकता तराईको आवश्यकताभन्दा फरक हुन सक्छ । पहाडी गाउँको विकासका चुनौती र सहरको व्यवस्थापनका समस्या एउटै हुँदैनन् । कतै सडकको पहुँच प्राथमिक आवश्यकता हुन्छ, कतै सिँचाइ, खानेपानी, स्वास्थ्य सेवा वा बजारको पहुँच । देशको विविध भूगोल नबुझी एउटै ढाँचाको नीति लागू गर्दा स्रोतको सही उपयोग हुन सक्दैन ।
नेपाल बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँका भाषा, परम्परा, चाडपर्व, जीवनशैली र स्थानीय ज्ञानको सम्मान गर्न सक्ने नेतृत्वले मात्र राष्ट्रिय एकतालाई बलियो बनाउन सक्छ । संस्कृतिको सम्मान गर्नु भनेको विभेदकारी परम्परालाई जस्ताको तस्तै स्वीकार गर्नु होइन; सकारात्मक पहिचानको संरक्षण गर्दै समानता र न्यायलाई अघि बढाउनु हो ।
रामको मर्यादा, भरतको त्याग र रावणको अहङ्कार
रामायणका राम, भरत र रावणका प्रसङ्गले नेतृत्वको चरित्रबारे सोच्न प्रेरित गर्छन् । रामले कर्तव्य र मर्यादालाई महत्व दिए । भरतले राजसिंहासनलाई व्यक्तिगत सम्पत्ति ठानेनन् । राम वनवासमा हुँदा उनले राज्यलाई आफ्नै अधिकारका रूपमा ग्रहण नगरी रामका पादुका राखेर शासन सञ्चालन गरेको प्रसङ्ग त्याग र उत्तरदायित्वको प्रतीक बनेको छ ।
रावण भने असाधारण ज्ञान, पराक्रम र वैभव भएको पात्र थियो । तर आफ्नो शक्ति र ज्ञानमाथिको अहङ्कार, अनुचित इच्छा र अरूको सल्लाहप्रतिको उपेक्षाले उसको पतन निम्त्यायो । यसबाट बुझ्न सकिन्छ कि क्षमता मात्र भएर पुग्दैन; त्यसलाई सही दिशामा प्रयोग गर्ने विवेक र आत्मसंयम पनि चाहिन्छ ।
रामायणका सबै प्रसङ्गलाई आधुनिक नैतिक दृष्टिकोणबाट प्रश्नरहित मान्नु आवश्यक छैन । तर यी पात्रका कथाबाट नेतृत्वको मर्यादा, त्याग, जिम्मेवारी र अहङ्कारका परिणामबारे विचार गर्न सकिन्छ ।
आजको नेतृत्वले आफूलाई सोध्नुपर्छ-म पदमा किन छु ? जनताको सेवा गर्न कि आफ्नो प्रभाव जोगाउन ? म आलोचना सुन्छु कि प्रशंसकको घेरामा मात्र बस्छु ? सार्वजनिक स्रोतलाई जनताको सम्पत्ति मान्छु कि आफ्नो सुविधाको साधन ?
नेतृत्वको वास्तविक उचाइ उसले कति शक्ति प्राप्त ग¥यो भन्नेबाट होइन, त्यो शक्तिको प्रयोग कसरी ग¥यो भन्नेबाट निर्धारण हुन्छ ।
अन्तर्राष्ट्रिय सम्बन्धमा कूटनीतिक परिपक्वता
आजको विश्वमा कुनै पनि राष्ट्र एक्लै अघि बढ्न सक्दैन । व्यापार, लगानी, प्रविधि, पर्यटन, ऊर्जा, श्रम बजार, जलवायु परिवर्तन र सुरक्षाजस्ता विषयले अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रत्यक्ष रूपमा प्रभाव पार्छन् । त्यसैले नेपाललाई अन्तर्राष्ट्रिय सम्बन्धको महत्व बुझ्ने र कूटनीतिक ज्ञान भएको नेतृत्व आवश्यक छ ।
नेपालको भौगोलिक अवस्थिति संवेदनशील छ । दुई ठूला छिमेकी भारत र चीनसँगको सम्बन्ध हाम्रो अर्थतन्त्र, व्यापार, पारवहन र क्षेत्रीय स्थिरतासँग जोडिएको छ । त्यस्तै, अन्य मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यबाट शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन र पूर्वाधार विकासमा अवसर प्राप्त गर्न सकिन्छ ।
यस्तो अवस्थामा नेतृत्व भावनात्मक नारामा मात्र सीमित हुनु हुँदैन । राष्ट्रिय हित के हो, कुन विषयमा सहकार्य गर्न सकिन्छ, कहाँ आफ्नो अडान स्पष्ट राख्नुपर्छ र कसरी पारस्परिक सम्मान कायम गर्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । कूटनीति भनेको कसैसँग नजिकिनु वा टाढिनु मात्र होइन; आफ्नो राष्ट्रिय हितको रक्षा गर्दै सबैसँग सम्मानजनक सम्बन्ध कायम गर्नु हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा असन्तुलित निर्णय, अपरिपक्व अभिव्यक्ति वा आन्तरिक राजनीतिक लाभका लागि गरिने कूटनीतिक प्रयोगले देशलाई दीर्घकालीन असर पार्न सक्छ । त्यसैले नेतृत्वमा संयम, विषयगत ज्ञान, वार्ताकौशल र राष्ट्रिय स्वार्थप्रतिको स्पष्ट प्रतिबद्धता आवश्यक हुन्छ ।
लोकतन्त्रमा नेतृत्व र नागरिक दुवै जिम्मेवार
असल नेतृत्वको अपेक्षा गर्नु स्वाभाविक हो । तर सबै समस्या एउटा व्यक्तिले समाधान गरिदिन्छ भन्ने सोच पनि उपयुक्त हुँदैन । लोकतन्त्रमा नेता, राजनीतिक दल, कर्मचारीतन्त्र, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम र सर्वसाधारण सबैको भूमिका हुन्छ ।
राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्र बलियो हुनुपर्छ । योग्यताका आधारमा जिम्मेवारी दिने, फरक मतलाई स्थान दिने र नेतृत्व हस्तान्तरणलाई सहज बनाउने संस्कार आवश्यक छ । सार्वजनिक खरिद, नियुक्ति र बजेट खर्च पारदर्शी हुनुपर्छ । अनियमितताबारे निष्पक्ष अनुसन्धान हुनुपर्छ र दोष प्रमाणित भए कानुनअनुसार कारबाही गरिनुपर्छ ।
नागरिकले पनि चुनावका बेला उम्मेदवारको भाषण र लोकप्रियताभन्दा उसको विगतको काम, इमानदारी, नीतिगत स्पष्टता र जनतासँगको सम्बन्धलाई आधार बनाउनुपर्छ । आफ्नै दल वा मन परेको नेताले गल्ती गर्दा पनि प्रश्न गर्न सक्ने नागरिक संस्कार लोकतन्त्रको महत्वपूर्ण शक्ति हो ।
नयाँ पुस्ताको प्रवेशले परिवर्तनका अवसर खोल्न सक्छ । तर उमेर वा अनुहार नयाँ हुँदैमा राजनीतिक संस्कार पनि नयाँ हुन्छ भन्ने निश्चित छैन । पुरानै अहङ्कार, स्वार्थ र अपारदर्शिता नयाँ व्यक्तिमा दोहोरियो भने परिवर्तनको अर्थ सीमित हुन्छ । त्यसैले व्यक्ति परिवर्तनसँगै प्रणाली र राजनीतिक संस्कृतिमा सुधार आवश्यक छ ।
निष्कर्ष :
कुरुक्षेत्रमा अर्जुनको अन्योल कर्तव्य र विवेकबीचको द्वन्द्व थियो । रामायणमा भरतको त्यागले पदलाई निजी सम्पत्ति नमान्ने शिक्षा दिन्छ । रावणको पतनले ज्ञान र शक्ति हुँदाहुँदै पनि अहङ्कारले मानिसलाई विनाशतर्फ लैजान सक्छ भन्ने देखाउँछ ।
आज नेपालले पनि बेरोजगारी, भ्रष्टाचार, विभेद, कमजोर सेवा प्रवाह र जनविश्वासको संकटसँग जुधिरहेको छ । यसको समाधान कुनै चमत्कारी व्यक्तिको आगमनमा मात्र खोजेर हुँदैन । इमानदार नेतृत्व, बलिया संस्था, जिम्मेवार नागरिक र स्पष्ट राष्ट्रिय प्राथमिकताको संयुक्त प्रयास आवश्यक छ ।
हामीलाई स्वच्छ छवि, उदार हृदय, धीर–उदात्त चरित्र र निर्णय क्षमता भएको नेतृत्व चाहिएको छ । नेपाली भूगोल, संस्कृति र जनजीवन बुझेको, जनताका दुःख र समस्यालाई आफ्नै जिम्मेवारी ठान्ने, सादगीपूर्ण जीवन रुचाउने र दम्भ तथा अभिमानबाट टाढा रहने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । त्यस्तो व्यक्तिले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहन रुचाउनुपर्छ, आलोचना सुन्न सक्नुपर्छ र अन्तर्राष्ट्रिय सम्बन्धमा राष्ट्रिय हितको रक्षा गर्न सक्ने कूटनीतिक परिपक्वता देखाउनुपर्छ ।
जनतालाई आफ्नो भक्त बनाउने नेता होइन, जनतालाई सचेत, सक्षम र आत्मनिर्भर बनाउने नेतृत्व चाहिएको छ । विरोधीलाई शत्रु ठान्ने होइन, फरक विचारसँग संवाद गर्ने नेता चाहिएको छ । पदमा सधैँ रहिरहने आकांक्षा राख्ने होइन, आफू नरहँदा पनि देश सही बाटोमा अघि बढिरहने संस्था निर्माण गर्ने नेतृत्व चाहिएको छ ।
अन्ततः राष्ट्रको भविष्य कुनै एक व्यक्तिको इच्छामा मात्र निर्भर हुँदैन । त्यो नेतृत्वको चरित्र, संस्थाको निष्पक्षता र नागरिकको विवेकबाट निर्माण हुन्छ । असल नेता त्यो होइन, जसको उपस्थितिमा मात्र देश चल्छ; असल नेता त्यो हो, जसले देशलाई व्यक्तिभन्दा माथि उठाएर विधि, मूल्य र संस्थाको आधारमा चल्ने बनाउँछ ।
त्यसैले आज हामीले खोज्नुपर्ने प्रश्न केवल ‘हाम्रो नेता को हो?’ भन्ने होइन । ‘हामीलाई कस्तो नेतृत्व चाहिएको छ, त्यसलाई योग्य बनाउन कस्तो राजनीतिक संस्कार विकास गर्नुपर्छ र कस्तो राष्ट्र निर्माण गर्ने हाम्रो साझा सङ्कल्प छ ?’ भन्ने पनि हो ।
जब सत्ता सेवाको माध्यम बन्छ, पद जिम्मेवारीमा रूपान्तरण हुन्छ र नेतृत्व जनताको विश्वासप्रति उत्तरदायी हुन्छ, तब मात्र राष्ट्रले सही दिशा समात्छ । नेपाललाई आज यही नेतृत्व संस्कारको खाँचो छ ।





