काठमाडौं / सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो शासन सत्ता ढलेको छ । उनले आइतबार सम्पन्न संसदीय निर्वाचनमा विद्यार्थी नेतृत्वको आन्दोलन ‘स्टुडेन्ट लिस्ट’ले बहुमत हासिल गरेपछि बुचिच नेतृत्वको शासन पतन भएको हो । बुचिचले स्टुडेन्ट लिस्टसँग आफ्नो पार्टी पराजित भएको स्वीकार गरेका छन् ।
प्रारम्भिक मतपरिणामअनुसार २५० सिट रहेको सर्बियाली संसद्मा ‘स्टुडेन्ट लिस्ट’ले १३५ भन्दा धेरै सिट जितेको छ । बुचिचको सत्तारूढ सर्बियन प्रोग्रेसिभ पार्टी (एसएनएस) गठबन्धन १०५ सिटमा सीमित भएको छ । निर्वाचनमा करिब ७० प्रतिशत मत खसेको थियो, जुन सन् २००० मा युगोस्लाभियाको विघटनपछिकै सर्वाधिक उच्च मतदाता सहभागिता हो ।
नतिजा सार्वजनिक भएसँगै राजधानी बेलग्रेड र नोभी सादलगायत प्रमुख सहरहरूमा हजारौँ युवा तथा नागरिकहरूले विजयोत्सव मनाइरहेका छन् । उनीहरुले ‘आलेक्जान्दर ढल्यो !’ (आलेक्जान्दर इज गन !) र सन् २००० मा स्लोबोदान मिलोसेभिचको पतन हुँदा घन्किएको ऐतिहासिक नारा ‘उनी सकिए !’ (हिज फिनिस्ड !) पुन: दोहोर्याइरहेका छन् ।
यो ऐतिहासिक राजनीतिक परिवर्तनको जग नोभेम्बर २०२४ मा नोभी सादस्थित रेल्वे स्टेसनको कङ्क्रिट क्यानोपी भत्किँदा १६ जनाको ज्यान गएको भयानक दुर्घटनापछि बसेको थियो । उक्त दुर्घटनाको मुख्य कारण सरकारी भ्रष्टाचार, कमिसनतन्त्र र गुणस्तरहीन निर्माण कार्य भएको भन्दै देशभरका विश्वविद्यालयका विद्यार्थीहरू सडकमा उत्रिएका थिए ।
सुरुमा भ्रष्टाचार र जवाफदेहिताका लागि सुरु भएको सडक आन्दोलन पछि गएर पूर्ण राजनीतिक आन्दोलन र चुनावी मोर्चामा रूपान्तरण भयो ।
‘स्टुडेन्ट लिस्ट’ले कुनै परम्परागत राजनीतिक नेतालाई अगाडि सारेन । विद्यार्थी नेताहरूले मुटुरोग विशेषज्ञ डा. इलिया स्रदानोभिचको नेतृत्वमा प्राध्यापक, कलाकार, खेलाडी र कृषकहरू सम्मिलित समावेशी उम्मेदवार सूची तयार पारेका थिए । ती अधिकांश उम्मेदवारहरु विजयी भएका छन् ।
विजय घोषणा भएपछि बोल्दै ‘स्टुडेन्ट लिस्ट’का प्रमुख उम्मेदवार डा. इलिया स्रदानोभिचले भने, ‘आज राति जनताको आवाज सुनिएको छ । भोलिदेखि हामी कानुनी राज्य र लोकतन्त्रको पुनरुत्थानका लागि काम सुरु गर्नेछौँ । यदि दृढ इच्छाशक्ति छ भने परिवर्तन सम्भव छ भन्ने हामीले प्रमाणित गरेका छौँ । अब हामी सबैले सत्य, आवाज र भविष्य पाउने देशको निर्माण गर्नेछौँ ।’
ट्रम्प परिवारसँगको सम्बन्ध र अमेरिकी भूराजनीतिमा प्रभाव
आलेक्जान्दर बुचिचको पतनले अमेरिका र युरोपबीचको भूराजनीतिक सन्तुलनमा नयाँ तरङ्ग पैदा गरेको छ ।
बुचिचले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियर र पूर्व विशेष दूत रिचर्ड ग्रेनेलसँग नजिकको सम्बन्ध बनाएका थिए। ट्रम्पका ज्वाइँ जेरेड कुश्नरको कम्पनीले बेलग्रेडमा रहेको पुरानो रक्षा मन्त्रालयको भवनलाई लक्जरी होटल र आवासीय क्षेत्रमा रूपान्तरण गर्ने अर्बौँ डलरको आयोजना अगाडि बढाएपछि ठूलो विवाद सिर्जना भएको थियो ।
बुचिचले रुस, चीन र अमेरिका बीच रणनीतिक सन्तुलन कायम गर्दै आएका थिए । तर, युरोपेली युनियनतर्फ बढी झुकाव राख्ने युवा पुस्ताको जितले सर्बियालाई रुसी प्रभावबाट टाढा लगेर युरोपेली प्रजातान्त्रिक ढाँचामा थप नजिक ल्याउने अनुमान गरिएको छ ।
अबको राजनीतिक बाटो
संसदीय निर्वाचनमा स्पष्ट बहुमत ल्याएसँगै ‘स्टुडेन्ट लिस्ट’ले नयाँ प्रधानमन्त्री चयन गरी नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्नेछ ।
यसका साथै, आगामी डिसेम्बर महिनामा सर्बियामा नयाँ राष्ट्रपति चयनका लागि छुट्टै निर्वाचन हुनेछ । बुचिचले प्रधानमन्त्री बन्ने उद्देश्यका साथ गत महिना राष्ट्रपति पदबाट राजीनामा दिएका थिए ।
तर, संसदीय चुनावमै लज्जास्पद हार व्यहोरेपछि उनको राजनीतिक भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ । युरोपभर युवाहरूमाझ बढ्दै गएको सरकारविरोधी र भ्रष्टाचारविरोधी लहरका रूपमा यस ऐतिहासिक जितलाई हेरिएको छ ।





