सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

यी महिला, जो फोहोरबाट मोहर बनाइरहेका छन्

यी महिला, जो फोहोरबाट मोहर बनाइरहेका छन्

फोहोर व्यवस्थापनले बेला बेलामा सकस पार्ने पोखराका- ५ महिलाले भने नमूना गरिरहेका छन् 


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८३, सोमबार

पोखरा/पोखरा महानगरपालिकाका टाउको दुखाइका विषयमध्ये पर्छ फोहोर व्यवस्थापन । हरेक वर्ष फोहोर व्यवस्थापनको एजेन्डामा विरोध प्रदर्शन, सडकमै फोहोर थुप्रिनेदेखि कहिलेकाँही त ठूलै विरोधका घटना पनि हुने गरेका छन् । फोहोर यस्तो टाउको दुखाइ बनिरहेका बेला पोखरा महानगरपालिका वडा नम्बर ७ मा भने पाँच जना महिला मिलेर पुनः प्रयोग गर्न मिल्ने फोहोरबाट आम्दानी गरिरहेका छन् ।

बेला बेलामा स्कुटर लिएर सरकारी कार्यालयदेखि सडक पेटीमा बोत्तल उठाउँदै हिडिरहेका केही महिला देखिन्छन् । ती महिलाले प्रयोगपश्चात फालिएका प्लास्टिकका बोटल संकलन गरी बेच्ने गरेका छन् । पोखरा ७ मा ‘बोत्तल बैंक’ स्थापन गरी वडाभित्र प्लाष्टिकका बोटलको व्यवस्थापन गर्दा त्यहाँबाट निस्कने फोहोरमा समेत कमी आएको छ ।

महानगरलाई सकसको विषय बनेको फोहोरमा बोत्तलको सदुपयोगले केही हदसम्म त्यसलाई राहत दिएको छ । बोत्तल बैंकको टिममा संगीता शर्मासँगै शोभा थापा, लालकुमारी गुरुङ, बुद्धिमाया गुरुङ र विमला श्रेष्ठ छन् । आरम्भमा माछापुच्छ«े टोल विकास संस्था अन्तर्गत काम गरे पनि डेढ वर्षदेखि उनीहरुको समूहले बोत्तल संस्थागत रुपमा काम थालेका हुन् ।

सुरुवातमा बोतल राख्नका लागि नै समस्या परेको थियो । बोत्तल खोज्न हिडेका उनीहरुलाई अन्य फोहोरसमेत पठाउँदा ठाउँको अभाव भएको थियो । फोहोरसम्बन्धी काम भएकाले कसैले पनि जग्गा वा भवन भाडामा नदिँदा निकै समस्या खेपिरहेको अवस्थामा युएनडिपी र कोइकाको सहयोगमा उचित व्यवस्थापनसहित पुनः सञ्चालनमा आएको बोत्तल बैंक संयोजक संगीता शर्मा बताउँछिन् ।

पहिलादेखि नै फोहोर व्यवस्थापनमा गर्दै आएकाले आफूहरुले फोहोरबाट मोहर बनाउन सिकेको उनी सुनाउँछिन् । ‘फोहोरमैलासम्बन्धी काम गरेकै कारण हामीलाई यसतर्फ चासो लागेको हो । हामीले पोखरा ७ मा काम गर्दै आइरहेका छौं’, उनले भनिन् । यो काम थालेपछि पोखरा ७ को फोहोर व्यवस्थापनमा निकै फरक आएको संगीता बताउँछिन् ।

पहिला सबै फोहोरमा जाने थियो भने अहिले बोटल बेग्लै राख्ने गरेको पाइन्छ । पहिला सरकारी कार्यालयहरुमा समेत बोत्तल लथालिंग तरिकाले फाल्ने गरिएकोमा अहिले व्यवस्थित तरिकाले राख्न थालिएको छ । ‘हामीलाई जग्गा पाउनै मुस्किल भयो । फोहोर भन्नेबित्तिकै दुर्गन्ध आउछ भनेपछि कसैले पनि जग्गा नदिने । अहिले धेरैले बुझिसक्नु भएको छ । आफैंंले ल्याएरसमेत छाड्ने गरेको अवस्था छ’, उनले भनिन् ।

पहिला सुख्खा प्लाष्टिकसमेत राख्ने गरेका थिए । ग्रिन रोड नामक संस्थाले किन्ने गरे पनि उक्त संस्था बन्द भएपछि प्लाष्टिक भने संकलन गर्न छाडिएको छ । प्लाष्टिक र बिर्को छुट्याएर बोत्तलको वर्गीकरण गरी हिमालयन प्लाष्टिक उद्योगमा पठाउने गरिएको छ । उनीहरुले बियरको बोतलको राम्रो मूल्य पाउने गरे पनि अन्य सिसाको बोत्तल भने बेच्न सकेका छैनन् ।

प्लाष्टिकका बोटल भने एक सय किलोग्राम पुगेपछि मात्रै बेच्ने गरिएको छ । यसको मूल्य प्रति किलो ३० देखि ३५ रुपैयाँसम्म पर्छ । सामान युएन डपीले दिए पनि ट्रष्ट निर्माण उनीहरुले आफ्नै खर्चले गरेका हुन् । बुद्धिमाया गुरुङ आफूहरुले गरेको कामलाई विदेशीले राम्रो नजरले हेर्ने भए पनि नेपालीबाट भने उचित सम्मान नरहेको बताउँछिन् ।

‘हामी बोत्तल उठाउन जाँदा विदेशीले एकदम राम्रो नजरले हेर्छन् । नेपालीले एकदम नियालेर, एकदम घुरेर हेर्नुहुन्छ । यी दिदीबहिनीहरू दुखी, केही नभएको, गरिब भएका कारण यसरी हिँड्नुभएको हो भनेर सोचेर होला’, उनले भनिन्, ‘धेरै निगरानी गरेर हेर्नुहुन्छ । तर हामीलाई त्यस्तो कुनै वास्ता छैन किनभने हामी वातावरणसम्बन्धी जनचेतना फैलाउनुका लागि पनि हामी काम गरिरहेका छौं ।’

उनीहरुले त्यसअघि युएनडिपी, कोइका तथा पोखरा महानगरसँग सम्बन्धित भएर तालिम लिएका थिए । यी पाँच महिला अहिले आफ्नो कामबाट निकै खुसीमात्र होइन, गर्व बोध पनि गरिरहेका छन् । उनीहरुको बोत्तल संकलनको मुख्य स्थान भने सरकारी कार्यालयहरु बनेका छन् । जिल्ला प्रशासन, जिल्ला अदालत, मालपोत कार्यालय, मुख्यमन्त्री कार्यालय, पर्यटन बोर्ड, हल्लन चोक, टुरिस्ट बसपार्कबाट बोत्तलहरू उनीहरुले उठाउने गरेका छन् ।

तीबाहेक विभिन्न होटल तथा सडकमा फालिएका बोत्तलसमेत उनीहरुले जम्मा गर्ने गरेका छन् । कतिपय ठाउँमा त स्थानीयले बोतल संकलन गरी राखिदिने गरेका छन् । उनीहरु हप्तामा १ दिन वा दुई हप्तामा १ दिन बोत्तल उठाउन जान्छन् । यो कामका लागि उनीहरुले आफ्नै स्कुटर प्रयोग गरिरहेका छन् । ‘यो आयस्रोतमात्रै होइन, फोहोर व्यवस्थापन गर्ने र वातावरणलाई स्वच्छ राख्ने उपाय पनि हो । तर, हामीलाई यस्तो बुझाउन अलि गाह्रो छ । एकदम चेतनाको कमी छ,’ बुद्धिमायाले भनिन् ।

समूहकी अर्की सदस्य विमला श्रेष्ठ अहिले पोखरा ७ को फोहोर व्यवस्थापनमा निकै राहत मिलेको बताउँछिन् । ‘यो वडामा फोहोरको गाडी आउन समेत निकै समस्या छ । बोत्तलले पनि धेरै ठाउँ ओगट्थ्यो तर, हामीले संकलन गर्दा धेरै राहत मिलेको छ’, उनले भनिन् ।

हाल महिनाको ४ हजार रुपैयाँमा ५ आना जग्गा भाडामा लिएर बोत्तल बैंक चलाइएको छ । २०८२ भदौबाट बोत्तल बैंक सुरु भएको हो । गत वर्ष संस्था दर्ता लगायतका व्यवस्थापन गर्दा बचत नभए पनि यो वर्ष भने केही रकम बचत भएको उनीहरु सुनाउँछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->