सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

दशैँ सकिएपछि कृषकलाई धान भित्राउने चटारो

दशैँ सकिएपछि कृषकलाई धान भित्राउने चटारो

दशैँका बेला गाउँघरमा चाडपर्वको रौनक छाएको थियो भने अहिले किसानका खेतबारीमा कृषि कार्यको चहलपहल बढ्न थालेको छ ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ९ २०८३, सोमबार

पर्वत/दशैँ सकिएसँगै पर्वतका ग्रामीण बस्तीमा धान भित्र्याउने चटारो सुरु भएको छ ।

दशैँ मनाउन र आफन्तसँग भेटघाट गर्न व्यस्त बनेका किसानहरू अब खेतबारीमा पाकेको धान काट्ने र थन्क्याउने काममा जुट्न थालेका छन् । दशैँका कारण केही समय धान भित्र्याउने कामलाई थाती राखेका किसानलाई अहिले पाकेको धान सुरक्षित रूपमा घरमा भित्र्याउने चटारो परेको छ ।

पर्वतका विभिन्न ग्रामीण क्षेत्रमा किसानहरू धान काट्ने, सुकाउने, झाँट्ने तथा दाइँ हालेर अन्न भण्डारण गर्ने तयारीमा जुटेका छन् । वर्षभरि परिवारको खाद्यान्न आवश्यकताका लागि खेतीपातीमा निर्भर रहने किसानका लागि धान भित्र्याउने समय निकै महत्त्वपूर्ण मानिन्छ । खेतमा पाकेर पहेँलपुर भएको धान समयमै काट्नुपर्ने भएकाले किसानहरू मौसम अनुकूल पारेर अन्नबाली भित्र्याउने तयारीमा लागेका हुन् ।

दशैँका बेला गाउँघरमा चाडपर्वको रौनक छाएको थियो भने अहिले किसानका खेतबारीमा कृषि कार्यको चहलपहल बढ्न थालेको छ । चाडपर्व मनाएर आफ्नो दैनिकीमा फर्किएका किसानलाई अब धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काम सम्पन्न गर्नुपर्ने व्यस्तता बढेको छ । ग्रामीण क्षेत्रमा धान खेती किसानको जीवनयापन र खाद्यान्नको प्रमुख आधारका रूपमा रहेको छ ।

त्यसैले दशैँ सकिएसँगै सुरु भएको धान भित्र्याउने कामले गाउँघरमा कृषि गतिविधि बढाएको छ । एकातिर दशैँ मनाएर सहर फर्किनेहरूको चाप बढिरहेको छ भने अर्कोतिर गाउँमा रहेका किसानलाई भने वर्षभरिको मेहनतबाट उत्पादन भएको अन्न घरमा भित्र्याउने चटारो सुरु भएको छ ।

जिल्लाका अग्ला स्थान (लेक) तथा खोला आसपासमा रहेका क्षेत्रमा जेठबाट नै रोपाई सुरु हुने भएकोले त्यस्तो क्षेत्रमा धान पाकिसकेको छ । त्यस्ता क्षेत्रहरूमा लगाइएको कतिपय धान भित्राइसकिएको छ भने केही स्थानमा धान काट्ने र सुकाउने काम चलिरहेको छ । तर बेसीमा भने साउनसम्म नै रोपाई भएकोले धान हरियो नै छ । बेसी क्षेत्रमा केही ढिला गरी धान भित्राइने भए पनि धेरै ग्रामीण क्षेत्रमा भने धानको काम सुरु भएको छ ।

कृषि विकास कार्यालय पर्वतकी बाली संरक्षण अधिकृत सोबिता सुवेदीका अनुसार पर्वतमा मुख्य गरी झिनुवा, गुडुरा, च्याम्पियन, यु.एस.३१२, चैते–५, एक्ले, छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीसहित केही स्थानीय जातका धान रोप्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार पर्वतमा करिब २८ हजार खेतीयोग्य जमिनमध्ये करिब ७ हजार २ सय हेक्टरमा धान खेती हुने गरेको छ । जसबाट २० हजार ५ सय २० मेट्रिक टन उत्पादन हुन्छ ।

पर्वतमा मुख्य बालीको रूपमा चिनिने धान बालीको उत्पादन भने प्रत्येक वर्ष घट्दै गएको देखिएको छ । तत्कालीन कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले २०७७ सालमा सार्वजनिक गरेको तथ्याङ्कमा जिल्लामा नौ हजार ७० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको भनिएको थियो। जबकि यस वर्ष ७ हजार १ सय ६० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->