सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

दसैं सकियो, गाउँ रित्तियो

दसैं सकियो, गाउँ रित्तियो

गाउँ विकासको पर्खाइमा छ । पुँजी, जमिन, सीप र ज्ञानबाट गाउँलाई रुपान्तरण गर्नु राज्यको दायित्व हो ।


  • झलक शर्मा
  • कार्तिक ९ २०८३, सोमबार

नेपालीको महान पर्व वडादसैं हर्षोल्लासका साथ मनाइएको छ । इष्टमित्रको भेटघाट, पारिवारिक मिलनले गाउँघरमा केही दिन रौनक छाएको थियो । घरमा रहेका वृद्धवृद्धा आमाबुवाहरु पारिवारिक साथमा रहन पाउदा पुराना अतितका दिन भुल्ने वातावरण बनेको थियो । रङरोगन, लितपोतले गाउँघर सजिएका थिए । मानिसमा गाउँको माया प्रष्ट देखिन्थ्यो । गाउँको विकासको सुस्तताप्रति केही चिन्तित देखिन्थे । राजनीतिक गफमा मानिसको चासो देखिन्थ्यो । विकासका निम्ति भावी योजना पस्कन आत्तुर देखिन्थे । तर समय रोकिएन । दसैंले हामीमाझ बिदा माग्यो ।

चाडपर्व मनाउन गाउँ भित्रिएका मानिसहरु बजार फर्किए । गाउँको माया र विकासको हुटहुटीलाई अहिले त्यही थाँती राख्दै आफ्नो दैनिकीतर्फ फर्कन थाले । पुनः अब गाउँघर वृद्धवृद्धा बस्ने थलोको रुपमा स्थापित भएको छ । अध्ययन, रोजगारी, व्यापार लगायतमा आवद्ध भएकाहरु सहर बस्नुपर्ने बाध्यता छ । तर केही व्यक्तिलाई बाध्यता नभई रहर हुन पुगेको छ । सहरको सुविधाभोगी जीवनशैलीले मानिसलाई लोभ्याएको छ । सबै मानिसलाई एउटै थलो बसेर प्रगति गर्न कठिन होला ।

अवसर र लाभहरु सहरमा भेटिन्छन् । त्यो स्वभाविक हो । अवसरले मानिसलाई उचाईमा पु¥याउँछ । व्यक्तिगत क्षमता उकास्दै आफ्नो प्रभुत्व जमाउन सक्छ । सफलताले व्यक्तिको पहिचान कायम गर्दै समाजको प्रगति र परिवर्तनको जग बसाल्छ । व्यक्तिले बटुलेको सीप, ज्ञान, अनुभवबाट गाउँले कोल्टो फेर्न सक्छ । तर वर्तमान अवस्थामा सहर झरेको व्यक्ति र गाउँ एक आपसमा अपरिचित छन् । मानिसले सहर झरेपछि गाउँ बिर्सेको छ । यस्तो श्रृङ्खला ग्रामीण भेगमा मात्रै होइन, सहर नजिकका गाउँ बस्तीमा झन् बढी छ ।

कोरोना महामारीमा मानिसले गाउँलाई रोजे तर गाउँलाई जीवन बिताउने थलोको रुपमा लिन सकेनन् । गाउँघर रित्तिनुको कारण मुख्यतः बसाइसराई नै हो । यहाँ बसाइसराइका पुल फक्टर(आकर्षण कारण) र पुस फक्टर(धकेल्ने कारण) ले गाउँमा मानिसको संख्या पातलिँदै छ ।

लेखक

गाउँघरमा बाँझो जमिन छ । बजारमा बेरोजगारीले मानिस छट्पटिएको छ । बाँझो जमिन फोरी व्यवसायिक खेतीमा ध्यान किन गएन ? किन गाउँघरको स्थानीय उत्पादनले बजार पाएन भन्ने प्रश्न बढी महत्वपूर्ण छ । ग्रामीण भेगको यथार्थ पक्ष के छ भने मानिस सहर झरेपछि बाटो पुग्यो । विकास बाटो पुग्नुमात्र होइन, समग्र पक्षको बढोत्तरी नै विकास हो ।

मानिसको भिड बढ्नु विकास पक्कै होइन । त्यो भीडमा अवसर प्राप्त हुनु पर्छ । आयआर्जनको वातावरण सृजना हुनु पर्छ । समाजमा आधारभूत आवश्यकताको परिपूर्ति नै विकास हो । नेपालका ग्रामीण भेगहरुमा विकासका नाममा डोजर आतंक छ । कतै बाटो पुगेकै छैन, पुगेको ठाउँमा ढुवानी तथा यातायातको सुविधा छैन । अस्पताल, विश्वविद्यालय तथा विद्यालयबाट विमुख हुनुपर्ने अवस्था छ । यहाँ स्वास्थ्य सुबिधाको अपेक्षा गर्नु त परको कुरा, सामान्य सिटामोल नपाएर ज्यान गुमाउनुपर्ने विडम्बना छ ।

तुइनकै भरमा नदी खोला वारपार गर्नु पर्छ । बैकिङ तथा वित्तीय संस्थामा नागरिकको पहुँच पुग्न सकेको छैन । सार्वजनिक सेवा प्रवाहमा ग्रामीण भेगका मानिसको पहुँचमा छैन । गाउँमा स्थानीय जनप्रतिनिधिहरु पनि नजिकै सहरमा बस्ने र आवश्यक पर्दाको दिनमा मात्र गाउँपालिका, वडाहरुमा उपस्थित हुने गर्छन् । बजार बसीबसी गाउँको नेतृत्व लिन चाहन्छन् तर विकासको काँध थाप्न चाहदैनन् । गाउँ नै लामो समय बसिरहेको व्यक्तिसँग चुनाव लड्ने आर्थिक तागत हुँदैन । चुनाव र उम्मेद्वारलाई दलहरुले पैसाको शक्तिमा उभ्याइदिदा गाउँको माया र विकास प्रेमी स्थानीय नेतृत्वहरु ओझेलमा परेका छन् । त्यसैले अभावै अभावमा कष्टकर जीवन विताउनु पर्ने बाध्यता ग्रामीण भेगमा छ ।

राज्यले समावेशी सन्तुलित विकास गर्न नसक्दा दूरदराजका नागरिकले यो दुर्दशा व्यहोर्नु परेको छ । आज मान्छे बदलियो, गाउँ बद्लिएको छैन । गाउँ विकासको पर्खाइमा छ । पुँजी, जमिन, सीप र ज्ञानबाट गाउँलाई रुपान्तरण गर्नु राज्यको दायित्वभित्र छ । सबै मानिस सहर केन्द्रीत र विदेश पलायन हुदा भोलिका दिनमा रित्तिएको घर समाजको दुखान्त कस्तो देखिएला । यो हामीले पूर्वानुमान गर्नु पर्छ ।

बिरामी पर्दा स्वास्थ्य चौकीसम्म बोकेर वा डो¥याएर लैजाने कोही हुँदैन । गाउँमा न एम्बुलेन्स छ, न मानिस । कुनै घरमा कोही वित्दा सतिगति गर्न शवदाह स्थलसम्म पु¥याउने छिमेकी छैनन् । गाउँमा मानिसको उपस्थिति पातलिदै जाँदा शून्यता छाएको छ । दुःख पर्दा सहाराको खाँचो परिरहेको छ । यस्तो अवस्थामा स्थानीय नेतृत्वले विकासको योजना लागू गर्न सकेनन् । जिम्मेवारीलाई लाभ लिने पदको रुपमा ग्रहण गरिदा विकास कछुवाको गतिमा भएको छ ।

आजभोलि चाडवाड गाउँमा मात्र सीमित छैन, विश्वव्यापी रुपमा दशैं, तिहार लगायतका चाडपर्वलाई मनाउने गरिन्छ । यसले चाडपर्वको मौलिक मान्यता र पुस्तान्तरणमा सकारात्मक भूमिकालाई प्रवद्र्धन गरिरहेको छ । धेरै युवायुवती विदेश पलायन भएता पनि आफ्नो चाडपर्वलाई परम्परा, चालचलन अनुसार मनाइ राखेको पाइन्छ । आज आफ्ना बाबुआमालाई विदेशमा नै बोलाई चाडपर्व मान्ने चलन बढ्दै गएको छ । चाडपर्वको अवसरमा सबै परिवार एकै ठाउँमा जम्मा हुने वातावरण तय भयो । तर विदेशी भूमीमा चाडपर्व मनाउदा आफ्नो थातथलो, जन्मभूमि बिर्सिएको छ ।

विदेशी सुख, सुविधा र महत्वकांक्षी जीवनशैली बिताउने रहर जन्मिदा गाउँघर ओझेलमा परेको छ । गाउँ रित्तिनु निश्चित स्थानको मात्र समस्या होइन, यो राष्ट्रिय समस्या हो । मुलुकमा भएको सशस्त्र द्वन्द्व, विभिन्न समयमा भएका राजनीतिक परिवर्तन, प्राकृतिक विपद्ले पनि मानिसले सहर रोजेका हुन् । मानिसले गाउँ छोड्ने लहर महत्वकांक्षी सोचसँग पनि जोडिएको छ । मुलुक समृद्ध बन्न गाउँको विकासले कोल्टो फेर्नु पर्छ । गाउँमा स्थायी बसोबास गर्ने मानिसको जीवनस्तर बदलिनु पर्छ ।

भौगोलिक रुपमा समान रुपमा विकास ल्याउनु पर्छ । बढ्दो उत्पादन लागतले गर्दा मानिसले कृषि कर्म गर्न छाडिरहेका छन् । तसर्थ कृषिको आधुनिकीकरण, व्यावसायीकरण, विविधिकरण, औद्योगिकीकरण तथा बजारीकरण गरी युवालाई आकर्षित गर्नु पर्छ । भौगोलिक विकटता र विषमतालाई चिर्दै गाउँ र सहरका बीचमा भौतिक तथा प्राविधिक अन्तर–आवद्धता बढाउनु पर्छ । व्यावसायिक शिक्षालाई जोड दिँदै युवा उद्यमशीलताको विकास गर्नु पर्छ । राज्यसँग नागरिकको पहुँच अभिवृद्धि गर्न आधारभूत आवश्यकताको परिपूर्ति सरकारले गर्नु पर्छ । त्यसैगरी सामाजिक समावेशीकरणका आधारमा नागरिकको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु पर्छ ।

राज्यले भौगोलिक बनावट अनुसार कसैलाई काखा, कसैलाई पाखा गर्नु हुँदैन । गाउँमा नै बस्ने वातावरण दिलाउन पर्याप्त सेवा, सुविधा उपलब्ध गराउनु पर्छ । स्थानीय उत्पादन, भाषा, सँस्कृति, कलाको प्रवद्र्धन गरी आय आर्जनको बाटो स्थानीय नागरिकलाई दिलाउनु पर्छ । ग्रामीण भेगमा पर्यटकीय गन्तव्यको खोज अनुसन्धान गरी होटल, रेस्टुरा तथा होमस्टे सञ्चालन गर्न स्थानीय युवालाई प्रोत्साहन गर्नु पर्छ । विगतको तुलनामा गाउँको विकास नभएको होइन तर त्यसबाट स्थानीय जनताको आवश्यकता सम्बोधन हुन सकेन । विकास, निर्माणका कामको सुरुवात हुने तर पूर्ण रुपमा सम्पन्न गर्न नसक्नाले गाउँका मानिस दिक्क पर्दै गएका छन् । गाउँमा देखा पर्दै आएका विकास निर्माणका समस्यालाई तत्काल समाधान गर्न राज्य अग्रसर हुनु पर्ने देखिन्छ ।

मानिस भीडमा पुग्दैमा क्षमतावान् हुँदैन । शान्त र सृजनशील वातावरणमा पनि क्षमतालाई निखार्न सकिन्छ । भीडमा मानवता र संवेदना हराउछ । पैसा ठूलो हुन्छ । सहयोगी मन हुँदैन । तसर्थ अवसर र लाभ ग्रामीण भेगमा नै सुनिश्चित गर्न सरकारको दीर्घकालीन योजना तर्जुमा गर्न आवश्यक छ । ग्रामीण भेगमा रहेको स्रोतm साधनको उच्चतम प्रयोग गर्न सके स्थानीयलाई मात्र होइन, समग्र राष्ट्रलाई फाइदा पुग्न सक्छ । तसर्थ राज्यले सहर केन्द्रीत विकास भन्दा ग्रामीण भेगको विकासमा जोड दिनु पर्छ । तबमात्र रित्तिँदै गएको गाउँघरले पुनःजीवन पाउँछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->