सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

दसैँमा मासुका परिकार खाँदा के-के कुरामा ध्यान दिने ?

दसैँमा मासुका परिकार खाँदा के-के कुरामा ध्यान दिने ?

पेट दुखाइका पछाडि खानपानको असन्तुलन, भोकै बस्ने बानी, पिरो र अमिलो खानेकुरा, धुम्रपान तथा मद्यपान जस्ता थुप्रै कारण हुन सक्छन् ।


  • डा. विधाननिधि पौडेल
  • कार्तिक ३ २०८३, सोमबार

नेपालीहरूको महान् चाड दसैँमा खानपान मुख्य रूपमा जोडिन्छ । यस समयमा मासुका विभिन्न परिकारको उपभोग धेरै हुन्छ, जसमा चिल्लो, पिरो र मसलाको सम्मिश्रण धेरै हुन्छ । स्वस्थ मानिसका लागि सन्तुलित मात्रामा खानपान गर्दा खासै समस्या नभएपनि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ ।

एक वयस्क मानिसलाई दिनमा करिब १०० ग्राम मासु पर्याप्त हुने भएकाले आफ्नो स्वास्थ्य स्थितिअनुसार चिनीयुक्त र गुलिया परिकार एवं बढी फ्याट भएका खानेकुराको मात्रा नियन्त्रण गर्नु आवश्यक हुन्छ । मासु तथा अन्य परिकार खरिद गर्दा र पकाउँदा विशेष ध्यान दिनुपर्छ ।

बजारबाट मासु किन्दा ताजा, राम्रो र सफा ठाउँबाट मात्र लिने तथा बासी, गन्ध आएको वा चिपचिप परेको मासु प्रयोग नगर्नु उचित हुन्छ । मासुलाई घरमा ल्याएपछि तुरुन्तै काटेर फ्रिजमा सुरक्षित राख्नुपर्छ ।

मासु पकाउँदा छाला र बोसो हटाएर, कम नुन-मसला प्रयोग गरी उमालेर वा पक्कु बनाएर खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यस विपरीत बार्बीक्यु, सेकुवा वा तेलमा धेरै डढाएर फ्राइ गरिएका धुवाँदार परिकारहरू स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् । साथै, कलेजो, गिदी, फोक्सो, मिर्गौला र आन्द्राभुँडी जस्ता भित्री अङ्गहरूमा फ्याटको मात्रा उच्च हुने भएकाले यस्ता परिकार धेरै खानुहुँदैन ।

सामान्यतया पेटमा थोरै असजिलो वा दुखाइ हुनेबित्तिकै चिकित्सकको परामर्शबिनै आफैँ एन्टासिड वा पेनकिलर जस्तै डाइक्लोफेनाक, नेप्रोक्सिन, आइबुप्रोफेन वा एस्पिरिन जस्ता औषधि किनेर खाने बानी गलत हो ।

यसरी जथाभावी औषधि सेवन गर्दा त्यसको असर (साइड इफेक्ट) हुन सक्छ र पेटको वास्तविक समस्या पत्ता नलाग्न सक्छ । पेट दुखाइका पछाडि खानपानको असन्तुलन, भोकै बस्ने बानी, पिरो र अमिलो खानेकुरा, धुम्रपान तथा मद्यपान जस्ता थुप्रै कारण हुन सक्छन् । त्यसैले कुनै पनि समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्र उपयुक्त औषधिको सेवन गर्नु सुरक्षित मानिन्छ ।

ग्यास्ट्राइटिस हुनुको सबैभन्दा प्रमुख कारण ‘एच पाइलोरी’ नामका ब्याक्टेरियाको सङ्क्रमण हो । यो ब्याक्टेरिया दूषित पानी, सरसफाइ नगरिएका सागसब्जी, फलफूल तथा सङ्क्रमित व्यक्तिको र्‍याल वा जुठो खानेकुराबाट सजिलै सर्ने गर्छ ।

यही कारण साना बालबालिकादेखि युवा र वयस्कसम्म सबै उमेर समूहका मानिसहरूमा यो समस्या देखिन सक्छ । एच पाइलोरीका साथै मानसिक तनाव (स्ट्रेस), अनिँदो बस्ने बानी, दुखाइ कम गर्ने औषधिको बढी प्रयोग, धुम्रपान, मद्यपान र भोकै बस्ने वा एकाएक धेरै खाने जस्ता अस्वस्थ जीवनशैलीले पनि पेटमा एसिडको उत्पादन बढाए ग्यास्ट्रिक गराउँछ ।

चाडपर्वको समयमा स्वास्थ्यलाई राम्रो राख्न र ग्यास्ट्राइटिसबाट बच्न खानपान र जीवनशैलीमा सुधार ल्याउनु पर्छ । मासुका परिकारहरूसँगै हरियो सागसब्जी, ताजा फलफूल, दही र पर्याप्त मात्रामा शुद्ध पानी पिउनाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत पुग्छ ।

निश्चित समयमा खाने र सुत्ने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र तनावमुक्त भई सन्तुलित भोजन गर्नाले चाडपर्वको आनन्द लिनुका साथै शरीरलाई पनि पूर्ण रुपमा स्वस्थ राख्न सकिन्छ ।
(डा. पौडेल पेट तथा कलेजोरोग विशेषज्ञ हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->