दशैं विभिन्न प्रकारका मिष्ठान्न, मसलेदार र पक्वान्न भोजनको पर्व हो। आफन्तजनसँगको जमघट र रमाइलोको यो अवसरमा खानपानका अनेकौँ परिकार पाक्नु स्वाभाविकै हो।
विशेषगरी दशैंमा माछामासुका भारी परिकार धेरै खाने चलन छ। तर, स्वादको लोभमा अत्यधिक र असन्तुलित खानपान गर्दा हाम्रो पाचन प्रणालीमा समस्या उत्पन्न भई अस्वस्थ हुने जोखिम उत्तिकै रहन्छ।
आयुर्वेदमा शरीर स्वस्थ रहन पाचन शक्ति मजबुत हुनुपर्ने मान्यता छ। खानपानको भरपूर आनन्द लिँदै पेटलाई कसरी स्वस्थ राख्ने र दशैंको खान्की सहजै पचाउन के-कस्ता घरेलु तथा आयुर्वेदिक उपाय अपनाउने? यस विषयमा यहाँ विस्तृत चर्चा गरिएको छ।
खाना खानुअघि पेटलाई तयारी अवस्थामा राख्ने तरिका
कुनै पनि भारी परिकार खानुपूर्व आफ्नो पेटलाई त्यसका लागि तयार राख्नुपर्छ। यसका लागि बिहानीको सुरुवात नै सही हुनुपर्छ।
योग, व्यायाम र कपालभाँती : बिहान सबेरै उठेर मुख धुने, नित्यकर्म गर्ने र त्यसपछि योग, ध्यान तथा व्यायाममा समय दिनुपर्छ। व्यायाममध्ये पनि ‘कपालभाँती प्राणायाम’ अनिवार्य गर्नुपर्छ।
श्वास लिँदै र छोड्दै गरिने कपालभाँतीले पेटका भित्री अङ्गहरूको राम्रो कसरत हुन्छ। यसरी पेटको व्यायाम भएपछि हामीले दिउँसो खाने भारी खाना पचाउन पाचन प्रणालीलाई सहज हुन्छ।
कागती र बिरेनुन पानी : कपालभाँती लगायतका व्यायाम गरिसकेपछि एक गिलास मनतातो पानीमा एउटा कागतीको रस र स्वादअनुसार थोरै बिरेनुन घोलेर पिउनुपर्छ।
जिरा, ज्वानो र अदुवाको काँढा : कागती पानी पिएको केही बेरपछि आधा चम्चा जिरा, आधा चम्चा ज्वानो र एक टुक्रा अदुवालाई पिसेर वा कुटेर पानीमा उमाल्नुपर्छ। यसरी तयार भएको एक गिलास उमालेको पानी पिउनुपर्छ।
बिहानीपख यसरी दुई गिलास औषधीय पानी पिउनाले शरीरको पाचन प्रणाली अत्यन्तै सक्रिय र बलियो हुन्छ, जसले दिनभर खाइने खानालाई सहजै पचाउन मद्दत पुर्याउँछ। चाडपर्वमा मात्र नभई दैनिक जीवनमा नै यो बानी बसाल्नु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ।
कसरी र के खाने ?
पेटलाई तयारी अवस्थामा राखेपछि भोजनको चरण सुरु हुन्छ। दशैं सामाजिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण पर्व भएकाले जमघटमा परिकारहरू धेरै हुनु स्वाभाविक हो। तर, खाने तरिकामा संयमता अपनाउनु बुद्धिमानी हुन्छ।
सुरुवात शाकाहारी र हलुका खानाबाट : आयुर्वेदको दृष्टिले खाली पेटमा सिधै चिल्लो, पिरो, तारेको र भुटेको खानपान गर्नु हानिकारक हुन्छ। त्यसैले दिनको सुरुवात वा भोजनको थालनी हल्का शाकाहारी भोजनबाट गर्नुपर्छ।
सुरुमा विभिन्न किसिमका मौसमी फलफूल, हरियो सलाद र सागपात खानुपर्छ। यस्ता सहजै पच्ने खानेकुराले शरीरलाई आवश्यक पोषण दिनुका साथै पछि खाइने गरिष्ठ भोजन अर्थात् हेभी फुड पचाउनका लागि पेटलाई भित्रैदेखि तयार गर्छ।
पच्न गाह्रो हुने चिल्ला तथा गुलिया परिकार खानुअघि पनि हल्का खानेकुरा खाएर मात्र अघि बढ्ने बानी बसाल्नुपर्छ।
मासु खाँदा अपनाउनुपर्ने सतर्कता : आयुर्वेद स्वास्थ्यको दृष्टिले हेर्दा माछामासु जस्ता गरिष्ठ भोजन धेरै गर्नु उचित मानिँदैन। तर, चाडपर्वमा यस्ता भोजन गर्नै परे पनि आफ्नो शारीरिक क्षमताले धान्ने गरी, राम्ररी पकाएर थोरै मात्रामा मात्र खानुपर्छ।
त्यसमाथि पनि बोसोयुक्त, तेलमा डुबाएर तारेको, धेरै भुटेको र आगोमा सिधै पोलेको (सेकुवा) मासु त खानै हुँदैन। यस्तो मासु राम्रोसँग पच्दैन र पेटभित्रै सडेर खाना विषाक्त अर्थात् फुड पोइजनिङ बन्न सक्छ।
जसका कारण तत्काल झाडापखाला लाग्ने, बान्ता हुने र पेट दुख्ने समस्या निम्तिन सक्छ। दीर्घकालीन रूपमा भने यस्तो खानपानले ग्यास्ट्रिक, अल्सर तथा आन्द्रासम्बन्धी जटिल रोगहरू निम्त्याउने जोखिम हुन्छ।
खाना खाँदा २५ प्रतिशत पेट खाली राख्ने नियम : सधैँ ताजा, तातो र स्वस्थकर खाना मात्र खानुपर्छ। चाडपर्वको बेला एकैपटक धेरै नखाएर थोरै-थोरै तर पटक-पटक खाने बानी बसाल्नुपर्छ।
आयुर्वेद चिकित्साको नियमअनुसार पेटको क्षमतालाई चार भागमा विभाजन गर्नुपर्छ- आधा (५० प्रतिशत) भाग खाना, एक चौथाइ (२५ प्रतिशत) भाग पानी र बाँकी एक चौथाइ (२५ प्रतिशत) भाग हावाको आवागमन तथा पाचन क्रियाका लागि खाली नै छोड्नुपर्छ।
पेट टम्म भरिने गरी अटेसमटेस खाँदा पाचन रसहरूले काम गर्न पाउँदैनन् र अपच हुन्छ।
यसलाई एउटा उदाहरणबाट बुझ्न सकिन्छ- चार माना चामल पाक्ने भाँडोमा चारै माना चामल हालेर पकाउँदा भात राम्ररी नपाक्न वा डढ्न सक्छ। तर, त्यही भाँडोमा तीन माना मात्र चामल हालेर पकाउँदा भात राम्रोसँग पाक्छ। हाम्रो पेटको पाचन प्रणालीमा पनि यही नियम लागू हुन्छ।
यी खानेकुराबाट बचौँ : तत्कालै बनाएको ताजा अचार खान सकिए पनि धेरै दिनसम्म खाँदेको र पुरानो साँधेको अचार खानुहुँदैन।
त्यसैगरी मिठाई तथा सेलरोटीजस्ता अत्यधिक गुलिया र चिल्ला परिकार नखानु नै बेस हुन्छ। यस्ता खानेकुराले शरीरमा रक्तचाप असन्तुलित बनाउने, रगतमा सुगरको मात्रा एक्कासि बढाउने र कार्बोहाइड्रेटको मात्रा बढेर अन्य स्वास्थ्य समस्या निम्तिने जोखिम हुन्छ।
चिसो पेय र मदिराबाट टाढै रहौँ : फ्रिजमा राखिएका चिसो पेय पदार्थ सेवन गर्नुहुँदैन। यी पेय पदार्थ स्वास्थ्यका दृष्टिले हानिकारक हुन्छन्। त्यसको सट्टा ताजा फलफूलको रस, दही, मोही वा ताजा लस्सी पिउनु पाचनका लागि अमृतसमान हुन्छ।
दशैं-तिहार जस्ता पर्वमा रक्सी, बियरजस्ता मदिराजन्य पदार्थ पिउनु स्वास्थ्यका लागि अत्यन्त घातक हुन्छ, त्यसैले यस्ता पेयबाट टाढै रहनुपर्छ। धूम्रपान त पूर्ण रूपमा निषेध नै गर्नुपर्छ।
शाकाहारीका लागि सुझाव : शाकाहारी भोजन गर्नेहरूले पनि धेरै पनिर, घिउ वा बटरजस्ता चिल्लो पदार्थको अत्यधिक सेवन गर्नुहुँदैन। यी परिकार धेरै खाँदा पनि अपच भएर पेट गडबड हुन सक्छ।
यस्तै, खाजाका रूपमा चिउरा, मासुको भुटन र पिरो अचार खाने चलन छ; यस्तो खाजा अत्यधिक अपच गराउने खालको हुने भएकाले सकेसम्म नखाएकै राम्रो।
खाइसकेपछि के गर्ने र के नगर्ने ?
खानासँगै टन्न पानी नपिउने : एउटा महत्त्वपूर्ण नियम के हो भने, खाना खाइरहेको बेला वा खाइसकेलगत्तै धेरै पानी कहिल्यै पिउनुहुँदैन।
खाना खाँदाखाँदै वा खाएलगत्तै टन्न पानी पिउँदा पेटमा हावाका लागि ठाउँ रहँदैन र पाचक अग्नि निभ्न पुग्छ। यसले पाचन प्रक्रियाको चक्र नै बिग्रिएर खाएको खाना नपच्ने र ग्यास्ट्रिक हुने समस्या हुन्छ। त्यसैले खाना खानुभन्दा आधा घण्टाअगाडि र खाना खाएको आधा घण्टापछि मात्र आवश्यकताअनुसार पानी पिउनुपर्छ।
खाएर तुरुन्तै नसुत्ने : हामीकहाँ खानपान गरिसकेपछि तुरुन्तै ओछ्यानमा पल्टिने वा सुत्ने बानी धेरैको हुन्छ, जुन स्वास्थ्यका दृष्टिले निकै हानिकारक हो।
ज्वानो चपाउने र १० मिनेट टहल्ने : खाना खाइसकेपछि वयस्क व्यक्तिले एक चम्चा काँचो ज्वानोको दाना मुखमा राखेर राम्ररी चपाएर निल्नुपर्छ।
ज्वानोमा हुने प्राकृतिक गुणले पेटको जठराग्निलाई प्रज्वलित गर्छ, जसले पेटलाई मजबुत बनाएर खाना सहजै पचाउन मद्दत गर्छ। त्यसैले भोजनपछि ज्वानो खानु आयुर्वेदमा उत्तम मानिन्छ।
ज्वानो खाइसकेपछि कम्तीमा १० मिनेट मन्द गतिमा हिँड्डुल गर्नुपर्छ। तर, खाना खाएलगत्तै दौडिने वा कडा व्यायाम गर्ने भने गर्नुहुँदैन। दौडिँदा बान्ता हुने, पेट बटारिने वा अन्य शारीरिक असहजता उत्पन्न हुन सक्छ।
मौसम अनुकूलको दिनचर्या र रात्रीचर्या
वर्षा ऋतुको अन्त्यसँगै शरद् ऋतुको चिसो मौसम सुरु हुने संक्रमणकालीन समयमा दशैं, तिहार र छठजस्ता ठूला पर्वहरू पर्छन्।
मौसम परिवर्तन भइरहेको यो समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता र पाचन शक्ति कमजोर हुन सक्छ। त्यसैले आयुर्वेद शास्त्रमा उल्लेख भएअनुसार आफ्नो दैनिक जीवनमा ‘दिनचर्या’ र ‘रात्रीचर्या’को नियम कडाइका साथ पालना गर्नुपर्छ।
चाडपर्वको बहानामा मध्यरातसम्म जाग्राम बस्ने, बिहान अबेरसम्म सुत्ने र जुनसुकै समयमा खाने बानीले शरीरको जैविक घडी अर्थात् बायोलोजिकल क्लक बिगार्छ। त्यसैले समय व्यवस्थापन गरेर दैनिक कार्यतालिकाअनुसार चल्नुपर्छ:
बिहान सूर्योदयभन्दा अगाडि (ब्रह्ममुहूर्त) मा उठेर नित्यकर्म सुरु गर्नुपर्छ। दिनभरको काम तथा भेटघाटपछि साँझको खाना सकेसम्म सूर्यास्तको समय आसपास वा निकै सबेरै खाएर केही बेर आराम गरी सुत्नुपर्छ।
एक वयस्क व्यक्तिले दैनिक ६ देखि ७ घण्टाको पर्याप्त र गहिरो निद्रा लिनैपर्छ।
चाडपर्वमा मात्रै नभएर सधैँभरि ‘स्वस्थ आहार, स्वस्थ विहार र स्वस्थ आचरण तथा सदाचार’ को पालना गर्न सके व्यक्ति शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक रूपमा सधैँ निरोगी रहन सक्छ।
यसलाई केवल जानकारीमा मात्र सीमित नराखी व्यवहारमा उतारेर स्वस्थ र उल्लासमय रूपमा दशैं मनाऔँ।
(वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. श्याम बाबु यादवसँग कुराकानीमा आधारित)





