आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

कम तौल भएका शिशुको सघन उपचार सफल भयो धौलागिरि अस्पतालमा

कम तौल भएका शिशुको सघन उपचार सफल भयो धौलागिरि अस्पतालमा

इन्क्युबेटरमा राखेर उपचार गर्नुका साथै एन्टिबायोटिक, फोटोथेरापी र पोषण व्यवस्थापन गरेपछि स्वास्थ्यमा सुधार


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८३, आइतबार

बागलुङ / धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा समय नपुगी जन्मिएका र कम तौल भएका तीन शिशुको सफल उपचार गरिएको छ । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा उपचाररत जैमिनी नगरपालिका-१०, काठेखोला गाउँपालिका-६ र बडिगाड गाउँपालिका-९ का शिशुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको हो ।

धौलागिरि प्रादेशिक अस्पतालका प्रमुख डा. किरण तिवारीका अनुसार आवश्यक उपचार र हेरचाहपछि तीनै शिशुको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको छ । उपयुक्त तौल वृद्धि भएपछि उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

अस्पतालका अनुसार जैमिनी नगरपालिका-१० का शिशु ३५ हप्ता तीन दिनमा एक हजार ५८० ग्राम तौलसहित जन्मिएका थिए । आमामा फोक्सोको क्षयरोग पुष्टि भएपछि शिशुमा पनि क्षयरोगको जोखिम आकलन गरिएको थियो । परीक्षणमा शिशुको रिपोर्ट नेगेटिभ आएपछि आवश्यक पोषण, कङ्गारु मदर केयर र क्षयरोग रोकथामसम्बन्धी उपचार प्रदान गरिएको छ ।

त्यस्तै, काठेखोला गाउँपालिका–६ का शिशु ३६ हप्ता तीन दिनमा एक हजार ४९० ग्राम तौलसहित जन्मिएका थिए । उनीमा नवजात संक्रमण र जन्डिसको समस्या देखिएको थियो ।

इन्क्युबेटरमा राखेर उपचार गर्नुका साथै एन्टिबायोटिक, फोटोथेरापी र पोषण व्यवस्थापन गरेपछि स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ ।

बडिगाड गाउँपालिका-९ की शिशु अस्पताल ल्याउने क्रममा बाटोमै जन्मिएकी थिइन् । उनी ३४ हप्ता दुई दिनमा एक हजार ४०० ग्राम तौलसहित जन्मिएकी थिइन् ।

उनमा रगतमा क्याल्सियमको कमी र जन्डिसको समस्या देखिएको थियो । नवजात शिशु सघन उपचार कक्षमा विशेष निगरानी, इन्क्युबेटर, क्याल्सियम, फोटोथेरापी र कङ्गारु मदर केयर सेवा प्रदान गरेपछि उनको स्वास्थ्य सामान्य बनेको अस्पतालले जनाएको छ ।

तीनै शिशुको उपचारमा अस्पतालका प्रमुख डा. किरण तिवारी, बालरोग विशेषज्ञ डा.यशोदा पौडेल, डा. कमल पुष्प थापा र डा. निरज पौडेलसहित चिकित्सक तथा नर्सिङ टोली संलग्न थिए ।

समय नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई विशेष निगरानी तथा उपचार आवश्यक पर्ने भएकाले नवजात शिशु सघन उपचार कक्षले जोखिमपूर्ण अवस्थाका शिशुको उपचारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालमा तीन वर्षअघि नवजात शिशुका लागि छुट्टै सघन उपचार कक्ष स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->