पोखरा / नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत फूलपातीका अवसरमा आज (शनिबार) पोखरामा पनि परम्परागत विधिअनुसार फूलपाती भित्र्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा शनिबार आश्विन शुक्ल सप्तमीका दिन बाजागाजा, ब्यान्डबाजा र बृहत् ¥यालीसहित पोखराको प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको हो ।

पोखराको सिद्धार्थचोकबाट सुरु भएको ¥याली भीमसेन मन्दिर, नालाको मुख र मोहरियाटोल हुँदै विन्ध्यवासिनी मन्दिर पुगेको थियो ।
¥यालीमा सुरक्षा निकायका टोलीले ब्यान्डबाजासहित सांगीतिक धुन प्रस्तुत गरेका थिए । विन्ध्यवासिनी मन्दिर पुगेपछि विधिपूर्वक पूजाआजा गरी वलि दियर फूलपाती भित्र्याइएको थियो । सो अवसरमा सुरक्षा निकायका तर्फबाट मन्दिरलाई सलामीसमेत अर्पण गरिएको थियो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीका अनुसार अघिल्ला वर्षहरूमा जस्तै यस वर्ष पनि धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै शक्तिपीठका रूपमा प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा विधिपूर्वक फूलपाती भित्र्याइएको हो । उक्त फुलपाती विन्ध्यावासिनी मन्दिरबाट पुनः सुरक्षानिकायको पूजा गर्ने मन्दिर वा पूजा कोठामा फुलपाती लगिएको हो ।

बाजागाजा र ब्यान्डबाजासहित निकालिएको ¥यालीले पोखराको धार्मिक तथा सांस्कृतिक वातावरणलाई थप उल्लासमय बनाएको थियो ।
नेपाली परम्परा अनुसार आश्विन शुक्ल सप्तमीका दिन फूलपाती भित्र्याएर नवदुर्गाको पूजा गरिन्छ ।





