पोखरा/कालिका बोर्डिङ स्कुलको बस दुर्घटनामा ज्यान गुमाएका विद्यार्थी तथा स्थानीय नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । ओख्लेभीरमा भएको दुर्घटनाका मृतकहरुको सम्झना पोखरा महानगरपालिका वडा नम्बर २८ ले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो ।
यही असोज २३ गते माझठानाबाट कालिकातर्फ जाँदै गरेको कालिका बोर्डिङको बस ओख्लेभीरमा दुर्घटना हुँदा४ विद्यार्थीसहित ५ जनाको मृत्यु र १९ जना घाइते भएका थिए ।
दुर्घटनामा विद्यार्थीहरू ममता तिवारी, अशिम कँडेल, सुवेच्छा तिवारी, रेनुका नेपाली तथा ६५ वर्षीय स्थानीय बाबुराम तिवारीको ज्यान गएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले घाइतेहरूको उपचारमा महानगरपालिकाले सहयोग गर्ने बताए ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी दिनमा यस्ता घटना हुन नदिन सावधानी अपनाउनुपर्ने बताए । पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले वडा कार्यालयको पहलमा मृतकहरुकोसम्झनामा स्मृति पार्क बनाइने बताए ।





