शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ज्येष्ठ नागरिक भजन समूहलाई उपाधि

ज्येष्ठ नागरिक भजन समूहलाई उपाधि


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८३, शनिबार

पोखरा/विश्व खाद्य दिवसको अवसरमा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहले जितेको छ।बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा पोखरा–६ को कृषि सञ्जाल दोस्रो, पोखरा–२४ को गुन्टेचौर कृषक समूह तेस्रो तथा पोखरा–२५ को कृषि सञ्जालले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समूहले क्रमशः ३० हजार, २० हजार, १० हजार र पाँच हजार रुपैयाँसहित प्रमाणपत्र पाए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषकले अब व्यावसायिक कृषिमा जोड दिनुपर्ने बताए । विश्व खाद्य दिवसले खाद्य सुरक्षाको महत्त्व उजागर गर्ने बताउँदै उनले कोही पनि खानाको अभाव रहन नपर्ने अवस्था सिर्जना गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, कृषि विज्ञ तथा पूर्वकृषि सचिव वासुदेव रेग्मी, पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक एवं वडा नम्बर १४ का अध्यक्ष बोधबहादुर कार्की र आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले विश्व खाद्य दिवस र कृषि क्षेत्रको महत्त्वबारे बोलेका थिए ।

कार्यक्रम संयोजक घनश्याम पाण्डेलले कृषि क्षेत्रको प्रवर्धन, किसानको योगदानको सम्मान र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले भोटेकोसीमा आएको बाढीका कारण तीजमा आयोजना गर्ने भनिएको कार्यक्रम स्थगित भएपछि विश्व खाद्य दिवसका अवसरमा प्रतियोगिता गरिएको जानकारी दिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका अधिकारी पराजुली र पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले कृषि र पर्यटनलाई सँगसँगै अघि बढाउनुपर्ने बताए ।

कार्यक्रममा दसैँलक्षित सुपथ मूल्य पसल र रैथाने कृषि उपजको प्रदर्शनी तथा बिक्रीसमेत गरिएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनसँगको समन्वयमा खाद्यान्न सहुलियत मूल्यमा बिक्री गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लोकदोहोरी क्षेत्रका कलाकार तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पशुपति शर्मा, पूर्वअध्यक्ष प्रजापति पराजुली र गण्डकी प्रदेश अध्यक्ष माया गुरुङलगायतको प्रस्तुति रह्यो । प्रतियोगिताको निर्णायक संयोजक प्रजापति पराजुली र निर्णायकमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जीवन दाहाल र कृषि प्राविधिक दिव्या बराल थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->