आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दशैँ: मिथक, मौलिकता र अबको बाटो

दशैँ: मिथक, मौलिकता र अबको बाटो

एउटा चेतनशील समाजमा कुनै घटना तथा परिवेशप्रति देखापर्ने विचार तथा अभिव्यक्तिहरू सामाजिक प्रक्रिया हुन्। त्यसैले तिनलाई सहज रूपमा लिनुपर्छ।


  • प्रकाश शर्मा
  • कार्तिक २ २०८३, आइतबार

सम्पूर्ण नेपालीहरूको महान् चाड एवं हिन्दु धर्मावलम्बीहरूको विशेष चाड दशैँ अर्थात् विजयादशमीको आगमनसँगै नेपाली सञ्चारमाध्यमहरूमा यसको पक्ष र विपक्षमा विरोधाभासपूर्ण अभिव्यक्तिहरू आउने गरेका छन्। ती अभिव्यक्तिहरूलाई वर्गीकृत रूपमा गहन विश्लेषण गर्ने हो भने तिनले नेपाली समाजको चरित्रलाई प्रतिबिम्बित गरेको बुझ्न सकिन्छ।

दशैँसँग सम्बन्धित अभिव्यक्तिहरूको अध्ययन गर्दा मुख्यतः चार प्रकारका अभिव्यक्ति पाइन्छन्।

पहिलो, हिन्दु अतिवादी अभिव्यक्ति, जसले दशैँलाई विजयादशमीका रूपमा हिन्दुहरूको मात्र महान् चाड मान्ने गर्छ।

दोस्रो, हिन्दु सुधारवादी धारणा, जसले यसलाई हिन्दुहरूको मात्र नभई राष्ट्रिय चाड र एकताको सूत्रका रूपमा लिने गर्छ।

तेस्रो, विरोधी अतिवादी अभिव्यक्ति, जसमा हिन्दु जनजातिहरूसमेत पर्दछन्। उनीहरूले दशैँ बहिष्कारको अभिव्यक्ति दिने गरेका छन्।

चौथो, उदारवादी विरोधी अभिव्यक्ति, जहाँ हिन्दु तथा गैरहिन्दुहरूले दशैँ मनाउने कुरामा आफ्नो अपनत्व खोजिरहेका छन्।

हिन्दु अतिवादी अभिव्यक्तिहरूले रामायणमा रामद्वारा रावणको वध तथा पुराणमा देवीद्वारा दानवको वधसम्बन्धी मिथकलाई यस पर्वको सुरुवातसँग जोडेर हेर्ने गरेका छन्। अयोध्याका राजा रामले लङ्काका राजा रावणलाई पत्नी सीताको अपहरणको घटनासँग जोडेर गरेको वधलाई विजय उत्सवका रूपमा मनाउँदै त्यसैबाट दशैँ मनाउने चलनको सुरुवात भएको दाबी गर्छन्।

साथै, देवी-दानव युद्धलाई पनि त्यत्तिकै महत्त्व दिन्छन् र शक्तिको प्रतीकका रूपमा सम्पूर्ण शक्तिपीठहरूमा देवीका विभिन्न स्वरूपको पूजा–आराधना गर्ने गर्छन्। यस पर्वलाई कुकर्मको दण्ड र असत्यमाथि सत्यको विजयका रूपमा लिँदै रातो टीका लगाएर दशैँ मनाइन्छ। यस वर्गमा पर्ने अभिव्यक्तिहरूले दशैँ बिदामा गरिएको कटौतीलाई बहुसङ्ख्यक हिन्दुहरूको अपमानका रूपमा हेर्छन्। देशको धर्मनिरपेक्षताको यात्रालाई हिन्दु धर्मप्रतिको धोका मान्दै पुनः हिन्दु राज्यको माग गर्छन्। यी मतहरूले दशैँलाई विशुद्ध हिन्दुहरूको चाडका रूपमा लिने गरेका छन्।

दोस्रो, हिन्दु सुधारवादी अभिव्यक्तिहरूले यस पर्वको सुरुवातलाई दुर्गामाताले महिषासुर राक्षसको वध गरेको मिथकसँग बढी जोडेर हेर्ने गरेका छन्। दुर्गामाताद्वारा महिषासुरको वध सत्यको असत्यमाथिको विजय अथवा दैवी शक्तिद्वारा आसुरी प्रवृत्तिको विनाशसँग सम्बन्धित छ। विभिन्न हिन्दु ग्रन्थहरूमा यस मिथकको चर्चा गरिएको छ। तीमध्ये प्रमुख रूपमा मार्कण्डेय पुराणको ‘श्री दुर्गासप्तशती’ ९जसलाई ‘देवीमाहात्म्य’ पनि भनिन्छ० मा महिषासुर वधको कथा विस्तृत रूपमा वर्णन गरिएको छ।

यसै मिथकसँग जोडेर दशैँ पर्वको सुरुवात भएको र हालसम्म मनाइँदै आएको विश्वास छ। त्यसैले दशैँमा दुर्गामाताको विशेष पूजा–आराधना गरिन्छ। यस वर्गमा पर्ने अभिव्यक्तिहरू हिन्दु परम्परासँग सम्बन्धित भए पनि दशैँ असत्यमाथि सत्यको विजय अथवा आसुरी प्रवृत्तिमाथि दैवी प्रवृत्तिको विजयसँग सम्बन्धित भएकाले यो सम्पूर्ण मानव जगत्सँग सम्बन्धित छ र हामी सबैले मिलेर यो पर्व मनाउँदै यसलाई विश्वबन्धुत्व र बृहत् मानव कल्याणसँग जोड्नुपर्छ भन्ने फराकिलो मान्यता राख्छन्।

तेस्रो, विरोधी अतिवादी अभिव्यक्तिहरूमा हिन्दु धर्म मान्नेहरूमध्येका केही, विशेषतः जनजाति नेतृत्वका अभिव्यक्तिहरू पर्दछन्। उनीहरूले दशैँ पर्वलाई हिन्दु, त्यसमा पनि ब्राह्मणवादी चिन्तनको एउटा रूप मान्छन्। उनीहरू राम–रावण युद्धको मिथकसँग असहमति राख्छन्। नेपाल र भारतका केही आदिवासी, जनजाति तथा दलित समुदायमा रामायण र राम–रावण युद्धका सम्बन्धमा प्रचलित कथालाई फरक दृष्टिकोणबाट हेर्ने र रावणलाई नायक वा आफ्नो पुर्खाका रूपमा सम्मान गर्ने परम्परा वा वैचारिक धार पाइन्छ।

रावणलाई जनजातिको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै जनजातीय पहिचानको दमनलाई उत्सवका रूपमा मनाउनु ब्राह्मणवादी अतिवादको स्वीकारोक्ति हो भन्दै उनीहरू दशैँ बहिष्कारलाई आफ्नो पहिचानको सङ्घर्षका रूपमा लिन्छन्। त्यस्तै, अन्य धर्मसँग सम्बन्धित व्यक्तिहरूका अभिव्यक्तिले पनि दशैँ पर्वलाई राज्यले दिएको अत्यधिक प्राथमिकतालाई धर्मनिरपेक्षताको विरुद्धमा रहेको मान्छन्। उनीहरू अझै पनि राज्य हिन्दु धर्मको प्रभावबाट बाहिर आउन नसकेको भन्दै विरोध गरिरहेका छन्।

चौथो, उदार सुधारवादी विरोधी अभिव्यक्तिहरूमा हिन्दु, जनजाति तथा अन्य धर्मका व्यक्तिहरूका अभिव्यक्ति पर्दछन्। यस्ता अभिव्यक्तिहरूमा दशैँलाई राष्ट्रिय पर्वका रूपमा मनाउन यस पर्व मनाउने केही प्रचलनमा परिवर्तन गर्दै हिन्दुहरूको मात्र नभई सबैको अपनत्व हुने गरी जनजाति र अन्य धर्मका मानिसहरूको समेत सहभागिता सुनिश्चित गर्नुपर्छ भन्ने धारणा रहेको छ। सबैको सहभागिता र अपनत्वको विकासले मात्रै यस पर्वलाई राष्ट्रिय पर्व बनाउन सक्छ भन्ने उनीहरूको मान्यता छ। उनीहरू देवीपूजामा विश्वास नगरे पनि आफन्त र इष्टमित्रसँगको भेटघाट तथा शुभकामना आदानप्रदानमा सहभागी हुन्छन्।

एउटा चेतनशील समाजमा कुनै घटना तथा परिवेशप्रति देखापर्ने विचार तथा अभिव्यक्तिहरू सामाजिक प्रक्रिया हुन्। त्यसैले तिनलाई सहज रूपमा लिनुपर्छ। साथै, त्यस्ता अभिव्यक्तिहरूको गहन विश्लेषण गर्दै तिनभित्र लुकेर रहेका सामाजिक चरित्रहरूको पहिचान गर्नु र आउन सक्ने समस्याहरूलाई समयमै समाधान गर्नु नै उचित कदम हो। दशैँ पर्वप्रति अभिव्यक्त धारणाहरूको विश्लेषण गर्दा पक्ष र विपक्षमा दुई प्रकारका अभिव्यक्ति छन्स् अतिवादी र उदारवादी।

जब दुई वा दुईभन्दा बढी धर्म, सम्प्रदाय तथा विचारका मानिसहरू मिलेर बस्ने सन्दर्भ आउँछ, सबै प्रकारका अतिवाद बाधक बन्न सक्छन्। त्यसैले अबको हाम्रो बाटो भनेको दशैँ पर्वलाई दुवै प्रकारका अतिवादी धारणाबाट अलग गर्ने मध्यमार्ग नै हो।

मिथकहरूले हाम्रा विचार र क्रियाकलाप निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। तसर्थ, हामी मिथक छनोटमा समेत सचेत रहनुपर्छ र सोहीअनुसारका मिथकहरूलाई प्राथमिकता दिनुपर्छ। दशैँका धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्षहरूलाई जीवन्त राख्दै सबैको अपनत्व हुने गरी यसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने वातावरण बनाउनु नै उपयुक्त विकल्प हो।

यसरी हेर्दा, दशैँ पर्वको आगमनसँगै देखापर्ने पक्ष र विपक्षका अभिव्यक्तिहरूलाई एउटा चाडपर्वप्रतिको सामान्य प्रतिक्रियाका रूपमा मात्र सामान्यीकरण गरियो भने त्यो गलत हुनेछ। यस्ता अभिव्यक्तिहरूमा हाम्रो समाजको चरित्र प्रतिबिम्बित हुने गर्छ। त्यसैले यिनीहरूको गम्भीरतापूर्वक विश्लेषण गर्दै समाजमा आउन सक्ने सामाजिक तथा धार्मिक भड्कावलाई सतहमा देखापर्नुभन्दा अगाडि नै समाधान गर्नुपर्छ।

कुनै पनि धर्म तथा सम्प्रदायमा देखापर्ने अतिवादलाई समयमै समाधान गर्न सकिएन भने त्यसले उग्र रूप लिन सक्छ। यसबाट ठूलो धनजनको क्षति हुनाका साथै राष्ट्रिय एकतामा समेत खलल पुग्न सक्छ। त्यसैले दशैँ पर्वको मर्म जीवित रहने गरी सबै धर्म र सम्प्रदायका मानिसहरूले मनाउन सक्ने वातावरण बनाउन यसका प्रक्रियाहरूमा केही परिवर्तन गरी यसलाई राष्ट्रिय मौलिक पर्वका रूपमा अगाडि बढाउनु उपयुक्त हुन्छ। यसले हाम्रो समाजको विशेषताका रूपमा रहेको धार्मिक सहिष्णुतालाई जीवन्त राख्न र समाजमा एकअर्काप्रति रहेको आत्मीयतालाई समेत कायम राख्न मद्दत गर्नेछ।
उप-प्राध्यापक, धवलागिरि बहुमुखी क्याम्पस, बागलुङ ९८४७६२११६६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->