पर्वत/पहिलो पटक पर्वत जिल्ला आएका पाँचथरका २७ वर्षीय राजन मेयोङवा दुर्लुङकोटमा आयोजित प्रथम हाफ म्याराथन प्रतियोगिताको विजेता बन्न सफल भएका छन् ।
प्रतियोगितामा सहभागी हुन र पर्वतको पर्यटकीय क्षेत्र घुम्ने उद्देश्यले आएका मेयोङवाले प्रतिस्पर्धी धावकलाई पछि पार्दै उपाधिसहित एक लाख रुपैयाँ पुरस्कार जितेका हुन् । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा शनिवार फूलपातीका दिन सम्पन्न प्रतियोगितामा मेयोङवाले निर्धारित दूरी १ घण्टा २५ मिनेटमा पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन् । पर्वतको कुश्मा नगरपालिका–१३ का सरोज कुमारले १ घण्टा २६ मिनेटमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरे भने सञ्जय राई १ घण्टा २९ मिनेटमा निर्धारित दूरी पार गर्दै तेस्रो भए ।
त्यसैगरी गजेन्द्र राईले १ घण्टा ३५ मिनेटमा दौड पूरा गर्दै चौथो स्थान हासिल गर्दा गोपाल तामाङ १ घण्टा ३७ मिनेटमा दौड पूरा गरी पाँचौँ भए । प्रतियोगिताका प्रमुख रेफ्री जगदीश कुँवरका अनुसार प्रतियोगितामा ६५ जना धावक सहभागी भएका थिए । तीमध्ये ३३ जनाले निर्धारित दूरी पूरा गरेका थिए ।
प्रतियोगितामा प्रथम हुने मेयोङवाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा द्वितीय हुने सरोज कुमारले ६० हजार, तृतीय हुने सञ्जय राईले ४० हजार रुपैयाँ पुरस्कार पाए । त्यस्तै, चौथो र पाँचौँ स्थान हासिल गर्ने धावकले क्रमशः २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको पर्वतको दुर्लुङकोट क्षेत्रमा पहिलो पटक आयोजना गरिएको प्रतियोगिता मोदी गाउँपालिका–६, पातीचौरबाट सुरु भएको थियो । भ्याप्ले, अम्बोट, परादी, चुवा, खरेहा हुँदै दुर्लुङचोक पुगेका धावकहरू त्यहाँबाट गोदाम, सल्यान र देउराली हुँदै कुश्मा नगरपालिका–३ स्थित कोटगाउँ पुगेर दौड पूरा गरेका थिए ।
दुर्लुङकोट क्षेत्रको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास तथा स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको दुर्लुङकोट म्याराथन समाजका अध्यक्ष भीमबहादुर गुरुङले बताए । खेलकुदमार्फत युवालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्दै पर्यटनको सम्भावना बोकेको दुर्लुङकोट क्षेत्रलाई थप चिनाउने लक्ष्य प्रतियोगिताले लिएको उनले बताए ।
पहिलो पटक आयोजना गरिएको हाफ म्याराथनमा जिल्लाबाहिरका धावकको सहभागिता र प्रतिस्पर्धी दौडले दुर्लुङकोटलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने सम्भावनालाई सहयोग पुगेको छ ।





