पोखरा/गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विवाद भएको छ । संघको दोस्रो अधिवेशन एवं साधारणसभामा संस्थापक कार्यसमिति र अन्य सदस्यबीच विवाद भएको हो ।
नेपाल भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघको विधान बाझिएपछि निर्वाचन रोकिएको छ । अधिवेशन प्रदेशकै विधानअनुरुप गर्ने गरी सुरु भए पनि उद्घाटन सत्र सकिएपछि भने केन्द्रको विधान बमोजिम अधिवेशन एजेन्डा उठेपछि निर्वाचन रोकिन पुगेको हो । निर्वाचनअघि केन्द्रकै विधानअनुसार अधिवेशन गर्ने भन्ने कुरा भएपछि संस्थापक समूहले अस्वीकार गर्दै बाहिरिएको एक संस्थापक सदस्यले बताए ।
उनका अनुसार संस्थापक कार्यसमितिका सबै पदाधिकारीले अधिवेशन बहिष्कार गर्दै बाहिरिएका हुन् । ‘यो सबै पूर्व तयारीका साथ बनेको योजना रहेछ । पुराना सबै निस्किए अब नयाँ कार्यसमिति सर्वसम्मत बन्ने देखिएको छ,’ ती पदाधिकारीले भने, ‘भलिबल संघका अध्यक्षसँग बिहान कुरा हुँदा प्रदेशकै विधान अन्तर्गत अधिवेशन गर्नु केन्द्र र प्रदेश एउटै हो भन्नुभयो । अहिले फेरि त्यसलाई परिवर्तन गरी केन्द्रको विधान अनुसार अघि बढेका कारण पुराना सबै निस्किए ।’
संघकै अर्का पदाधिकारीले केन्द्रको विधानले प्रतिनिधिलाई समेत पदाधिकारीमा उठ्ने व्यवस्था गरेको सुनाए । तर, प्रदेशको विधानले भने प्रतिनिधि पदाधिकारीमा उठ्न नपाउने व्यवस्था गरेको छ । यही कारण अधिवेशन रोकिएको हो । नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष एवं निर्वाचन समिति संयोजक याम गुरुङले विधान बाझिएको कारण निर्वाचन रोकिएको पुष्टि गरे । उनले विवाद समाधानका लागि पहल भएको र आजका लागि निर्वाचन स्थगित गरिएको जानकारी दिए ।
‘विधान बाझिएका कारण निर्वाचन स्थगित हुन पुगेको छ । हामीले केन्द्रमा पत्राचार गरेका छौं । प्रदेशको विधानअनुसार निर्वाचन गराउने कि संघको विधानअनुसार भनेर’, उनले भने, ‘अब केन्द्रबाट जे लिखित निर्देशन आउँछ, सोही बमोजिम हामी अघि बढ्छौं ।’ संघको अध्यक्षमा चार जनाको चर्चा छ ।
हालका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष राजेन्द्र जिसी, उपाध्यक्ष वीरेन्द्र खड्का, विनोद तुलाचन र लक्ष्मण श्रेष्ठको अध्यक्षमा चर्चा छ । यस्तै महासचिवमा तीन जनाको चर्चा छ । महासचिव पदका लागि चन्द्रबहादुर गुरुङ (जापान), टुकबहादुर गुरुङ र लेखनाथ लम्सालको चर्चा छ । अधिवेशनमा ११ जिल्लाबाट दुई–दुई जनाका दरले २२ जना प्रतिनिधि तथा वर्तमान कार्यसमितिका १५ जना गरी कुल ३७ जना प्रतिनिधि छन् ।





