पोखरा / नेपाली क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि सरकारले पोखरा रंगशालाको क्रीकेट मैदानसहित देशका ८ शहरमा क्रीकेट रंगशाला निर्माण गर्ने भएको छ । प्रधानमन्त्री बालेन्द्र साहले फाप्ला क्रीकेट रंगशालाको काम अघि बढेको सुनाउदै ३ महिनाभित्र एनपीलमा आबद्ध आठवटै फ्रेन्चाइज क्लबको सहरमा रंगशाला निर्माण गर्ने भएको हो ।
एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित सबै आठ क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्न लागिएको हो । रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ ।
प्रस्तावित योजनाअनुसार पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रंगशाला, विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि फाप्ला क्रिकेट रंगशाला निर्माण गरिनेछ । त्यस्तै, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशालालाई क्लबको घरेलु मैदानका रूपमा विकास गर्ने योजना छ ।
क्रिकेटलाई व्यावसायिक रूपमा अघि बढाउन र देशभर यसको विस्तार गर्न आवश्यक पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेनले बताएका छन । आठवटै क्लबका लागि आफ्नै फ्लडलाइटयुक्त रंगशाला निर्माण भए एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्न सहज हुनेछ ।





