काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।
प्रधानमन्त्री शाह भारतको राजीकय भ्रमणका लागि भोलि आइतबार मंसिर ६ गते दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारतको राजकीय भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री शाह दिल्ली पुगेपछि पहिलो भेट भारतका विदेशमन्त्री एस जयशंकरसँग हुने तय भएको छ।
शाहले मंसिर ७ गते भारतीय प्रधानमन्त्री मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्ताका क्रममा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बताए।
‘भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद व्यवस्थापन, मानव संशाधन विकास जस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्,’ राईले भने, ‘यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुनेछ।’
नेपालका लागि भारत ठूलो र महत्वपूर्ण विकास साझेदार रहेकाले दुवै देशका नेतृत्वबीच विकास साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
‘द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने दिशामा उच्चस्तरीय भ्रमणहरू अपरिहार्य हुन्छन्,’ परराष्ट्र सचिव राईले भने, ‘हाम्रा दुई देशबीच इतिहास, सभ्यता, संस्कृति तथा जनस्तरको घनिष्ठ सम्बन्ध रहिआएको छ। आसन्न भ्रमणले नेपाल र भारतबिचको मैत्रीपूर्ण एवं सहयोगात्मक सम्बन्धलाई थप उचाइ प्रदान गर्नसमेत महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।’
प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ।
प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्।
त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्।





