पोखरा/‘हेमजा साहित्य महोत्सव–२०८३’ शनिबारबाट सुरु हुँदै छ ।कास्कीको हेमजालाई साहित्य, कला, संस्कृति र सिर्जनाको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यसहित आयोजित महोत्सव आइतबारसम्म चल्नेछ ।
पोखरा–२५, हेमजास्थित गौरीशंकर खेल मैदानमा महोत्सव हुनेछ । कार्यक्रमस्थल व्यवस्थापन, प्रचारप्रसार, अतिथि तथा स्रष्टाको सहभागिता सुनिश्चित गर्ने, विभिन्न साहित्यिक सत्रको तयारी र व्यवस्थापकीय काम सकिएको छ ।
महोत्सवमा पाँच हजारभन्दा बढी साहित्यप्रेमी, स्रष्टा, साहित्यकार, कलाकार, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकको अपेक्षा छ। साहित्यिक उत्सवमा मात्र सीमित नराखी हेमजाको मौलिक पहिचान, भाषा, संस्कृति, पर्यटन र सामाजिक एकतालाई प्रवद्र्धन गर्ने साझा अभियानका रूपमा महोत्सवलाई यसलाई अघि बढाइएको आयोजक हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनील गायकले बताए ।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र साहित्यिक चेतनाले सम्पन्न हेमजालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा साहित्यिक पहिचान दिलाउनु महोत्सवको प्रमुख उद्देश्य रहेको उनको भनाइ छ । महोत्सवमार्फत नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्ध विस्तार, स्थानीय प्रतिभाको पहिचान र सिर्जनशील वातावरण निर्माणलाई प्राथमिकता दिइएको छ ।
महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना, साहित्यिक विमर्श, स्रष्टा सम्मान तथा पुस्तक परिचर्चालगायतका कार्यक्रम समेटिएका छन् । महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै ‘कविता ः अनुभूति र अभिव्यक्ति’, ‘काव्यनगरी हेमजा ः साहित्यिक पर्यटनको सम्भावना’ तथा ‘सारङ्गीको सङ्गीत ः लोकसंस्कृतिको धुन’ लगायतका साहित्यिक तथा सांस्कृतिक सत्र सञ्चालन हुनेछन् ।
दोस्रो दिन माटोमा सिर्जना, काव्यनगरी दर्शन, कवितादेखि आख्यान र गैरआख्यानसम्मका विषयमा विमर्श, मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन तथा गजल वाचनका कार्यक्रम तय छन् ।





