काठमाडौं / लगातार दुई वर्ष नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पराजित भएर च्याम्पियन बन्नबाट वञ्चित सुदूरपश्चिम रोयल्सको पीडाको मापन सायदै कसैले गर्न सक्ला । यद्यपि सुदूरपश्चिम रोयल्ससमक्ष शनिबार हुने फाइनलमा उपाधि रक्षा अभियानमा रहेको लुम्बिनी लायन्सलाई हराए तेस्रो संस्करणको विजेता बनी सो पीडा भुलाउने अवसर छ । तेस्रो पटकमा भाग्यमानी बनेर च्याम्पियन भएमा सुदूरपश्चिमका लागि गत वर्ष लुम्बिनीसँग बेहोरेको हारको बदला पनि हुने छ ।
सुदूरपश्चिम रोयल्सका लागि च्याम्पियन बन्नु सहज भने हुने छैन । यी दुई टिमबिचको पछिल्ला तीन भिडन्त हेर्ने हो भने सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी लायन्स निकै भारी साबित भएको छ । हेड टु हेडमा लुम्बिनी लायन्सले तीन तथा सुदूरपश्चिमले दुई खेल जितेका छन् । पछिल्ला तीन खेलमा लुम्बिनी सुदूरपश्चिमविरुद्ध अपराजित छ । पछिल्ला तीन भिडन्तमा लुम्बिनीले सुदूरपश्चिमलाई एकपक्षीय खेलमा हराएको छ ।
गत संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई लुम्बिनी लायन्सभन्दा बढी भाउ दिइएको थियो । अहिले लुम्बिनीलाई फाइनल जित्ने दाबेदारका रूपमा लिइएको छ । हुन पनि लुम्बिनीले यस पटक उपाधि रक्षा अभियानमा च्याम्पियनकै रूपमा प्रदर्शन गरेको छ ।
लुम्बिनी लायन्सले शीर्ष स्थानसहित समूह चरण सकाएको हो । लुम्बिनीले सात खेलमा पाँच जित, एक बराबरी र एक हारसहित सर्वाधिक ११ अङ्क बनायो । यस संस्करणको पहिलो खेलमै लुम्बिनीले सुदूरपश्चिलाई नै सात विकेटले हराएको थियो, त्यो पनि ६१ बल बाँकी छँदै । सुदूरपश्चिमलाई ८७ रनमै अलआउट गरेपछि लुम्बिनीले नौ ओभरमै जित हासिल गरेको थियो । जुन गत संस्करणकै फाइनलको पुनरावृत्ति बनेको थियो ।
गत वर्ष लुम्बिनीले च्याम्पियन बन्न सुदूरपश्चिलाई ८५ रनमा सीमित पारेपछि ६६ बल बाँकी छँदै खेल सकाएको थियो । यस संस्करणको पहिलो क्वालिफायर पनि सुदूरपश्चिमले लुम्बिनीसामु घुँडा टेक्यो । फेरि पहिले ब्याटिङ गरेको सुदूरपश्चिले यस पटक पनि १०५ रनको सामान्य स्कोर तयार पारेको थियो । लुम्बिनीले पुनः २० बल बाँकी छँदै छ विकेटले फराकिलो जित प्राप्त गरेको थियो ।
त्यसैले दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्धको फाइनल कुन मानसिकतामा खेल्छ, त्यो शनिबार नै पत्ता लाग्ने छ तर लुम्बिनी लायन्सलाई यस पटक उपाधि रक्षा अभियानबाट रोक्न सक्छ भने त्यो टिम सुदूरपश्चिम रोयल्स नै हो भन्दा पनि फरक पर्दैन । किनभने यी दुई टिम नै यस पटक यस प्रतियोगिताका सर्वश्रेष्ठ टिम हुन् । लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सविरुद्धको हारले मात्र सुदूरपश्चिमले यस पटक समूह चरणको शीर्ष स्थान बनाउन सकेन ।
पछिल्ला दुई संस्करणमा सुदूरपश्चिमले शीर्ष स्थानमा रहेर समूह चरण मात्र टुङ्ग्याएन क्वालिफायर वन जितेर सिधै फाइनल खेलेको थियो । यसपालि सुदूरपश्चिम रोयल्स १० अङ्कसहित दोस्रो स्थानमा रह्यो । त्यसैले त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा फाइनल खेल्ने यी दुई टिमबिच यस पटकको उपाधि भिडन्त यात्रा खासै फरक देखिँदै छ ।
टी–२० जस्तो छोटो संरचनाको क्रिकेटमा एक जनाको विशेष प्रदर्शनले खेलको नतिजा छिनोफानो गर्ने हुन्छ तर यस पटक फाइनल यात्रामा ध्यान दिने हो भने दुवै टिम व्यक्ति विशेषको प्रदर्शनले भन्दा एकजुट खेलमा निर्भर रहेको देखिन्छ । दुवै टिममा म्याच विनरहरूको बाहुल्य छ तर दुवै टिमका घरेलु र विदेशी दुवै खेलाडीको प्रदर्शनमा स्थिरता देखिँदैन । लुम्बिनीको कुरा गर्ने हो भने उसले यस पटक गत वर्ष च्याम्पियन बनाउने खेलाडीमाथि नै विश्वास गरेर टिम बनाएको थियो ।
अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डार्सी तुरुपको एक्का साबित हुन सक्छ । ब्याट् चल्यो भने उहाँ एक्लैले फाइनल जिताउन सामथ्र्य राख्नुहुन्छ । श्रीलङ्का विकेटकिपर ब्याट्सम्यान निरोसन डिकेवेला र नामिबियाका तेज बलर रुवेन ट्रम्पलम्यानको लुम्बिनीका विशेष खेलाडी बनिसक्नुभएको छ । गत वर्ष च्याम्पियन बन्दा यी दुई खेलाडीको विशेष योगदान रहेको थियो । ट्रम्पलम्यान त प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको थियो । यी दुईले यसपालि पनि आफ्नो छवि गिर्न दिएका छैनन् ।
लुम्बिनीको शक्ति उसको बलिङ नै हो । ट्रम्पलम्यानलाई अर्का प्रारम्भिक बलर किशोर महतोका साथै घरेलु स्पिनरहरू शेर मल्ल र अभिशेष गौतमले उचित साथ दिइरहनुभएको छ । लुम्बिनीको ब्याटिङमा पनि गहिराइ छ । कप्तान रोहित पौडेल, आसिफ शेख, सन्दीप जोराज स्ता नेपालकै उत्कृष्ट ब्याट्सम्यान हुनुहुन्छ । यद्यपि तीन जनाले नाम अनुसार भने खेल्न सक्नुभएको छैन ।
सुदूरपश्चिमको टिमले दीपेन्द्र र न्युजिल्यान्ड स्कट कुग्लियाइनबाट फाइनल जिताउन निर्णायक योगदान दिलाउने आशा गरेको छ । विनोद भण्डारीले पछिल्ला दुई संस्करणमा जस्तो ब्याटिङ लय देखाउन सक्नुभएको छैन । प्रारम्भिक ब्याट्सम्यानद्वय विनोद र जर्ज मुन्सीको कमजोर लय सुदूरपश्चिमका लागि समस्या हुन सक्छ । यद्यपि दुई अर्धशतकसहित फाइनल खेल्ने गरेका दीपेन्द्रबाट अन्तिम खेलमा उस्तै प्रदर्शनको अपेक्षा गरिएको छ । दीपेन्द्रले आफ्नो नेतृत्व मात्र होइन, क्रिकेटका तिनै पक्ष ब्याटिङ, बलिङ र फिल्डिङमा उत्तिकै असरदार प्रदर्शन गर्नुहुन्छ । श्रीलङ्काका थारिन्दु रत्नायके पनि क्वालिफायर टमा सरह निर्णायक बन्न सक्छ ।
गत कात्तिक ९ गते सुरु भएको तेस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै अब च्याम्पियनको छिनोफानो हुन लागेको हो ।





