पर्वत/कुश्मा स्पोर्टस क्लब पर्वतको आयोजनामा स्वर्गीय गजेन्द्र स्मृति विद्यालय स्तरीय सेभेन ए साइड रनिङ सिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
यही पुस ४ र ५ गते कुश्मा नगरपालिका स्तरीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । कुश्मा बजारस्थित बडागाउँचौर खेल मैदानमा हुने प्रतियोगिताबाट विद्यालय स्तरका विद्यार्थीको प्रतिभालाई उजागर गर्दै खेलकुदप्रति आकर्षण बढाउने अपेक्षा गरिएको खेल संयोजक राजन गुरुङले बताए ।
प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले नगद १० हजारसहित मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, म्यान आफ दी म्याच, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट गोलरक्षकलाई ट्रफी प्रदान गरिनेछ ।
नाकआउट प्रणालीमा खेलाइने उक्त प्रतियोगितामा कम्तीमा १५ विद्यालयको सहभागिता रहने क्लब अध्यक्ष विक्रम श्रेष्ठले बताए ।





