बुधबार, मंसिर २ २०८३

बुधबार, मंसिर २ २०८३
  • २ मंसिर २०८३ , बुधबार
  • November 18 2026

व्यासमा आँखा उपचार सेवा

व्यासमा आँखा उपचार सेवा


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८३, बुधबार

पोखरा/तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेको नगरपालिकाको कार्यालयबाटै आँखा परीक्षण तथा उपचार सेवा थालेको छ । नेपाल नेत्रज्योति संघको हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा सेवा आरम्भ भएको हो ।

नगर प्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार नेत्र सहायक गोविन्द ढकाललाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेर सेवा आरम्भ गरे । उनले सामान्य आँखा उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम गर्न तथा सेवाग्राहीको समय र खर्च बचत गर्ने उद्देश्यले सेवा सुरु गरिएको बताए ।

आगामी दिनमा विशेषज्ञ चिकित्सकसहितको सेवा विस्तार गर्ने नगरपालिकाको लक्ष्य उनले सुनाए । नगर उपप्रमुख इन्दिरा दरैले नगरपालिकाको कार्यालयबाटै आँखा उपचार सेवा उपलब्ध हुँदा आँखासम्बन्धी समस्या भएका सेवाग्राहीलाई थप सुविधा पुग्ने जनाइन् ।

प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले नगरपालिकाको कार्यालयमा प्रशासनिक तथा अन्य सेवा लिन आउने सेवाग्राहीलाई आँखासम्बन्धी समस्या भएमा सोही स्थानबाट परीक्षण तथा उपचार गराउने सुविधा उपलब्ध भएको जनाए । नेपाल नेत्रज्योति संघका केन्द्रीय उपाध्यक्ष प्राडा दिलबहादुर क्षेत्रीले स्थानीय तहसँगको सहकार्यमा आँखा उपचार सेवा विस्तार हुनु सकारात्मक भएको उल्लेख गरे ।

आँखा अस्पताल पोखराका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र थापामगरले उपचार केन्द्रमा एक जना नेत्र सहायकको व्यवस्था गरिएको जानकारीदिए । केन्द्रबाट सामान्य आँखा परीक्षण तथा उपचारका साथै सामान्य शल्यक्रियाको व्यवस्था पनि मिलाइएको छ । आवश्यकताअनुसार विशेषज्ञ चिकित्सक आएर सेवा दिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->